घोराही सिमेन्टको आईपीओ प्रकरणः एनआईसी एशिया बैंकलाई कारबाही गर्न सिफारिस



काठमाडौं । घोराही सिमेन्टको आईपीओ प्रकरणमा एनआईसी एशिया बैंक मुछिएको छ ।

आवेदकले खातामा पैसा नभए पनि आवेदन दिँदा आश्वा सदस्य रहेको बैंकले आवेदन स्वीकृत लिएपछि बैंक यो प्रकरणमा मुछिएको हो ।

कम्पनीको आईपीओमा फर्जी आवेदन परेपछि धितोपत्र बोर्डले गठन गरेको जाँचबुझ समितिले पैसा नभएको आवेदन स्वीकृत गरेपछि बैंकमा पनि छानविन गरी आवश्यक कारबाही गर्न सिफारिस गरेको छ ।

बोर्डको जाँचबुझ समितिले गरेको अध्ययन प्रतिवेदनमा भनिएको छ ‘आस्वा सदस्य एनआइसी एशिया बैंकले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदनहरु स्वीकृत भएको हो त्यस सम्बन्धमा थप छानविन गरी आवश्यक कारवाही अगाडी बढाउने’ प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीको आईपीओमा १२ जनाले खातामा पैसा नभई १० लाख कित्ताका दरले आवेदन दिएका थिए । खातामा पैसा नभइ आवेदन परेपछि असार ४ गते बोर्डले उक्त आवेदन प्रकृतया स्थगन गरेर जाँचबुझ गरेको थियो ।

सिमेन्ट कम्पनीमा त्रिवेणी ग्रुप र विशाल ग्रुपको प्रमुख लगानी रहेको छ । त्रिवेणी ग्रपका सञ्चालक रामचन्द्र संघाई एनआइसी एशिया बैंकको सञ्चालक छन् ।

त्यस्तै विशाल ग्रुपका तर्फबाट एनआइसी एशिया बैंकमा अध्यक्ष तुल्सीराम अग्रवाल, सञ्चालकहरु त्रिलोक चन्द्र अग्रवाल, आदित्य कुमार अग्रवाल रहेका छन् । संघाई र अग्रवालबीच पारिवारिक सम्बन्ध छ भने बैंकको सञ्चालकमा रहेका अग्रवाहरु एकाघरमा हुन् ।


क्लिकमान्डु