
काठमाडौं । नेपालमा खेलेरै बाच्ने आधार छ ? यो प्रश्नले सधै जसो नेपाली खेलाडीलाई पछ्याउने गरेको छ । पछिल्लो समय नेपाली क्रिकेटको विकाससँगै यो प्रश्नमा केही परिमार्जन भएको छ । भलै सबै खेलमा नभए पनि नेपाली क्रिकेटमा भने पक्कै परिमार्जन भएको छ ।
परिमार्जित प्रश्न हो नेपाली खेलाडीले कति कमाउँछन् ? यो प्रश्न नेपाली क्रिकेट खेलाडीहरुका लागि हो । नेपाली खेलाडीहरुले पाउने मासिक १ लाख रुपैयाँ तलव बाहेकको पैसामा धेरै हिसाब छैन । गत पुसमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा खेलाडीले पाएको तलबको रकम पनि जोडिन थालेको छ ।
एनपीएलमा मार्की खेलाडीले २० लाख रुपैयाँ पाउँदा खेलाडीहरुको आर्थिक अवस्थामा झनै चर्चा चुलियो । एनपीएलका आठ टोलीले क्यानको केन्द्रीय सम्झौतामा रहेका ए क्याटेगोरीका ७ जना र बी क्याटेगोरीका १ जना गरेर ८ जना खेलाडीलाई मार्कीका रुपमा टिममा अनुबन्ध गरे ।
अक्सनमा पनि ए क्याटेगोरीका खेलाडीले सर्वाधिक १५ लाख, बी क्याटेगोरीका खेलाडीले १० लाख र सी क्याटेगोरीका खेलाडीले ५ लाखसम्म पाए ।
यसअघि खेलाडीले कमाउने आर्थिक विषयमा धेरै चर्चा हुन्छ । केही दिनअघि पोखरामा नेपाल लिटेचर फेस्टिबलमा क्यानका केन्द्रीय सचिवसमेत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाली खेलाडीहरुले वार्षिक ५० लाखसम्म कमाउने बताएपछि खेलाडीको कमाइ फेरि चर्चामा आएको हो ।
उनले नेपालमा रहेका उत्कृष्ट १२ क्रिकेट खेलाडीले वार्षिक ४०/५० लाखसम्म कमाउने बताए । उनले भनेअनुसार सबै १२ खेलाडीमा यो रकम लागु हुँदैछ ।
यसको मतलव कुनै पनि खेलाडीले वर्षमा ५० लाख कमाउदैनन् भन्ने पनि होइन । नेपाली टोलीमा रहेका ३ देखि ४ जना खेलाडी भने उक्त स्थानसम्म पुगेका छन् ।
एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘फ्रि हिटः एनपीएलभन्दा पर’ सेसनमा पारसले आफू खेलाडी करियरको अवस्थामा हुँदा वर्षमा ७५० डलर कमाउने अवस्थालाई सम्झदै अहिले राष्ट्रिय टोलीका टप १२ खेलाडीले वर्षमा ४०/५० लाख कमाउने स्थिति बनेको बताएका हुन् ।
पारसले क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा रहेका ए क्याटेगोरीका खेलाडीलाई अंकित गरेका हुन् । त्यस बाहेक बी क्याटेगोरीमा रहेका केही खेलाडीलाई उनले समेटेका हुन् ।
‘अहिले खेलाडीको अवस्था राम्रो छ । राष्ट्रिय टोलीमा रहेका १२ जना खेलाडीले ४०/५० लाख रुपैयाँ कमाउँछन् । त्यस बाहेकका खेलाडीले ३०/३५ लाख कमाउँछन्,’ पारसले भनेका थिए ।
पारसले भनेअनुसार नेपाली राष्ट्रिय टोलीका १२ जना खेलाडीभने यो अवस्था छैनन् । यसको मतलव कुनै पनि खेलाडीले वर्षमा ५० लाख काउँदैनन् भन्ने पनि होइन । नेपाली टोलीमा रहेका ३ देखि ४ जना खेलाडी भने उक्त स्थानसम्म पुगेका छन् ।
उदाहरणका लागि नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले एनपीएल समाप्त भएसँगै वर्षमा कमाउने रकम ५० लाखभन्दा धेरै पुगेको छ ।
