
काठमाडौं । झापास्थित पाथिभरा डेरी एण्ड गाई फार्म सञ्चालन गरीरहेका सुदिप गौतमलाई बैंकले सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेको भन्दै अनुदानको ब्याज फिर्ता गर्न ‘फोर्स लोन बुक’ गरिदियो । संस्थागत सुशासनमा राम्रो रहेको दावी गर्ने एनएमबि बैंकले नै उक्त गाई फार्मलाई दिएको सहुलियतपुर्ण कर्जाको ब्याज अनुदानको रकम असूल गर्न उक्त फोर्स लोन बुक गरिदिएको पाइएको हो ।
नेपाल राष्ट्र बैंकले सहुलियतपुर्ण कर्जा र पुर्नकर्जाको सदुपयोगिता अध्ययन गर्नको लागि भन्दै स्वतन्त्र परामर्शदाता नियुक्त गरेको थियो । जोशी एण्ड भण्डारी एसोसिएटलाई परामर्शदाता नियुक्त गरेर केन्द्रिय बैंकले गराएको अध्ययनमा करिब ३२०० फाइलको ‘वित्तीय विश्लेषण’ को आधारमा ७ प्रतिशत कर्जा दुरुपयोग भएको निष्कर्ष निकालेको थियो । यस्तै ठुलो संख्यामा फाइहरुमा कर्जाको दुरुपयोग भएको आशंका गर्दै प्रतिवेदन बुझाएको थियो ।
राष्ट्र बैंकले सो प्रतिवेदनको आधारमा बैंकहरुलाई दुरुपयोग भएको भनिएको कर्जाको अनुगमन गरी दुरुपयोग भएको पाइएमा अनुदानको ब्याज फिर्ता गर्न निर्देशन दिएको थियो । यस्तै दुरुपयोगको आशंका गरिएको कर्जामा अनुगमन गरी आन्तरीक लेखापरीक्षकबाट प्रमाणित गरेर प्रतिवेदन पेश गर्न निर्देशन दियो ।
‘राष्ट्र बैंकले उक्त प्रतिवेदनमा कैफियत औंल्याएका कर्जालाई दुई भागमा वर्गीकरण गरी केही निर्देशनसमेत दिएको थियो,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘प्रतिवेदनमा दुरुपयोग नै भएको निर्ष्कष निकालेका कर्जामा दोहोरो अर्थ लाग्ने गरी आवश्यक अध्ययन गरी ३५ दिनभित्र दुरुपयोग भएको कर्जाको ब्याज सरकारी खातामा जम्मा गर्न भनिएको थियो । यस्तै दुरुपयोग भएको आशंका भएका कर्जाको हकमा आवश्यक अध्ययन गरी आन्तरीक लेखापरिकमार्फत प्रतिवेदन पेश गर्न भनिएको थियो ।’
परामर्शदातले दुरुपयोग भएको निष्कर्ष निकालेको कर्जामा आवश्यक अध्ययन गरी ३५ दिनभित्र सरकारी खातामा ब्याज जम्मा गर्न निर्देशन दिएकोले सोही अनुसार ब्याज जम्मा गरे । बैंकहरुले ब्याज फिर्ता गरेपछि सहुलियतपुर्ण कर्जामा ब्याज अनुदान नपाएका ऋणीको ब्याज फिर्ता लिनुपर्ने भयो । राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले थप अध्ययन नगरी दुरुपयोग भनिएको कर्जामा ब्याज फिर्ता गरेर ऋणीबाट ब्याज उठाउन लागे ।
वित्तीय विश्लेषणको आधारमा राष्ट्र बैंकले छनोट गरेको परामर्शदाताको प्रतिवेदनमा झापाको दमकमा रहेको पाथिभरा डेरी एण्ड काउ फार्म पनि कर्जा दुरुपयोग गर्ने सुचिमा पर्यो । राष्ट्र बैंकले प्रतिवेदनको आधारमा दुरुपयोग भनिएको कर्जाको आवश्यक विश्लेषण गरी दुरुपयोग भएको कर्जाको ब्याज असूल गरी सरकारी खातामा जम्मा गर्न निर्देशन दियो ।
बैंकहरुले थप अध्ययन नगरी प्रतिवेदनमा दुरुपयोग भएको भनिएको ७ प्रतिशत कर्जालाई सिधै ब्याज फिर्ता गर्दै कारवाही अगाडि बढाए । सोही क्रममा झापाको दमकमा सञ्चालनमा रहेको पाथिभरा डेरी एण्ड गाई फार्म पनि कर्जा दुरुपयोगको सुचिमा पर्यो ।
