साउनदेखि सवै प्रदेशबाट सवारी चालक अनुमति पत्र छपाई हुने

147
Shares

काठमाडौ । आगामी साउन १ गतेदेखि सवारी चालक अनुमति पत्र छपाई गर्न सवै प्रदेश सरकार तयार भएका छन् ।

यातायात व्यवस्था विभागले हालसम्म छपाई गर्न बाँकि सवारी चालक अनुमतिपत्रको छपाई गर्ने र आगामी बैशाख १ देखि साउन १ गतेसम्ममा सवै प्रदेशले सवारी चालक अनुमति पत्रको छपाई गर्ने गरि निर्णय भएको हो ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात सम्वद्ध मन्त्री र सचिवसहितको विषयगत समितिको बैठकले सो निर्णय गरेको हो । सवै प्रदेशबाट जारी हुने सवारी चालक अनुमति पत्रमा एकरुपताका लागि यातायात व्यवस्था विभागले चालक अनुमति पत्रको ढाँचा समेत तयार पारेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको बैठकले राईड शेयरीङ्लाई व्यवस्थित गर्न र प्रदेशहरु बीच नीतिगत समन्वय गरि एकरुपता प्रदान गर्न प्रदेश सरकारको सहभागीतामा संघीय सरकारले नीतिगत व्यवस्था गर्ने र सम्वन्धित प्रदेशले लागु गर्ने निर्णय गरेको छ ।

यसै गरि यातायात क्षेत्रमा हुने भुक्तानी प्रणालीलाई विद्युतीय बनाउने र आगामी चैतमसान्तभित्र सवै प्रदेशबाट विद्युतीय भुक्तानी प्रणाली सुरु गर्ने निर्णय भएको छ ।

प्रारम्भमा विद्युतीय सवारी चालक अनुमति पत्र (ईडीएल) मा यो लागु हुने र क्रमश भुक्तानीका सवै क्षेत्रमा लागु गर्ने निर्णय भएको हो । विभिन्न महत्वपूर्ण विषयहरुमा निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।

बैठकले अघिल्लो वैठकका निर्णयहरुको समिक्षा गरेको थियो भने पछिल्लो बैठकका निर्णय कार्यान्वयनको पनि नियमित समिक्षा हुने जनाईएको छ । सवारी चालक अनुमति छपाई प्रदेशबाटै गर्नुका साथै ईम्बोस्ड नम्बर जडानलाई तिव्रता दिन समेत प्रदेशका मन्त्री तथा सचिवहरुले प्रतिवद्धता जनाएका थिए ।

यातायात व्यवस्थापनमा संघीयताको अभ्यास
समितिको बैठकले गरेका निर्णयहरुसँगै यातायात क्षेत्रमा संघीयता कार्यान्वयनले गति लिने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले संविधानले दिएका अधिकारहरुको कार्यान्वयनमा दर्विलो हुन प्रदेश मन्त्रीहरुलाई आग्रह गरेका थिए ।

प्रदेशले पाएका अधिकार कार्यान्वयनमा संघीय मन्त्रालयले सधै सहयोग गर्ने भन्दै उनले राजश्वमा वृद्धी हुने, नागरिकलाई छरितो रुपमा सेवा प्रवाह हुने जस्ता विषयको कार्यान्वयनलाई प्राथमिकता दिन समेत आग्रह गरेका थिए ।

संघीय मन्त्रालयका सचिव केशवकुमार शर्माले बैठकले गरेका निर्णयहरुको कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको भन्दै यातायात व्यवस्था विभागले समेत प्राविधिक सहयोग गर्ने बताए ।

यसै गरि यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले सवारी चालक अनुमति पत्र छपाई, वितरण, ईम्बोष्ड नम्बर जडान, व्लुबुकको डिजिटलाईजेसन, विद्युतीय भुक्तानी लगायतका आवश्यक विषयमा सहयोग हुँदै आएको उल्लेख गरे ।

उक्त निर्णयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी, मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, बागमति प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री प्रचण्ड विक्रम न्यौपाने, सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले हस्ताक्षर गरेका थिए ।