
सिताराम कट्टेल अर्थात् ‘धुर्मुस’ । चर्चित हास्य कलाकार । २०६२/६२ देखि अधिकांश नेपालीले चिन्ने व्यक्ति हुन् उनी ।
हास्य व्यंग्य टेली श्रृंखला ‘मेरी बास्सै’ मा विभिन्न अवतारमा देखिने धुर्मुस एक जमानामा यति चर्चित थिए कि राजनीतिक दल खोलेर चुनाव उठेका भए उनको पार्टी रास्वपाभन्दा निकै ठूलो हुने सहजै अनुमान गर्न सकिन्छ ।
२०६३ सालदेखि चर्चामा आएको मेरी बास्सैको धुर्मुसले खेल्न छाडेपछि लोकप्रियता लगातार खुम्चिँदै गएको छ । धुर्मुसले नेपाली हास्य व्यंग्य टेली श्रृंखलालाई उचाइमा मात्र पुर्याएनन् आफू पनि चर्चाको शिखरमा पुग्न सफल भए ।
चर्चाको शिखरबाट हेर्दा धुर्मुसले आफू निकै माथि तर समाज भने निकै तल रहेको देखे । र उनमा समाज परिवर्तनका लागि ‘फ्रिलान्थोपिस्ट’ अर्थात् समाजसेवी बन्ने भूत सवार भयो ।
त्यही भूतले अहिले धुर्मसलाई दिनरात तर्साइरहेको छ ।

मेरी बास्सैको रिल लाइफबाट जीवनसाथी बनेकी कुञ्जना घिमिरे अर्थात् ‘सुन्तली’ समेतको संलग्नतामा एक यात्रा सुरु भयो ‘धुर्मुस-सुन्तली फाउन्डेसन ।’
फाउन्डेसनले वीर अस्पतालको शौचालय सफा गर्ने देखि २०७२ सालको भूकम्पपीडितलाई घर बनाइदिनेसम्म काम गर्यो ।
त्यतिमात्रै होइन, मुसहर बस्ती पुगेर मुसहरहरुको साहरा पनि बने धुर्मुस-सुन्तली । त्यसबेला धुर्मुस-सुन्तली देशकै सबैभन्दा बढी लोकप्रिय व्यक्ति थिए ।
धुर्मसलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै सामाजिक सञ्जालहरुमा सयौं पोष्टमा हजारौं सकारात्मक कमेन्टहरु आउँथे ।
नेपाली क्रिकेट लोकप्रिय बन्न थालेको थियो । यही बेला धुर्मुसको मनमा एउटा आइडिया आयो कि देशमै अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने । नेपाली क्रिकेटले चर्चा कमाएको समयमा क्रिकेट समर्थकहरुको आशाका केन्द्रविन्दु बने धुर्मुस ।
समर्थकहरुलाई लाग्यो सिन्धुपाल्चोका भूकम्पपीडितलाई छानो दिलाएका, मुसहर बस्तिमा मुस्कान ल्याएका धुर्मुस अब क्रिकेट प्रेमीलाई पनि मैदान दिलाउँछन् ।

नेपाली क्रिकेटले २०७४ सालमा एकदिवसीय मान्यता पाएको थियो । उक्त मान्यताबाट नेपाली क्रिकेटलाई विश्वकप खेल्ने वातावरण पनि मिल्यो । त्यसैले समर्थकको माग रंगशाला बन्यो ।
धुर्मसका लागि समर्थकहरु जस्तोसुकै समर्थन जुटाउन तयार थिए । सामाजिक सञ्जालमा धुर्मुसलाई रंगशाला निर्माणका लागि सहयोग गर्छौं भन्नेहरुले ५/६ अर्ब रुपैयाँ सहयोग गर्ने आश्वासन दिए ।
सामाजिक सञ्जालमा समर्थकले देखाएको अगाध प्रेमका कारण आफूलाई चिनाउने कलाकारिता पेशामा ब्रेक लगाउँदै रंगशाला बनाउन लागे, उनी ।
नेपालभर रंगशाला निर्माणका लागि उनले ठाँउ खोजे । अन्तिममा उनका लागि २०७५ सालमा एक गौरवको योजना तयार भयो। चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ।
भनिन्छ नि ‘मानिस महत्वकांक्षी बन्नु, महान बन्ने हेतुले अति महत्वकांक्षी कहिले नबन्नू’ । धुर्मुस यसैमा अल्झिए । फेसबुकमा आएको समर्थनलाई साथमा राख्दै ३ अर्ब रुपैयाँ बढीको योजना बन्यो ।
यसअघि दुई वटा सामाजिक कार्यमा सफल भएका धुर्मुसलाई रंगशाला निर्माणमा हात नहाल्न भनेर सम्झाउन सक्ने मान्छे पनि त थिएन । होउन् पनि कसरी ? उनको लोकप्रियता त्यो समयमा यति थियो कि लाग्छ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख लागि निर्वाचन हुने हो भने जित्नेसम्मको सम्भावना थियो ।
धुर्मुसले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा २०७५ माघ १६ गते एक कार्यक्रमबीच भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग रंगशाला निर्माणका लागि हस्ताक्षर गरे ।
चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको शान्ति चोकमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण हुने योजना बन्यो ।
रंगशाला निर्माणका लागि धुर्मुस-सुन्तली फाउन्डेसनले घोषणा गरेको मितिमा नै धेरैले सहयोग गर्ने चासो देखाए । कतिले ऋणका लागि आफूहरु सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । यो सबै भ्रम सावित भयो ।
धुर्मुसले देश विदेशबाट सहयोग रकम संकलन गर्न थाले । केही रकम उठ्यो पनि । रंगशाला निर्माणको कार्य चलिरहेको समयमा नै कोरना महामारी सुरु भयो । कोरोनाको समयमा धेरै रकम संकलन पनि हुन सकेन र रंगशालको निर्माण कार्य पनि कमजोर बन्यो ।