वित्तीय विश्लेषणमा उक्त फार्मले लिएको कर्जा प्रयोजनभन्दा बाहिर खर्च भएको पाइएपछि अध्ययन प्रतिवेदनमा उक्त कर्जा दुरुपयोग भएको सुचिमा पर्यो । सोही प्रतिवेदनको आधारमा उक्त फार्मलाई कर्जा दिएको एनएमबि बैंकले उक्त फार्मको कर्जा दुरुपयोग भएको निष्कर्ष सहित अनुदानको ब्याज असुल गर्न फोर्स लोन बुक गर्यो ।
झापाको दमकमा रहेको उक्त फार्मका सञ्चालक सुदिप गौतम हुन् । उनको फार्ममा अहिले करिब साढे ३०० वटा गाई छन् । राम्रो व्यवसाय गरेका र बैंकको ऋण समेत तिरिरहेका सुदिपको फार्मले लिएको कर्जा बैंकले दुरुपयोग भएको भन्दै ब्याज असुल गर्न फोर्स लोन बुक गरेपछि गभर्नर आफैं पनि अचम्मित भए । कोशी प्रदेशको नै नमुना गाई फार्मको रुपमा रहेको उक्त फार्मले दिएको सहुलियपुर्ण कर्जा दुरुपयोग भएको भन्दै बैंकले ६ महिनाअगाडि ६० लाख रुपैयाँ ब्याज असुलको लागि फोर्स लोन बुक गरेको थियो ।
१ वर्षअघि गभर्नर महाप्रसाद अधिकारीले आफैं अनुगमन गर्दा राम्रो काम गरेको देखिएको भन्दै उक्त फार्मको प्रशंसासमेत गर्दै आएका थिए । तर, राष्ट्र बैंकले नै परामर्शदाता छनोट गरेर गरेको अध्ययनमा कर्जा दुरुपयोग भएको निष्कर्ष आयो । त्यतिमात्रै नभएर सोही प्रतिवेदन अनुसार ब्याज असूल गर्न भन्दै राष्ट्र बैंकले दिएको निर्देशनपछि संस्थागत सुशासनमा राम्रो रहेको एनएमबि बैंकले फोर्स लोन बुक गर्यो । बैंकले राष्ट्र बैंकले दिएको निर्देनपछि उक्त परियोजनाको अवस्था अनुगमन गर्न आवश्यक पनि सोचन । गैरबैंकिङ अभ्यास गर्दै सुदिपको उक्त गाई फार्मलाई दिएको ब्याज अनुदानको लागि फोर्स लोन बुक गरिदियो ।
सुदिपले आफ्नो कर्जा दुरुपयोग नभएको दाबी गरेपछि बैंकले उनको गुनासो नसुनेपछि सुदिपले राष्ट्र बैंकको गुनासो सुनुवाई इकाईमा गुनासो समेत गरे । उक्त, गुनासोका बारोमा जानकारी पाएपछि गभर्नरले तुरुन्तै उक्त फार्मको अनुगमन गरी यथार्थ प्रतिवेदन पेश गर्न र दुरुपयोग नभएको भए बैंकले गरेको निर्णय सच्याउन समेत निर्देशन दिए ।
‘मैले अनुगमन गर्दा प्रविधिमा आधारित व्यवस्थित फार्म र उत्पादित दुग्ध बजारमा बिक्री नहुने अवस्था देखेको थिए । पछि उक्त फार्मको कर्जा दुरुपयोग भएको भन्ने आएपछि अध्ययन प्रतिवेदन कार्यान्वयन गर्नुअघि बैंकहरुलेलाई अन्य कर्जाको समेत अनुगमन गरी प्रतिवेदन पेश गर्न समेत सम्बन्धीत बैंकहरुलाई निर्देशन दिएका छौं,’ केही समयअघि क्लिकमान्डुसँगको कुराकानीमा गभर्नर महाप्रसाद अधिकारीले भनेका थिए ।
उक्त घटानापछि नेपालमा कतिपय व्यवहारीक समस्याका कारण वित्तीय विश्लेषणको आधारमा मात्रै कर्जा दुरुपयोग भएको निष्कर्ष निकाल्नु गलत हुने भन्दै बैंकहरुलाई थप अध्ययन गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो । १ महिनाको समय दिएर प्रतिवेदन पेश गर्न निर्देशन दिएकोमा करिब एक दर्जन परियोजनामा यस्तो अवस्था रहेको रिपोर्ट आएको ग्राहक संरक्षण तथा गुनासो सुनुवाई इकाइले जनाएको छ । विकास बैंक र फाइनान्समा त्यस्तो समस्या नदेखिए पनि वाणिज्य बैंकहरुको केही कर्जामा उक्त समस्या देखिएको राष्ट्र बैंकले जनाएको छ ।
