६ वटा त्रुटी सच्याउने शर्तमा निर्माण कम्पनीले थाल्यो ग्वार्को फ्लाइओभर निर्माणको काम


काठमाडौं । पछिल्लो एक महिनादेखि निर्माण कार्य अवरुद्ध भएको ग्वार्को फ्लाइओभरको निर्माण कार्य फेरि सुरु भएको छ ।

निर्माणको क्रममा भएका त्रुटीलाई सच्याएर पुनः निर्माण गर्ने प्रतिवद्धतासहित निर्माण कम्पनी आशिष समानान्तर रेलिगेर जेभीले मंगलबार साँझदेखि निर्माण कार्य सुरु गरेको हो ।

सडक विभागका अनुसार मंगलबार भएको छलफलको क्रममा ठेक्का पाएको निर्माण कम्पनीले उक्त फ्लाइओभरमा त्रुटी भएका ६ वटा विषयमा सुधार गरेर निर्माण गर्ने सहमति जनाएपछि रोकिएको काम पुनः सुचारु भएको हो ।

सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्र चाकुपाटका सिनियर डिभिजनल इन्जिनियर प्रदिप भण्डारीका अनुसार निर्माणको क्रममा भएको त्रुटीहरु सच्याउने विषयमा निर्माणकर्ता कम्पनीले प्रतिवद्धता जनाएपछि काम सुरु भएको हो।

केन्द्रले निर्माणको क्रममा ६ प्रकारका गम्भीर त्रुटी भएको औंल्याउँदै ति त्रुटीहरु सुधार गरी निर्माण कार्य अघि बढाउन निर्माणकर्ता कम्पनीलाई पत्राचार गरेको थियो । यो पत्राचारपछि निर्माणकर्ता कम्पनीले पुस १८ गतेदेखि काम ठप्प पारेको थियो।

केन्द्रका अनुसार ‘फेलियर अफ एमएसई वाल’ को विषयमा करेक्सन गरी पुनः निर्माण गर्नुपर्ने भएकाले हिजो साँझदेखि त्यो विषयमा काम सुरु भएको छ ।

सातदोबाटोतर्फबाट कोटेश्वर आउने क्रममा बायाँतर्फको मंगलबारतर्फ र्‍याम्प वालमा गम्भीर त्रुटी पाइएको छ । यो र्‍याम्प पुनः निर्माण गर्नुपर्ने भन्दै विभागले ठेक्केदार कम्पनीलाई पत्राचार गरेको थियो ।

हिजोदेखि निर्माणकर्ता कम्पनीले जगबाटै उक्त र्‍याम्प मुनिको माटो झिकेर पुनः मापदण्डअनुसार निर्माण कार्य सुरु गरेको छ ।

उक्त फ्लाइओभर निर्माण गर्न सडक विभागले आशिष समानान्तर रेलिगेर जेभीसँग २०७८ माघ २७ गते ईन्जिनियरिङ खरिद निर्माण (ईपीसी) प्रणाली अनुसार सम्झौता गरेको थियो । यसको लागत खर्च १७ करोड ६७ लाख रुपैयाँ थियो ।

यो सम्झौताअनुसार २०७८ फागुन १२ गतेदेखि निर्माण कार्य सुरु गरी २०८० फागुन १२ गते फ्लाइओभरको निर्माण सम्पन्न गर्नुपर्ने अवधी तोकिएको थियो । तोकिएको यो अवधीमा निर्माण सम्पन्न हुन नसकेपछि गत् पुसको ९ गतेसम्म म्याद थप गरिएको थियो ।

यो अवधीमा समेत निर्माण सम्पन्न नभएपछि ०.०५ प्रतिशतको दरले दैनिक करिब ८५ हजार रुपैयाँ हर्जाना जरिवाना लाग्ने गरी पुस १० बाट पुनः म्याद थप गरिएको छ । यो म्याद थपअनुसार आगामी चैत मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने अवधी तोकिएको छ ।