घोराही सिमेन्ट प्रकरणः स्थगन रहेको निष्कासन प्रक्रिया खुला, थप अनुसन्धानका लागि प्रहरीमा पठाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डष्ट्रीको सेयरमा परेको फर्जी आवेदनको अनुसन्धानका लागि प्रहरीमा पठाउने भएको छ ।
नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डष्ट्रीको सेयरका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यस्ताे जनाएको हो।
अध्ययनले उक्त कम्पनीको आईपीओमा आवेदन दिँदा जालसाँजीयुक्त कारोबार गरेको भन्दै त्यसको छानविन गर्न नेपाल प्रहरीलाई सिफारिस गर्ने भएको छ ।
खातामा पैसा नभइ १० लाख कित्ताका दरले परेको आवेदन सर्वसाधारणलाई भ्रमित पार्ने उद्देश्यले आवेदन गरेको देखिएकोले जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानविनको लागि सिफारिस गर्ने प्रतिवेदमा उल्लेख छ ।
१२ जना आवेदकले १० लाख कित्ताका दरले १ कराेड २० लाख कित्ताका लागि प्रतिकित्ता ४३५ रुपैयाँका दरले ५ अर्ब २२ कराेड रुपैयाँ बराबरकाे फर्जी आवेदन दिएका थिए । फर्जी आवेदन परेपछी धितोपत्र बोर्डले उपकार्यकारी निर्देशक दिपेश ताम्राकारकाे संयाेजकत्वमा जाँचबुझ समिति गठन गरेको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा बुधबार आफ्नाे आधिकारीक धारणा सार्वजिनक गरेको हो ।
प्रतिवेदनले केही लगानकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रूपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएकोमा उक्त आवेदकहरु निष्काशनकर्ता कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको संचालक र कर्मचारीहरुसंग कुनै सम्बन्ध नदेखिएको जनाएको छ ।
निष्काशन तथा बिक्री प्रबन्धकले माग भन्दा बढी कित्ता शेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको हुँदा सो सम्बन्धमा समेत थप छानविन गर्ने प्रतिवेदनमा उल्लेख छ ।
आस्वा सदस्य एनआइसी एशिया बैंकले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदनहरु स्वीकृत भएको हो त्यस सम्बन्धमा थप छानविन गरी आवश्यक कारवाही अगाडी बढाउने प्रतिवेदनमा भनिएको छ ।
यस्तै सार्वजनिक निष्काशनमा निवेदन दिने आवेदक (लगानीकर्ता), आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र निष्काशन तथा बिक्री प्रबन्धकको कामकारवाही शेयर निष्काशनकर्ता कम्पनीको कामकारवाही भन्दा भिन्न रहेको र आवेदक लगानीकर्ताहरुको निष्काशनकर्ता कम्पनीसँग प्रत्यक्ष संलग्नता भएको नदेखिएको अवस्थामा कम्पनीको सार्वजनिक निष्काशन स्थगित भएको कारणबाट आवेदन गरेका सर्वसाधारणहरुको करिब ३ अर्ब ६१ करोड रकम होल्ड भएको उल्लेख छ ।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई निष्काशन गरेको शेयर बॉडफॉड भई २९ करोड ४६ लाख ७८ हजार २५० रुपैयाँ कम्पनीको खातामा रकमान्तर भैसेकेको देखिएको छ ।
आर्थिक वर्ष २०७९/८० समेत समाप्त हुन लागेको कुरालाई मध्यनजर गरी बुँदा छानविन कार्य अगाडी बढाउने गरी हाललाई स्थगन भएको निष्काशन खुला गर्ने जनाएको छ ।
घोराही सिमेन्ट इण्डष्ट्रीको सार्वजनिक निष्काशनका लागि सि-आस्वा प्रणालीमा दर्ता भएका आवेदनहरुको हकमा आवेदन गरेको शेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता खारेज गर्न सक्ने व्यवस्था गर्ने प्रतिवेदनमा उल्लेख छ । आवेदन फिर्ता वा थपघट गर्न निष्काशन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले तीन दिनको समय दिने प्रतिवेदनमा उल्लेख छ ।
यस्तै निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा संगठित संस्थाले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा १५ दिनका लागि धितोपत्रको दरखास्त खुला राख्न सक्नेछ भन्ने व्यवस्था रहेको स्मरण गराएको छ ।
थप गरिएको ३ दिनको समयावधि भित्र माग गरिएको सम्पूर्ण धितोपत्र बिक्री नभएमा जेठ ३२ गते देखि असार ४ गते सम्म ५ दिन निष्काशन खुला भइसकेको सन्दर्भमा आवेदन संशोधनको लागि थप गरिएको ३ दिनको समय पश्चात बढीमा थप ७ दिन निष्काशन खुला राख्न सकिने व्यवस्था गरेको जनाएको छ ।