
काठमाडौं । कामना सेवा विकास बैंकका कर्मचारीले गत आर्थिक वर्षको मुनाफाबाट डेढ महिनाको तलब बराबरको अग्रिम बोनस पाएका छन् ।
आर्थिक वर्ष सकिएसँगै बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कर्मचारीको लागि बैंकहरुले धमाधम अग्रिम बोनस पठाउन लागेका हुन् ।
सोही क्रममा कामना सेवा विकास बैंकले कर्मचारीहरुलाई साउन पहिलो साता डेढ महिनाको तलब बराबरको बोनस पठाएको हो ।
बैंकको नाफाको आधारमा कर्मचारीले थप बोनस पाउने अवस्था भएपनि बैंकले कर्मचारीले पाउने बोनसको केही हिस्सा अहिले वितरण गरेको र बाँकी बोनस साधारणसभाको लागि राष्ट्र बैंकले स्वीकृति दिएपछि पठाउने बैंक स्रोतले जनाएको छ ।
बैंकले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशिनत गरी बाह्य लेखापरिक्षण समेत सुरु गरिसकेको छ ।
दसैं अगाडि नै सेयर लगानीकर्तालाई लाभांश वितरण गर्ने तयारी सहित बैंकले बाह्य लेखापरिक्षण समेत सुरु गरिसकेको जनाएको छ ।
यता सांग्रिला डेभलपमेन्ट बैंकले भने कर्मचारीलाई बाह्य लेखापरीक्षणपछि वार्षिक साभारणसभा गर्ने समयमा मात्रै कर्मचारीलाई बोनस दिने भएको छ । बैंकले पनि गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दा नाफा उल्लेख्य रुपमा बढेको देखाएको छ । यसले कर्मचारीले पाउने बोनस पनि बढ्ने देखाउँछ ।
बोनस ऐनले नै नाफा कमाउने हरेक प्रतिष्ठानले नाफाबाट कर्मचारीलाई बोनस वितरण गर्नुपर्ने व्यवस्था गरेको छ । ‘मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको दश प्रतिशत बराबरको रकम कर्मचारीहरूलाई बोनस बापत छुट्याउनु पर्छ,’ बोनस ऐनको दफा ५ मा भनिएको छ ।
सोही व्यवस्थाका आधारमा बैंकहरुले पनि कर्मचारीले पाउने बोनसको केही हिस्सा आर्थिक वर्ष समाप्त भएसँगै र केही हिस्सा भने वार्षिक साधारणसभा गर्ने समयमा पठाउने गरेका छन् ।





प्रतिक्रिया