लकडाउन हटेपछि सहज वातावरण बन्दै गयो । विश्वमा कोरना महामारीको प्रभाव कम हुँदै गयो । तर त्यसपछि संसारभरको अर्थतन्त्र प्रभावित भयो । त्यसको प्रत्यक्ष असर रंगशालामा पर्यो ।
रंगशाला निर्माणका लागि रकम उठ्न छोड्यो । धुर्मुस-सुन्तली फाउन्डेसनले सहयोग रकम नउठे पनि बिभिन्न बैंक तथा सहकारीबाट ऋण लिएर काम चलाई राखे, ऋण थपिँदै गयो ।

धुर्मुसलाई लाग्यो आर्थिक सहयोग निरन्तर पाउनेछु । तर, सोच गलत सावित भयो । ऋण लिने समयलाई सम्झिँदै धुर्मुस भन्छन्, ‘धेरैले सहयोग गर्छु भनेको रेकर्ड अझै बाँकी छ । सहयोग आउने आशाले फेरि सम्झेर सहयोग माग्न जान्छु । तर कुनै पनि सहयोग जुट्दैन । धेरैले सहयोगमा दिएको चेक साट्न जाँदा पैसा थिएन । सहयोगको रकमलाई बाउन्स गर्न पनि मिलेन ।’
रंगशालाको आकार बढ्दै थियो । सहयोग आकार खुम्चिँदै गयो । धुर्मुसलाई लाग्यो अब काम बन्द गर्नु पर्छ । ३ अर्ब ५५ करोड रुपैयाँ लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिँदा धुर्मुसले ६० करोड रुपैयाँ खर्च गर्दै काम ठप्प बनाए । जसमा ऋण १८ करोड रुपैयाँ भएको र ३८ करोड रुपैयाँ खर्च भएको अडिट रिपोर्ट अहिले धुर्मुससँग छ ।
धुर्मुसलाई लाग्दैछ ‘ठग’को ट्याग !
धुर्मुस सबै समर्थकका लागि एक टेली श्रृंखलामा काम गरेर आएको एउटा पात्र मात्र थिएनन् । उनीसँग समर्थकको प्रेभ र भावना जोडिएको थियो ।
घरमा एक छाक नखाएर पनि धुर्मुसले निर्माण गर्न लागेको रंगशालामा धेरैले सहयोग जुटाएका थिए । कतिले आफ्नो जन्मदिनमा रंगशाला निर्माण अभियानको रुपमा सहयोग गरे, त कतिले आफ्नो परिवार र आफन्तको मृत्युको सोकमा सम्झाना स्वरुप रंगशालामा सहयोग गरे ।
त्यतिमात्र होइन वृद्ध अवस्थाका लागि भन्दै सरकारले दिने गरेको वृद्ध भत्ताको पैसा पनि धेरैले धुर्मुसलाई बुझाएका थिए । उनीहरु कोहिले क्रिकेटका लागि सहयोग गरिरहेका थिए भने केहीले धुर्मुसले गर्न लागेको कामका लागि या धुर्मुसका लागि । जेसुकै होस् उनलाई सहयोग आएको थियो । जब धुर्मुसले रंगशाला निर्माण गर्न सक्दिन भन्दै घोषणा गरे त्यसपछि सबै सहयोगी हातहरु डगमगायो । उनीहरुले धुर्मुसका लागि गरेको अथक सहयोग र विश्वास एकै शब्दमा तोडियो ।
उसो त धुर्मुसले रंगशाला निर्माण कार्य रोक्नुअघि सबैलाई सहयोगका लागि अपिल नगरेका भने होइनन् । जतिले सहयोग गरेका थिए त्यो सहयोग नै उनका सहयोगी दाताहरुले गर्ने अन्तिम सहयोग थियो ।
जति जतिले सहयोग गरे सबै रकम धुर्मुसले समग्रमा ३८ करोड रुपैयाँको हिसाब निकाले । यो हिसाबमा धुर्मुसले सानो सहयोग र व्यक्तिगत हिसाबमा भएको सहयोगलाई देखाएका थिएनन् ।
‘सबैको हिसाबलाई समग्रमा निकालेको छु । अडिट रिपोर्ट तयार पार्दा एक–एक रकमको हिसाब छ । सबैले हेर्न चाहे म दिनेछु,’ धुर्मुसले क्लिकमान्डुसँग भने ।
