बिराटनगर विमानस्थलमा यात्रुले खोले बुध्द एयरको इमरजेन्सी ढोका



काठमाडौं । बिराटनगर विमानस्थलमा यात्रुले बुध्द एयरको इमरजेन्सी ढोका खोलिदिएका छन् । आज बिहान बिराटनगरबाट जनकपुर उडानमा रहेको बुध्द एयरको इमरजेन्सी ढोका यात्रुले खोलिदिएका हुन् ।

बिहीबार जनकपुर विमानस्थलको अनुकुल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो । मौसम खुलेपछि बिराटनगरबाट जनकरपुर उडानमा रहेका बेला यस्तो घटना भएको हो ।

विगत केही सातायता यात्रुले हवाईजहाजका इमरजेन्सी डोर (आपतकालिन ढोका) खोलेका घटना सार्वजनिक भएका छन् । २ अक्टुबरका दिन विराटनगरबाट काठमाडौं र ७ अक्टुबरका दिनमा नेपालगञ्जबाट काठमाडौं उडानमा रहेको बुध्द एयरको इमरजेन्सी ढोका यात्रुले खोलेका थिए ।

यसले उडान प्रक्रियालाई नै अवरुद्ध गरि उडान तालिकालाई थप प्रभावित बनाएको कम्पनीले जनाएको छ ।

आपतकालिन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । आपतकालिन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन । यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ । बुध्द एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाएको छ ।

हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरि जन्मकैदसम्म सजाय हुने प्रावधान छ । उडान सुरक्षामा अनाहक खलल पुर्‍याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन् ।


क्लिकमान्डु