सन्दीप अहिले बृज इनटरनेशनलका ब्रान्ड एम्बासडर पनि हुन् । उनले क्यानबाट वार्षिक पाउने पारिश्रमिक भनेको १२ लाख हो । सन्दीपले विदेशका विभिन्न लिगहरुमा पनि खेल्ने गरेका छन् । उनले अस्ट्रेलियाको विग बास, क्यानडाको ग्लोबल टी ट्वान्टी लिगसहित इन्डियन प्रिमियर लिग पनि खेलेका छन् । जसले गर्दा उनको आम्दानी उल्लेख्य रहेको छ ।
यता राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल पनि ५० लाखभन्दा धरै आम्दानी गर्ने खेलाडीमा पर्छन् । उनी पनि एनपीएलको मार्की खेलाडीसँगै इसेवा, दी नेक्टस् कन्सल्टेन्सीका ब्रान्ड एम्बासडर हुन् । उनले पनि क्यानडाको टी-२० लिग खेलेका छन् ।
यस्तै दिपेन्द्रसिंह ऐरी र आसिफ सेख पनि वार्षिक ५० लाखसम्म आम्दानी गर्ने खेलाडी हुन् । दिपेन्द्र इसेवा र ओमोडाका ब्रान्ड एम्बासडर हुन् भने उनले क्यानडाको टी ट्वान्टी लिगसहित युएईको आईएल टी २० लिगसमेत खेलेकाले उनीहरुको आम्दानी पारसले भनेकोभन्दा धेरै छ ।
त्यस्तै विकेटकिपर एवं व्याट्सम्यान आसिफ इलाइट मुभर्स, आइएई पे र टेक्नो फोनका ब्रान्ड एम्बासडर हुन्।
यसबाहेकका खेलाडीले भने वर्षको ५० लाख कमाउने अवस्था छैन । सन् २०२४ को मात्र हिसाब गर्ने हो भने एनपीएल, वार्षिक १२ लाख रुपैयाँ र डोमेस्टिक प्रतियोगिताको १० लाख नै जोड्दा पनि ४० लाख पुग्दैन ।
उनीहरुले आउने वर्षमा ५० लाख मात्र नभएर त्योभन्दा धेरै कमाइ गर्ने अवस्था पनि हुनसक्छ । अछ क्यानले खेलाडीका लागि चाहेभन्दा धेरै क्याम्प राख्ने अनि एनपीएल लगायत क्यानले आयोजना गर्ने प्रतियोगिताहरुबाट आउने रकमलाई केही प्रतिशत खेलाडीसँग जोड्ने र खेलाडीलाई बिभिन्न ब्राण्डसँग जोड्ने हो भने उनीहरुको कमाइ पक्कै पारसले भनेको अवस्थामा पुग्नेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक खेलाडीकाअनुसार आफूहरुको आर्थिक अवस्थामा सुधार आए पनि ५० लाखसम्म कमाउने अवस्था भने अहिले छैन । उनले एनपीएल आयोजनाले आर्थिक पाटोलाई धेरै सहयोग गरेको पनि बताए ।
‘एनपीएल आयोजना भएपछि आर्थिक अवस्थामा धेरै सुधार भएको छ । एउटै खेलाडीले १५/२० लाख पाउनु सकारात्मक पक्ष हो,’ उनले क्लिकमान्डुसँग भने, ‘तर, अहिले नै वार्षिक ५० लाख कमाउने अवस्थामा पुगेका छैनौं । वार्षिक ५० लाख कमाउने दिन पर भने छैन ।’
राष्ट्रिय टोलीका एक बलरले पछिल्लो समय क्रिकेट खेलाडीको आर्थिक अवस्थामा धेरै सुधार भएको बताए । अहिले नै वार्षिक ५० लाख नकमाए पनि छिटै त्यो अवस्थामा पुग्ने उनले आशा व्यक्त गरे ।
‘पहिलाको भन्दा समग्रमा क्रिकेट खेलाडीको कमाइको अवस्थामा सुधार आएको पक्कै हो,’ उनले भने, ‘तर सबै खेलाडीले वर्षमा ५० लाख कमाउने अवस्था बनेको छैन । तर, अब भने त्यसका लागि लामो समय कुर्नु नपर्ने देखिएको छ ।’
प्रतिक्रिया