अवैध काम गरेको केयर रेटिङलाई जोगाउने प्रयास, सेबोन अध्यक्ष हमाल प्रभावमा कि दबाबमा ?



गत असार ७ गते सुपरिवेक्षण विभाग प्रमुख विनयदेव आचार्यलाई मेमो लेख्दै असार १५ भित्र केयर रेटिङलाई कारबाही गर्ने सम्बन्धमा प्रस्ताव पेस गर्न निर्देशन दिएका नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले सञ्चालक समितिबाट विशाल गुप्रको करिब २० प्रतिशत लगानी रहेको केयरलाई कारबाही गर्ने निर्णय गराएका छैनन् ।

काठमाडौं । क्रेडिट रेटिङको नियमावलीविपरीत काम गरेको केयर रेटिङलाई कारबाही गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आनाकानी गरेको छ ।

नियमावलीअनुसार रेटिङ कम्पनीमा १० प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सञ्चालकको नियन्त्रण रहेका कम्पनीको रेटिङ गर्न पाइँदैन ।

तर, केयरले विशाल गुप्रले सञ्चालन गरेका एक दर्जन कम्पनीको रेटिङ गराएको छ । केयर रेटिङमा विशाल गुप्रको करिब २० प्रतिशत स्वामित्व भएकाले केयरले विशाल गुप्र मातहतका कम्पनीको रेटिङ गर्न पाउँदैन ।

केयर रेटिङले निरन्तर नियमावलीविपरीत काम गरेको उजुरीपछि धितोपत्र बोर्डले गत पुस २८ गते केयरलाई स्पष्टीकरण सोधेको थियो ।

धितोपत्र बोर्डको सुपरिवेक्षण विभागले गरेको अध्ययनमा केयरले स्वार्थ बाझिने गरी रेटिङ गरेको पाएको थियो ।

विभिन्न व्यक्तिका कम्पनी स्थापना गरी केयरमा लगानी गरेका लगानीकर्ता पनि विशाल गुप्रअन्तर्गतका लगानीकर्ता भएको र अन्तिम हितग्राही एउटै व्यक्ति रहेको भन्दै सुपरिवेक्षण विभाग केयरलाई कारबाही गर्नुपर्ने व्यहोराको प्रतिवेदन दिएको थियो ।

बोर्डको सञ्चालक समितिले रेटिङ नियमावली २०६८ उल्लंघन गरी आफ्नो मुख्य सेयरधनी रहेको कम्पनीको रेटिङ किन गरेको भन्दै केयरलाई जवाफ पेस गर्न निर्देशन दिएको थियो ।

बोर्डले सोधेको स्पष्टीकरण पत्रमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने उल्लेख थियो ।

केयरले बोर्डमा माघ २० गत जवाफ पेस गरे पनि धितोपत्र बार्डले कारबाही प्रक्रिया अगाडि बढाउन भने सकेको छैन । जबकि, सेबोनले सोधेको स्पष्टीकरण पत्रमा क्रेडिट रेटिङ नियमावली २०६८ उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै रेटिङ नियमावली २०६८ अनुसार त्यस्ता कम्पनीको रेटिङ किन रद्द नगर्ने तथा केयर रेटिङ नेपालको अनुमतिपत्र किन निलम्बन नगर्ने भन्ने प्रश्न गरेको थियो ।

क्रेडिट रेटिङको नियमावलीको नियम ३४ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मुख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्नु हुँदैन भन्ने व्यवस्था छ ।

यस्तै नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफैंले वा आफूसहित आफ्नो एकाघरको परिवारको सदस्यसमेत मिलेर क्रेडिट रेटिङ संस्थाको कम्तीमा १० प्रतिशत सेयर स्वामित्व ग्रहण गरेको वा मताधिकार प्राप्त गरेमा क्रेडिट रेटिङ संस्थासँग कुन किसिमको सम्बन्ध रहेको छ सो सम्बन्धी व्यहोरा रेटिङ उद्घोषणमा खुलाउनुपर्ने व्यवस्था छ ।

