बुध्द एयरको इमर्जेन्सी ढोका खोलेका दुई यात्रुलाई १/१ लाख रुपैयाँ जरिवाना



काठमाडौं । हवाईजहाजको आपतकालीन ढोका खोलेका दुई यात्रुलाई जरिवाना तिराइएको छ ।

बुध्द एयरका दुई उडानका क्रममा ‘इमर्जेन्सी’ ढोका खोलेका यात्रुलाई जरिवाना गरिएको हो ।

विमानको आपतकालीन ढोका खोलेका दुई यात्रुलाई १/१ लाख रुपैयाँ जरिवाना तिराइएको थियो । यसरी यात्रुले ढोका खोलेर जरिवानावापत प्राप्त भएको नगद परोपकारी संस्थालाई सहयोग गरिएको बुध्द एयरलाइन्सले जनाएको छ ।

जनवरी १ (हिजो) मा पोखराबाट काठमाडौंतर्फ उड्न लाग्दा र अक्टोबर १० मा काठमाडौंबाट जनकपुरतर्फको उडानका क्रममा यात्रुले बुध्द एयरको विमानको आपतकालीन ढोका खोलेका थिए ।

पोखराबाट काठमाडौं आउँदै गरेको बुध्द एयरको विमानको आपतकालीन ढोका यात्रुले खोल्दा उडान करिब ३ घण्टा ढिलो भएको थियो ।

हिजो पोखराबाट काठमाडौं आउँदै गरेको बुध्द एयरको ६१८ जहाज उड्न तयार भएको अवस्थामा एक जना यात्रुले अनाहकमा जहाजको इमरजेन्सी ढोका खोलेका थिए ।

प्राविधिक टिमको परीक्षणपछि करिब ३ घण्टा ढिलो गरि साँझ ६:४० मा काठमाडौंका लागि उक्त जहाज उडेको बुध्द एयरले जनाएको छ ।

त्यस्तै अक्टोबर १० मा काठमाडौंबाट जनकपुरतर्फको उडानका क्रममा यात्रुले ढोका खोल्दा समस्या भएको थियो ।

सो दिन बिहान ६:०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो ।

जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले जहाजको इमर्जेन्सी ढोका खोलिदिएका थिए ।

उक्त घटनापछि पाइलटले जहाज पार्किङ–वेमै फर्काएका थिए । जहाजको प्राविधिक जाँचका लागि काठमाडौंबाट टेक्निकल टिम गई सम्पूर्ण चेकजाँचपछि दिउँसो १ बजे उक्त विमान जनकपुर अवतरण गरेको थियो । यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका निकै प्रभावित बनेको थियो ।

अनाहकमा इमरजेन्सी ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाइने गरिएको छ । यात्रुले अब उप्रान्त यस्तो कार्य नगर्ने शर्तमा १/१ लाख क्षतिपूर्ति तिराइएको थियो ।

आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् ।

आपतकालीन अवस्थामा बाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउने एयरलाइन्सले जनाएको छ ।

आपतकालीन ढोका खोल्ने यात्रुलाई यस्तो छ कानूनी कारबाहीको व्यवस्था

जहाजको आपतकालीन ढोका अनावश्यक रुपमा खोल्ने कार्यलाई गैरसैनिक हवाई उडान ऐन २०१५ ले अपराध मानेको छ । यो ऐनको दफा ९ (क)को (३)ले हवाई जहाजमा जडित पाटपूर्जा अनधिकृत रुपमा झिक्ने वा सञ्चालनमा हस्तक्षेप गर्न नहुने व्यवस्था छ । यो व्यवस्था विपरीत काम गरेको अवस्थामा वायुयान उडान सुरक्षा विरुद्धको अपराध मानिने र १५ देखि २० वर्ष जेल सजाय हुने व्यवस्था छ ।


क्लिकमान्डु