कसले किन्यो माछापुच्छ्रे बैंकमा रहेको महतो परिवारको अर्ब बढीको सेयर ?
काठमाडौं । माछापुच्छ्रे बैंकको ठूला सेयरधनीमा कर्मचारी सञ्चय कोष भित्रिएको छ भने बैंकको ठूला सेयरधनीमध्येका सुरेन्द्र महतोले आफ्नो स्वामित्व ह्वात्तै घटाएका छन् ।
आर्थिक वर्ष २०७९/८० असार मसान्तमा बैंकमा महतोको ११.११ प्रतिशत स्वामित्व रहेको थियो । अहिले १.७१ प्रतिशतमात्रै बाँकी छ ।
बैंकमा महतोको १ अर्ब १३ करोड ९१ लाख ७ हजार ३०० रुपैयाँको सेयर स्वामित्व थियो । उनले ९४ करोड १ लाख ५६ हजार १०० रुपैयाँको सेयर बिक्री गरेका छन् । अब बैंकमा उनको स्वामित्वमा १९ करोड ८९ लाख ५१ हजार २०० रुपैयाँको छ । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार ३० रुपैयाँ छ ।
यस्तै बैंकमा एनएमबि सरल बचत फण्ड-ई पनि भित्रिएको छ भने राजन लाल श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको ५ करोड २१ लख ७० हजार रुपैयाँको सेयर बिक्री गरेर बाहिरिएका छन् ।
बैंकमा कर्मचारी सञ्चय कोषको ९.२४ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको ९.१४ प्रतिशत, प्रेम कुमारी केसीको ८.६८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
राम आशिश साहु सुडीको ४.२४ प्रतिशत, डा धर्मराज श्रेष्ठको २.०३ प्रतिशत, करण मोटर कम्पनीको १.५१ प्रतिशत, अहिलेका माछापुच्छ्रेका अध्यक्ष रोशन केसीको १.४८ प्रतिशत, किरण केसीको १.४८ प्रतिशत, प्रकाश केसीको १.२९ प्रतिशत, राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रालिको ०.९९ प्रतिशत, एसोसिएटेड अटोमोबाइल्स प्रालि ०.९३ प्रतिशत, प्रनेश्वर पोखरेलको ०.७२ प्रतिशत, पूर्ववनमन्त्री विरेन्द्र महतोको ०.६१ प्रतिशत र दिनेशलाल श्रेष्ठको सेयर स्वामित्व ०.५१ प्रतिशत रहेको छ ।
पिकेआर इन्भेष्टमेन्ट कम्पनी प्रालिको स्वामित्व ६.३५ प्रतिशतबाट घटेर ६.०७ प्रतिशत, कृष्ण गोपाल श्रेष्ठले २.०६ प्रतिशत रहेको स्वामित्व १.७८ प्रतिशतमा झारेका छन् ।
यस्तै व्यावसायिक घराना लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले १.१८ प्रतिशतबाट ०.९१ प्रतिशतमा झारेका छन् भने श्री हिमालयन इन्टर प्राइजेज प्रालिको ०.८० प्रतिशतबाट घटेर ०.७७ प्रतिशत रहेको छ । आजाद श्रेष्ठको ०.६४ प्रतिशतबाट घटाएर ०.५७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।