सागमा दैनिक भेटिन थाल्यो अत्यधिक विष: आयात हुने कूल विषादीमध्ये ८५ प्रतिशत तरकारी र सागमा



काठमाडौं । पछिल्लो समयमा रायो सागमा दैनिक रुपमै अत्यधिक परिमाणमा विषादी फेला पर्न थालेको छ ।

व्यवसायिक रुपमा अत्यधिक उत्पादन गराउने नाममा आफूखुशी मात्रामा विषादी प्रयोग गरिएका कारण रायो सागमा दैनिक रुपमै विषको मात्रा अत्यधिक पाउन थालिएको हो ।

काठमाडौंका किसान युवराज पराजुलीले बुधबार बिहान कालिमाटी तरकारी बजारमा बिक्री गर्न ल्याएको रायो सागमा ९९.२३ प्रतिशतको हाराहारीमा घातक अर्गेनोफस्फेटको मात्रा पाइएको थियो ।

यस्तै बुधबार नै भक्तपुरका किसान सुनिल होजाले बिक्रीको लागि ल्याएको जिरीको सागमा पनि ८८.८४ रोकावट प्रतिशतको हाराहारीमा अर्गेनोफस्फेट पाइएको थियो ।

सोहि दिन काठमाडौंको दूर्गा लुवानीले बिक्रीका लागि ल्याएको मार्फा सागमा ८३.७७ रोकावट प्रतिशतको हाराहारीमा अर्गेनोफस्फेट पाइएको थियो । यस्तै भक्तपुरको किसान शिवलाल ढकालले ल्याएको पाकुचा सागमा ५४.८६ रोकावट प्रतिशतको हाराहारीमा सोही विषादी पाइएको थियो ।

यसैगरी मंगलबार काठमाडौंको किसान श्रीराम आचार्यले ल्याएको रायो सागमा ९२.२४ र भक्तपुरको किसान कृष्णमाया तामाङले ल्याएको रायो सागमा ७५.५५ रोकावट प्रतिशतको मात्रामा अर्गेनोफस्फेट पाइएको थियो ।

पछिल्लो समयमा कुनै दिन छैन, जुन दिन रायो सागसहित अन्य साग र ताजा तरकारीमा तोकिएको मात्राभन्दा अत्यधिक मात्रामा घातक विषादी अर्गेनोफस्फेटको मात्रा नपाइयोस् ।

गत सोमबार भक्तपुरका किसान चेतनाथ सिलवालले कालीमाटीमा बिक्रीका लागि ल्याएको रायो सागमा ९९.३८, आइतबार काठमाडौंका किसान उत्तमप्रसाद रेग्मीले ल्याएको रायो सागमा ९६.१२ र भारतबाट आएको हरियो खुर्सानीमा ५७.२९, गत बुधबार भक्तपुरको किसान मिठुदेवी वास्तोलाले ल्याएको पालुङ्गो सागमा ७७.२९, पुस ११ गते चितवनका किसान मधुसुदन अधिकारीले ल्याएको ९५.३२, पुस ९ गते धादिङ्गका किसाले ल्याएको ब्रो काउलीमा ६७.५१ रोकावट प्रतिशतको हाराहारीमा अर्गेनोफस्फेटको मात्रा पाइएको छ ।

सरकारले रोकावट प्रतिशतको दर ३५ प्रतिशतभन्दा कम हुँदा उपभोग योग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइएमा केहि दिन राखेर मात्रै उपभोग गर्न मापदण्ड बनाएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी तथा साग उपभोगका लागि प्रतिवन्ध लगाएको छ ।

भक्तपुर, धादिङ, काभ्रे, चितवन, दोलखालगायतका जिल्लाबाट आपूर्ति हुने रायो सागसहित अन्य प्रकारका साग तथा हरियो तरकारीमा विषको मात्रा अत्यधिक पाउन थालिएको हो ।

विषादीयुक्त खाद्यान्न र तरकारी नियमित रुपमा सेवन गर्दा वा विषादीको नियमित असुरक्षित रुपमा सम्पर्कमा आउँदा दीर्घकालीन भयावह रोगहरू जस्तै क्यान्सर, नपुंसकता, रोगविरूद्धको प्रतिरोधी क्षमता घटाएर मृगौला र लिभर(कलेजो) बिग्रने, ट्युमर हुने र गर्भवस्था तुहिनेजस्ता समस्याहरू आउन सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनी विश्वभर ४० लाखभन्दा बढी व्यक्ति यस्ता विषादीका कारण प्रभावित हुँदै आएका छन् । त्यसमध्ये करिब ३ लाख जनाको विषादीका कारण मृत्यु हुने गरेको छ ।

नेपालमा वर्षमा साढे छ सय म्याट्रिक टनभन्दा विषादी अर्थात विष भित्रने गरेको तथ्याङ्क छ ।

त्यसरी भित्रिने विषादीहरू करिब १७० प्रकारका रहेका र तीमध्ये दुई तिहाइभन्दा बढी विषादी तरकारीमा प्रयोग हुने गरेका छन्।

बजारमा हरियो र ताजा तरकारी भनेर खरिद गरिने तरकारीमै सबैभन्दा बढी विषादी अर्थात विष प्रयोग हुने गरेको छ ।

विषादी विज्ञहरुका अनुसार बाहिरी मुलुकबाट आयात भएर आउने विषादीमध्ये ८५ प्रतिशत हरियो तरकारीमा प्रयोग हुने गर्छ । बाँकी करिब १५ प्रतिशत विभिन्न प्रकारका खाद्यान्न बालीमा प्रयोग हुन्छ ।


क्लिकमान्डु