निजी क्षेत्रको मनोबल कमजोर हुँदा सबै कुरा टुट्छ: अर्थमन्त्री



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको मुख्य चुनौती निजी क्षेत्रको आत्मबल बढाउनु रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा अर्थमन्त्री पौडेलले विश्वास जागृत गर्न नसकेसम्म देश अघि बढ्न नसक्ने बताए ।

अहिलेको आफ्नो चुनौती निराशा चिर्ने र आशा जगाउने रहेको उनले बताए ।

निजी क्षेत्रको मनोबल टुटेको खण्डमा सबै कुरा टुट्ने भन्दै बजारको माग, उत्पादन, क्रय शक्तिको वृद्धि गर्न ध्यान दिने बताए । अहिलेका चुनौतीका समस्याहरुको सामना गर्न आफू लागि परेको पनि बताए ।

‘अहिलेको मुख्य समस्या भनेकै जबसम्म हामीले विश्वास जागृत गर्दैनौँ, त्यो आत्मविश्वास दिँदैनौँ, देश कतै पनि अघि बढ्नै सक्दैन,’ उनले भने, ‘ अहिलेको समस्या भनेको निराशा चिर्ने, आशा जगाउने हो । के गर्दा हुन्छ, तेल हाल्दा हुन्छ की, घ्यु हाल्दा, दियो बाल्दा, मैनबत्ती बाल्दा हुन्छ की, टर्च लाइट बाल्दा हुन्छ निराशा चिरेर आशा जगाउनुपर्छ ।’

पछिल्लो समय कालोसूचीमा पर्नेको संख्या बढिरहेको उनले बताए ।

‘कालोसूची बढेको छ, लिलामी बढेको छ । रोजगारी घटेको छ । समस्याको चाङ छ । उत्साही भएर जानुस्,’ उनले भने, ‘यो चुनौती कसरी सामना गर्ने ? यसका विभिन्न कारण छ । यसको आन्तरिक र वाह्य कारण छ । आन्तरिकमा राजनीतिक कारण पनि छ । मुख्य रुपमा देशमा स्थिरता र स्थायित्व भएन भने त्यसको बहुआयामिक प्रभाव हुन्छ ।’

अर्थमन्त्री पौडेलसँगको भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिलेको अर्थतन्त्र तत्काल चलायमान बनाउन वर्किङ क्यापिटल गाइडलाइन र असेट क्लासिफिकेशन गाइडलाइन इमिडेट्ली तत्काल खारेज गर्नुपर्ने बताए । उनले यि दुई गाइडलाइन खारेज नगरी अर्थतन्त्र चलायमान बनाउन नसकिने दाबी गरे ।

वर्किङ क्यापिटल गाइडलाइनले इण्डस्ट्री, निर्माण क्षेत्रलाई र थोक खुद्रा व्यापारलाई असर गरिरहेको उनले बताए ।

भारतमा लागू भएर असफल भएको नीति नेपालमा लागू गर्दा सफल नभइने उनको भनाइ छ ।

अध्यक्ष अग्रवालले राष्ट्र बैंकको बेस रेटलाई खारेज गरेर एमसिएलआर वा इभीएलआरमा जानुपर्ने बताउनु भयो । स्वतन्त्र मोनिट्री पोलिसी कमिटी बनाउन माग गरे ।


क्लिकमान्डु