तर, केयर रेटिङमा विभिन्न नाममा २० प्रतिशत अन्तिम लाभग्राही विशाल ग्रुप हुँदासमेत केयरले विशालको लगानी भएका कम्पनीले रेटिङ गर्दै आएको थियो ।

रेटिङ कम्पनीमा प्रत्यक्ष वा अप्रत्यक्ष १० प्रतिशतभन्दा बढी नियन्त्रण भएका व्यक्तिको कुनै अन्य कम्पनीमा १० प्रतिशत वा सो भन्दा बढी सेयर भएको अवस्थामा रेटिङ गर्न नमिल्ने व्यवस्थाविपरीत केयरले विशाल गुप्रको १० प्रतिशतभन्दा बढी लगानी भएका करिब १ दर्जन कम्पनीको रेटिङ गरेको थियो ।

२०७९ साउनमा क्लिकमान्डुले केयर रेटिङले कानुनविपरीत रेटिङ गरिरहेको भन्दै समाचार प्रकाशित गरेको थियो ।  धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले २०७९ साउनमा क्लिकमान्डुसँग छानबिन समिति गठन गरेर अध्ययन गरिरहेको बताएका थिए ।

‘रेटिङ कम्पनीले नियमविपरीत काम गरेको गुनासो आएको छ, केहीले देखिने गरेर आफ्नै लगानीकर्ताको कम्पनीको रेटिङ गरेको भेटियो, हामीले सबै विवरण माग गरेर अध्ययन गरेका छौं,’ हमालले क्लिकमान्डुसँग भनेका थिए ।

गत पुसमा सोधिएको स्पष्टीकरणमा विषयमा कुनै टुंगो नलगाउन नसकेको धितोपत्र बोर्डले गत जेठ ३० गते केयर रेटिङलाई स्वार्थ बाझिने गरी घोराही सिमेन्टको रेटिङ गरे/नगरेको विषयमा स्पष्ट पार्न ३ दिनको समय दिएर स्पष्टीकरण सोधको थियो । तर, केयरले बोर्डका स्पष्टीकरण दिनुको सट्टा थप समय मागेपछि धितोपत्र बोर्डले घोराही सिमेन्टको सार्वजनिक निष्कासन प्रक्रियामा रोक लगाएको छ ।

बोर्डका अधिकारीहरुले केयरले घोराहीको रेटिङ गर्न नपाउने बताएका थिए । पटक-पटक गल्ती गर्दै आए पनि केयरलाई कानुनी कारबाही गर्न नसकेको धितोपत्र बोर्डका अध्यक्ष हमालले असार ७ गते केयर रेटिङले बुझाएको स्पष्टीकरणसहित कानुनअनुसार सञ्चालक समितिले गर्नुपर्ने निर्णयका विषयमा प्रस्ताव तयार गर्न आन्तरिक सर्कुलर जारी गरेका थिए ।

तर, अध्यक्ष हमालले गरेको सर्कुलरअनुसार असार १४ गते बसेको बैठकमा सुपरिवेक्षण विभागले केयरलाई कारबाही गर्ने सम्बन्धमा ठोस प्रस्ताव पेस गर्न नसकेको सञ्चालक समितिका एक सदस्य बताउँछन् ।

‘केयर रेटिङलाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधिएको साढे ५ महिनापछि बोर्ड अध्यक्षले कारबाही गर्ने प्रस्ताव सञ्चालक समितिमा ल्याउन निर्देशन दिनुभयो भन्ने सञ्चारमाध्यमबाट सुनेका थियौं,’ सञ्चालक समितिका एक अधिकारीले भने, ‘तर पछिल्लो सञ्चालक समितिको बैठकमा कुनै ठोस प्रस्ताव आएको थिएन । त्यसैले आगामी सञ्चालक समितिको बैठकमा सेबोनको कानुन र अन्य विभागको राय बुझेर प्रस्ताव पेस गर्न निर्देशन दिने निर्णय गरिएको छ ।’

