चन्द्र ढकालले २ अर्ब बढीको लगानीमा खोले कागज उद्योग, मागको ३०% धान्ने

8.6k
Shares

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाको गौशाला-१ इँटाटार गाउँमा दुई अर्ब बढीको लगानीमा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा ल्याएका हुन् ।

बैंक वित्तीय संस्था, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि लगायतका क्षेत्रमा संलग्न हुँदै आएका ढकालले ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ को नाममा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा ल्याएका हुन् ।

नेपालमा कागज उत्पादन हुने उद्योग नभएकाले आयात गर्नुपर्ने अवस्थालाई हटाउन र स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले कागज उद्योग स्थापना गरेको अध्यक्ष ढकाल बताउँछन् । २०७८ मा शिलान्यास भएको उद्योगले निर्माण सकिएसँगै केही समयअघि उत्पादन सुरु गरेको छ ।

उत्पादन सुरु भए पनि उद्योगको औपचारिक उद्घाटन भने यसै साता हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगको औपचारिक उद्घाटन गर्ने तय भएको छ ।

स्वदेशी कच्चापदार्थ र जनशक्तिको प्रयोग गरी उच्च गुणस्तरीय कागज उत्पादन गर्ने लक्ष्य लिएको ढकालले बताए । उद्योगले प्रत्यक्ष रूपमा ५०० जनालाई रोजगारी दिनेछ ।

नेपालमा वार्षिक झण्डै डेढ लाख मेट्रिक टन कागज खपत हुने भए पनि देशमा कागज उद्योगको अभावका कारण सम्पूर्ण कागज आयात गर्नुपर्ने अवस्था छ ।

विद्यालय तथा कलेजमा प्रयोग हुने कापी, फोटोकपी पेपर, ट्वाइलेट पेपर, टिस्यु पेपर जस्ता उत्पादनहरूका लागि नेपाल पूर्ण रूपमा आयातमा निर्भर छ । नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा आएपछि कुल मागको करिब ३० प्रतिशतभन्दा बढी कागज स्वदेशमै उत्पादन हुने कम्पनीको भनाइ छ ।

भन्सार विभागकाको तथ्यांकअनुसार गत आर्थिक वर्ष नेपालले ८ अर्ब १४ करोड रुपैयाँ बराबरको कागज आयात गरेको थियो । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको कागज आयात भएको तथ्यांक छ ।

हाल उद्योगको दैनिक कागज उत्पादन क्षमता ७५ मेट्रिक टन रहेको छ । उद्योगले केही समयभित्रै क्षमता वृद्धि गर्दै दैनिक १५० मेट्रिक टन कागज उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ ।

पेपर मिलमा १२ किमी टाढा रहेको पूर्व-पश्चिम राजमार्गस्थित विद्युत् स्टेशनबाट बिजुली ल्याइएको छ ।