रविना रिमालको अनुमतिबिना ग्यालेक्सीमा चेक काट्न सक्दैन थिए रवि, को हुन् उनी ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिबी राई र उनकी विश्वास पात्र रविना रिमालको अनुमतिबिना चेक काट्न असम्भव भएको बताएका छन् ।

लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको आरोपमा आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको आरोपपत्रमा लामिछानेले रविना रिमालको अनुमतिबिना चेक काट्न असम्भव भएको बयान दिएको उल्लेख छ ।

रविना रिमाल जिबी ग्रुप अफ कम्पनिजका कर्मचारी र लेखापाल हुन् । लामिछानेले बयानमा गोर्खा मिडिया नेटवर्कमा कुनै पनि भुक्तानी दिने निर्णय गर्दा रिमालको अनुमति आवश्यक रहेको जनाएका हुन् ।

काठमाडौं महानगरपालिका २९ बस्ने ३४ वर्षीय रिमाल स्वर्णलक्ष्मी सहकारीको वर्तमान सञ्चालकसमेत हुन् ।

लामिछानेले आफू कम्पनीका चेकहरूमा हस्ताक्षर गर्ने मात्र भएको उल्लेख गर्दै आफूले कम्पनीमा लगानी नगरेको र कुनै वित्तीय जिम्मेवारी नलिएको दाबी गरेका छन् ।

उनले आफू कम्पनीको सहजताका लागिमात्र हस्ताक्षरकर्ता भएको उल्लेख गरेका छन् ।

‘भुक्तानी दिने रकमको विवरण यसका लगानीकर्ता जीबी राई संसारको जुन कुनामा भए पनि जिवी ग्रुप अफ कम्पनिजका कर्मचारी एवै जीबीका विश्वासपात्र रविना रिमालको समन्वय र अनुमति वना सम्भव थिएन । सम्पूर्ण वित्तीय कारोबार जीबी राई स्वयंले आफ्नो पूर्ण नियन्त्रण र निगरानीमा राखि आफ्नो विश्वास पात्रबाट एकिन गरे पश्चातमात्र चेकहरु जारी हुने हुनाले मेरो भूमिका केवल सहजताका लागि हस्ताक्षरकर्ताको रुपमा मात्र थियो,’ लामिछानेले बयानमा भनेका छन् ।

लामिछानेले यस अघि गोर्खा मिडियामा १५ प्रतिशत सेयर खरिद गरेपछि कम्पनीको प्रबन्ध निर्देशक र सञ्चालकको रूपमा काम गरेका थिए ।

स्वर्णलक्ष्मीका लागि १६ वटा चेकमार्फत ९० लाख १६ हजार ६६० रुपैयाँ भुक्तानी गरिएको र यो रकम अपचलन भएको आरोपपत्रमा उल्लेख छ । सरकारी वकिलले रवि, जिबी र अन्य ३९ जनाविरुद्ध मुद्दा दायर गर्दै ५ करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँको बिगो माग गरेका छन् ।


क्लिकमान्डु