यदि कुनै कर्जा दिरुपयोग नै भए पनि बैंकहले ब्याज असूलीका लागि फोसर्स लोन बुक गर्नु गलत भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । एनएमबि बैंकले गैरबैंकिङ अभ्यास गर्दै फोर्स लोन बुक गरेपछि त्यसलाई सच्याएर राष्ट्र बैंकलाई जानकारी गराउने समेत निर्देशन दिएको थियो । गभर्नर अधिकारीले कर्जा दिने बैंककको नाम र फार्मको नाम उल्लेख नगरी पटक-पटक उक्त फार्मको उदाहारण दिने गरेको एक बैंकको सीईओले बताए । राष्ट्र बैंकमा गुनासो गर्दा पनि समस्या समाधान नभएपछि सुदिप गौतम गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न राष्ट्र बैंकमै पुगेका थिए ।
राम्रोसँग चलिरहेको उनको गाई फार्मको प्रधानमन्त्री केपी ओलीसहित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, कृषिमन्त्री हुँदा ज्वाला शाह पनि पुगेकी थिइन् भने कोशी प्रदेशका मूख्यमन्त्रीहरु, मन्त्रीहरु र सांसदहरुले पनि उनको गाई फार्मको स्थलगत अवलोकन गरेका छन् ।
राष्ट्र बैंकले सोही फार्मको गुनासोपछि सहुलियतपुर्ण कर्जाको कार्यविधि संशोधन गर्ने प्रक्रिया नै अगाडि बढाएको छ । त्यतिमात्रै नभएर आफैंले गराएको अध्ययन प्रतिवेदनमा कैफियत रहेको भन्दै बैंकहरुलाई थप अध्ययन गरी प्रतिवेदन पेश गर्न समेत निर्देशन दिएको हो । राष्ट्र बैंकको गुनासो समितिमा समेत यस विषयमा छलफल भएको स्रोतले बताएको छ ।
नेपालमा उन्नत जातका गाई नपाइनले र गैरकानुनी बाटोबाट भारत लगायतका मुलुकबाट ल्याउनुपर्ने बाध्यता छ । कानूनले पुश चौपाया आयातमा प्रतिबन्ध लगाएको अवस्था छ । यस्तोमा विभिन्न माध्यमबाट भारतमा गाई किन्ने र नेपालको बोर्ड क्षेत्रमा ल्याएर गैरकानुनी रुपमा समेत गाई ल्याउनुपर्ने अवस्था छ । त्यसको भुक्तानीको लागि सिधै चेकमार्फत् गर्न सम्भव नहुँदा कारोबार मिलाउनेका लागि अन्य माध्यमबाट भुक्तानी भएको छ । सोही कारोबारको आधारमा समेत ऋण दुरुपयोग भएको देखिएको प्रतिवेदन आएको थियो । सोही आधारमा कारवाही सिफारिस गर्दा सुदिप गौतम पनि कारवाहीमा परेका हुन् ।
बैंकहले राष्ट्र बैंकको प्रतिवेदन कार्यान्वयन गर्ने शिलसिलामा गौतमको फार्मलाई कारवाही गरे पनि फोर्स लोन बुक गर्न भने नपाउने राष्ट्र बैकका अधिकारीहरु बताउँछन् । यसमा एनएमबि बैंकको नियत पनि सहि नदेखिएको राष्ट्र बैंकको बुझाइ देखिन्छ।
गभर्नर अधिकारीले नै यस्तो व्यवहारिक समस्या भएको पाइएपछि उक्त परियोजनाको अध्ययन गर्न र फोर्स लोन बुक गरेको भए समस्या समाधान गर्न निर्देशन समेत दिएका थिए । गभर्नर अधिकारी पनि सहुलियतपूर्ण कर्जा लिने ऋणीले इमान्दार भएर परियोजना सञ्चालन गरेको अवस्थामा पनि केही व्यवहारीक कठिनाईका कारण अनौपचारिक कारोबार समेत गर्नुपर्ने अवस्था रहेकोमा त्यस्तो व्यवहारीक समस्या समाधान गर्न बैंकलाई निर्देशन दिएको बताउँछन् ।
सहुलियतपूर्ण कर्जामा देखिएको प्राविधिक समस्या सम्बोधन गर्नेगरी सहुयितपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि संशोधन गर्ने तयारी भइरहेको राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना बताउँछिन् । सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम नै बन्द गर्ने गरी छलफल अगाडि बढाएको भएपनि सरकारको कार्यक्रम बन्द गर्दा राम्रो सन्देश जाँदैन भने कर्जाको सीमा घटाएर निरन्तरता दिनेगरी कार्यविधि संशोधनको तयारी भएको उनले बताइन्।
प्रतिक्रिया