
काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन पहिले आमन्त्रण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो ।
निर्माण व्यवसायी र सम्बन्धित आयोजनाले सवारीसाधन निरन्तर आवतजावत हुँदा सडक निर्माणले गति लिन नसकेको बताएका थिए ।
ट्राफिक व्यवस्थापन गरी सडक निर्माणलाई गति दिने लक्ष्यका साथ यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रुपमा सडक बन्द हुने सूचना प्रकाशित गरेको छ ।
त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । सोही क्रममा उक्त सडकको काठमाडौँ जिल्ला भित्र पर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकताका राखिएको छ ।
सो सडकखण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्रका लागि एकै पटकमा धेरै गह्रौँ उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुन्छ । यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ ।
सूचना अनुसार नागढुङ्गा देखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म बिहान १०ः३० बजेदेखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन बन्द हुनेछ ।
सो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई सो समय भन्दा अगाडी वा पछाडी व्यवस्थापन गर्न सूचनामा आग्रह गरिएको छ ।
सो समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछ । सूचनामा अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ ।
मुग्लिङबाट काठमाडौँ तर्फ जाने सवारी साधन खानीखोला ९नौबिसे०, जुंगेखोला ९थाक्रे०, गल्छी–गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिनेछ । साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् ।
सूचना अनुसार सीतापाईला भिमढुङ्गा,रामकोट धार्के सडक, सामाखुसी टोखा–छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिने छ ।
रोकिएका सबै सवारीसाधनलाई अपराह्न ३ः३० बजेपछि मात्र छाडिने सूचनामा उल्लेख छ ।







प्रतिक्रिया