ग्यासको मूल्य बढेको होइन: निर्देशक भट्ट

189
Shares

काठमाडौं । सरकार र आन्दोलनरत ग्यास उद्योगीबीच पाँच बुँदे सहमति भएसँगै ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा बढेको समाचारहरु सार्वजनिक भएका छन् । के समाचारहरु र सामाजिक सञ्जालमा चर्चा भए जस्तो ग्यासको मूल्य वृद्धि भएको हो त ?

मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट र नेपाल एलपि ग्यास उद्योग संघका पदाधिकारीबीच विभिन्न पाँच बुँदे सम्झौता भयो ।

ओभरहेड र नाफा रकम वृद्धिलगायत १९ बुँदे माग राखेर नेपाल एलपी ग्यास उद्योग संघले आइतबारदेखि भारतबाट ग्यास ल्याउने प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) खरिद बन्द गरेर आन्दोलन गर्दै आएको थियो।

माघ २४ गते ग्यास उद्योगी संघले पेश गरेको १९ बुँदे ज्ञापन पत्रका सम्बन्धमा मन्त्रालयमा बसेको बैठकमा मंगलबार सहमति जुटेको हो ।

फागुन १८ गते बसेको निगम सञ्चालक समितिको बैठकले ग्यास उद्योगहरूको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च (ओभरहेड खर्च) रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिण्डर १२ .७५ रुपैयाँले वृद्धि गरेको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले उद्योगीको ओभरहेड खर्च शीर्षकअन्तर्गत साविकको खर्चमा प्रतिसिलिण्डर १२ रुपैयाँ ७५ पैसा वृद्धि भएको रकमको भार उपभोक्ताको टाउकोमा नपर्ने जानकारी दिए । भटट्ले उक्त खर्च निगमले आफ्नो संस्थाबाट व्यहोर्ने स्पष्ट पारे ।

‘बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च (ओभरहेड खर्च) शीर्षकमा समायोजन गरी साविकको खर्चमा वृद्धि भएको प्रतिसिलिण्डर १२.७५ रुपैयाँको भार उपभोक्ताको टाउकोमा पर्दैन,’ निगमका कार्यकारी निर्देशक भट्टले भने,’वृद्धि भएको यो खर्चको भार निगमले आन्तरिक स्रोतबाट व्यहोर्छ । यो खर्चका कारण उपभोक्तालाई कुनै पनि प्रकारको महँगीको भार थपिँदैन ।’

निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट

सामाजिक सञ्जालमा पनि भट्टले प्रतिसिलिण्डर १२.७५ रुपैयाँको भार उपभोक्तालाई नपर्ने स्पष्ट पारेका छन् ।

सहमतिको पाँचौ बुँदामा भनिएको छ, ‘ग्यास उद्योग संघले राखेका मागहरू माथि उल्लेख भएबमोजिम सम्बोधन गर्ने सहमति भएकोले नेपाल एलपि ग्यास उद्योग संघले हाल जारी राखेको विरोधको सम्पूर्ण कार्यक्रमहरु आजबाटै फिर्ता लिने र आजबाटै सबै ग्यास उद्योगीहरूले निगमबाट नियमित रुपमा पीडीओ लिई एलपि ग्यासको आपूर्ति सहज बनाउने ।’

गत आइतबारदेखि मंगलबारसम्म ग्यास उद्योगीले निगमबाट ग्यास आयात गर्न पीडीओ खरिद गरेनन । यो सहमतिपछि बुधबारदेखि उद्योगीहरुले नियमित रुपमा पीडीओ खरिद गरी भारतबाट ग्यास आयात गर्ने संघका पूर्व अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।