सहयोग गरेकाहरुले लिएको रसिद र विदेशमा रहेकाले गरेको सहयोगको स्किृनसट उनीसँग थुपारिएपछि धुर्मुसले हिसाब बुझाउन सक्लान् या नसक्लान् उनकै हातमा छ । यदि सबैलाई उनले हिसाब नै दिने हो भने उनमा १ रुपैयाँ देखि १ लाखसम्म पाएको सहयोग देखाउने हिम्मत राख्नुपर्छ ।
तर, धुर्मुस अहिले त्यो गर्ने अवस्थामा छैनन्, न त उनलाई सहयोग गरेकाले अहिले उनीबाट पैसा फिर्ता माग्ने अवस्था नै छ । धुर्मुस अहिले आफूलाई लागेको १८ करोड रुपैयाँ ऋण सरकारसँग माग्न नेता, मन्त्री र मन्त्रालयका ढोका चाहारिरहेका छन् । बैंक र सहकारीबाट लिएको ऋणको व्याज पनि बढेर धेरै पुगिसक्यो ।
‘मेरो ऋण अझ धेरै बढ्दै गएको छ । सरकारलाई अब मरो आग्रह १८ करोड रुपैयाँ ऋण तिरिदिए हुन्छ । यदि कुनै हालतमा मिल्ने भए बिनाशर्त ऋण सरकाले तिरिदिए हुन्छ । या त मलाई जेल हाले हुन्छ,’ धुर्मुसले भावुक हुँदै भने ।
उनले भने अनुसार सबै व्यक्तिले दिएको रकमको हिसाब छैन भन्ने सबैको आरोप छ । तर धुर्मुस हिसाव बुझाउन तयार छन् । भलै उनको रिपोर्टमा जे सुकै होस् उनलाई लागेको ऋण चुक्ता नहुँदासम्म उनी अब सबैको लागि ‘ठग’ नै बन्ने खतरामा छन् । यदि उनको योजना सफल भएर रंगशाला निर्माण सकिएको भए उनी भगवान नै सावित हुन्थे ।
यही तनाबका कारण धुर्मुस अहिले ‘डिप्रेशन’ मा छन् । देशले एउटा उत्कृष्ट कलाकार मात्रै गुमाएन, केही गर्छु भन्ने युवाको मनोबल पनि कमजोर बनेको छ ।

कहाँ पुग्यो रंगशाला निर्माण ?
२०७८ साउन २२ गते रंगशाला निर्माणको काम रोकिएको थियो । त्यतिखेरसम्म निर्माणको काम करिब ३९ प्रतिशत सकिएको फाउण्डेशनको दावी छ । स्रोत जुटाउन नसकेपछि धुर्मुस-सुन्तली फाउण्डेशनले २०७८ पुस २ गते भरतपुर महानगरपालिकालाई पत्र पठाएर निर्माणको स्वामित्व लिइदिन आग्रह गरेको थियो ।
गत कात्तिक २३ गतेको मन्त्रिपरिषदको बैठकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजनामा समेटेर तीन तहका सहकारले निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरपालिकाले रंगशाला निर्माणको कार्य सुरु गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) चितवनका अध्यक्ष सुदिप पियाले अहिले रंगशालाको मैदानसहित ५ वटा पीच, १५ हजार जना बस्न मिल्ने प्यारापिट, ड्रेन, २ वटा ३/३ तल्लाको भीआईपी टावरलगायतका संरचनाहरू निर्माण गर्ने कार्य भइरहेको बताए ।
‘रंगशाला निर्माणको कार्य चलिरहेको छ । पहिला केही काम पूरा भएको थियो । अझ केही बाँकी छ । सुरुवातामा यहाँ ५ हजार जना अट्ने प्यारापिट बनिसकेको छ । अब छिट्टै ५ वटा पीच, मिडिया सेन्टर, खेलाडी बस्ने पेभेलियन बन्दैछ,’ अध्यक्ष पियाले भने।
प्रतिक्रिया