सेबोनका केही कर्मचारी पटक-पटक कानुनविपरीत काम गरेको केयरलाई कारबाही गर्न धितोपत्र बोर्डका अध्यक्ष डराएको बताउँछन् । ‘अध्यक्षज्यूले सुपरिवेक्षण विभागलाई केयरलाई कारबाही गर्ने प्रस्ताव ल्याउन लिखित निर्देशन दिनुहुन्छ तर विभागले अध्यक्षले भनेअनुसारको प्रस्ताव लैजाँदैनन्,’ बोर्डका एक उपनिर्देशकले भने, ‘विशाल गुप्रको लगानी छ भनेर अध्यक्षज्यू डराउनुभएको हो वा उहाँलाई पनि विशाल गुप्रले प्रभावमा पारेको छ, त्यो बुझ्न सकिएको छैन ।’

धितोपत्र बोर्डका अधिकारीहरु बोर्डका केही कर्मचारीको दोहोरो भूमिकाले पनि केयरलाई कारबाहीको प्रक्रिया अगाडि बढ्न नसकेको बताउँछन् ।

बोर्डको सुपरिवेक्षण विभागले कानुनविपरीत काम गरेको भन्दै केयर रेटिङलाई स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव सञ्चालक समितिमा लगेको थियो । तर,  केयरले स्पष्टीकरण बुझाएपछि बोर्ड भित्रका केही कर्मचारीले विशाल गुप्र र केयरमा लगानी गरेका सेयरधनीबीच प्रत्यक्ष सम्बन्ध नभएको भन्दै स्वार्थको द्वन्द्व भन्न नमिल्ने निर्णय गरेका थिए ।

जसले गर्दा केयरलाई कारबाही गर्ने प्रक्रिया रोकिएको थियो । बोर्डभित्रका केही कर्मचारी केयर र विशाल गुप्रको अन्तिम हितग्राही एउटै भएको भन्दै स्वार्थको द्वन्द्व मान्नुपर्ने अडानमा थिए । जसले गर्दा केयरलाई कारबाही नगर्नु पर्ने भन्दै सुपरिवेक्षण विभागको गत फागुनमा गरिएको निर्णय उल्टिएर केयरलाई कारबाही गर्नुपर्ने निर्णय भएको छ ।

तर पनि केयर रेटिङलाई स्वार्थको द्वन्द्वमा कारबाही गर्ने प्रस्ताव अगाडि बढ्न सकेको छैन । सुपरिवेक्षण विभागले केयरले युनाइटेड डिस्ट्रिब्युटर लगायतका कम्पनीमा गरेको रेटिङ र यो विषय स्वार्थको द्वन्द्व भएको ठहर गरेको छ ।

बोर्डका कर्मचारीले स्वार्थको द्वन्द्व भएको स्पष्ट प्रतिवेदन दिँदासमेत अध्यक्ष हमालले केयरलाई कारबाही गर्न नसक्नु शंकास्पद छ । विगतदेखि राजनीतिक नेतृत्वलाई प्रभावमा राख्दै आफूअनुकूल काम गराउन सफल हुँदै आएको विशाल गुप्र यसपटक पनि केयरलाई कारबाही प्रक्रिया रोक्न सफल भएको सेबोनका कर्मचारीको आशंका छ ।

‘विशाल ग्रुपले राजनीतिक नेतृत्व र हाम्रो कार्यालयको नेतृत्वलाई पनि रिझाएको छ भन्ने सुनिन्छ,’ बोर्डका एक अधिकारीले भने, ‘सञ्चालक समितिका सदस्यहरुले विशाल ग्रुपबाट कुनै लाभ नलिएको भए कानुनविपरीतको काम गर्दा कारबाही गर्न डराउने भन्ने हुँदैनथ्यो । सायद सबैको मिलेमलोमा अवैध काम गरेको केयरलाई जोगाउने प्रयास हुँदैछ ।’

कानुनविपरीत कुनै पनि कम्पनीको रेटिङ गरेमा ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ । त्यस्तै कसैलाई हानी-नोक्सानी भएको भए क्षतिपूर्ति असुलउपर हुनेछ ।


शरद ओझा