काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले संसारका अधिकांश वायुसेवाले लिने नाफाको प्रतिशतभन्दा नेपाली वायुसेवाले तिरेको ब्याजदर बढी भएको भन्दै घटाइदिन आग्रह गरेको छ । वायुसेवा निगमका कार्याकारी अध्यक्ष युवराज अधिकारीले जहाज किन्न लिएको ब्याजदर संसारकै भन्दा नेपालमा महंगो भएको गुनासो गरेका छन् ।
उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषबाट १० प्रतिशतको व्याजदरमा ऋण लिएर जहाज किनेको र यो संसारमै महंगो भएको भन्दै घटाइदिन आग्रह गरेका हुन् । उनले भने ‘ निगमलाई अत्यन्तै महँगो भारको रुपमा रहेको १० प्रतिशत भन्दा बढीको व्याजदर घटाएर निगमलाई सहजता प्रदान गर्नुपर्छ ।’
उनले भने ‘संसारमै कुनै पनि वायुसेवाले १० प्रतिशत नाफा गर्न नसकेको परिप्रेक्षमा के कति कारणले यति महँगो ब्याजदरमा ऋण लिएर जहाजहरु किनियो ? यो गंभिर छलफलको विषय हुनुपर्छ र सहुलियत ऋण लिएर महँगो ब्याजदरलाई घटाउर्न अत्यन्तै महत्वपूर्ण हुन्छ ।
’निगमले सहुलिययत ऋण लिने सम्बन्धमा वर्तमान व्यवस्थापनको विशेष पहलमा अन्तर्राष्ट्रिय प्रस्तावपत्र आह्वान गरी प्राप्त भएका प्रस्तावहरुको मूल्याङ्कनको प्रक्रियामा रहेको समेत अधिकारीले जानकारी दिए । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ब्याजदर घटाउन, ऋणको किस्ता संख्या बढाउन तथा कोभिडको समयको ब्याज माथिको ब्याज र पेनाल्टी तथा हर्जना हटाइदिन पत्राचार गरिएकोमा हालसम्म टुंगो नलगेको अधिकारीले बताए ।
उनले भने ‘चिनियाँ जहाजहरुको खरिद र ग्राउण्डेड गरिएका विषयहरुमा गम्भिर रुपमा छानविन हुनुपर्छ । ग्राउण्डेड यि जहाजहरुको व्यवस्थापनमा नेपाल सरकारको निर्णय र सहयोगको अपेक्षा गरिएको छ । निगमलाई निजीकरण र कम्पनीकरण मात्र निगम सुधार गर्ने उपाय नभएकोले यस अघि निजीकरण गरेका निकायको समीक्षा गर्न पनि उनले सरकारसँग आग्रह गरे ।
निगमको विभिन्न १३ जिल्लाको २३ वटा स्थानहरुमा जग्गा जमिन तथा भवन रहेको र सोको यथोचित संरक्षण गरि थप आयआर्जन हुन सक्ने गरि उपयोग गरिने तथा सिनामंगलमा रहेको जग्गामा बहुतले एनसी कर्पोरेट हाउस निर्माण तथा सुविधा सम्पन्न ह्यांगर निर्माणको योजना समेत रहेको जानकारी अधिकारील दिए ।
उनले राष्ट्रिय ध्वजावाहक भएकोले अन्य राष्ट्रमा त्यहाँका राष्ट्रिय ध्वजावाहकलाई प्रदान गरिने विशेष सुविधाहरु जस्तै निगमलाई पनि नेपाल सरकारको तर्फबाट विशेष सुविधाहरु दिलाउन, विमान चालक तथा अन्य कर्मचारीहरुको सेवा सुविधा वृद्धि गर्न, मौजुदा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा निगम जस्तो विशेष प्रकृतिको हवाई व्यवसायको लागि छुट्टै प्रावधान राखी आवश्यक संशोधन गर्नुपर्ने कार्यमा सहजीकरण गरिदिन सरकारसँग आग्रह गरे ।
नेपाल वायुसेवा निगम ऐन, २०१९ को प्रावधान अनुसार राष्ट्रिय ध्वजावाहकलाई सुदृढ र सवल बनाउन सहयोगको लागि तालुक निकाय पर्यटन मन्त्रालयले सहजीकरण गरिदने आवश्यक समन्वयात्मक भूमिका खेलिदिन पनि उनले अनुरोध गरे ।
निगमको खरिद विनियमावली एयरलाइन्सको कार्य प्रकृति अनुरुप हुनुपर्ने भनी २०७६ देखि माग गरि आएको र वर्तमान व्यवस्थापनले नयाँ खरिद विनियमावली तयार गरी स्वीकृतीको लागि तालुक मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत पेश गरिसकेकोले यस उपर यथाशिघ्र सकारात्मक निर्णय गरेर जहाज खरिद गर्न सजीकरण गर्न पनि अधिकारीले आग्रह गरे ।
प्रतिक्रिया