केयर रेटिङले नियमविपरित विशाल ग्रुपको रेटिङ गरेपछि सेबोनले सोध्यो स्पष्टीकरण, रद्दको चेतावनी



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नियम विपरित रेटिङ गर्ने एजेन्सीलाई स्पष्टीकरण सोधेको छ । बोर्डले रेटिङ कम्पनीले रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भनी सफाइ पेस गर्न भनेको छ ।

सेबोनले उक्त कम्पनीले क्रेडिट रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेकोभन्दै रेटिङ नियमावली २०६८ अनुसार रेटिङ किन रद्द नगर्ने तथा केयर रेटिङ नेपालको अनुमतिपत्र किन निलम्बन नगर्ने भनी स्पष्टीकरण सोधेको हो ।

सेबोनले नियम विपरीत रेटिङ कम्पनीले आफ्नो लगानीकर्ता कम्पनीको रेटिङ गरेको गुनासो आएसँगै अनुसन्धान शुरु गरेको थियो । सेबोनले छानबिन समिति गठन गरेर नै अध्ययन कार्य अगाडि बढाएको थियो । सोही अध्ययनका क्रममा केयर रेटिङले नियम विपरित रेटिङ गरेको पाइएकाले स्पष्टीकरण सोधेको सेबोनले जनाएको छ ।

केयर रेटिङले विगत लामो समयदेखि मुख्य लगानी रहेको कम्पनीको नै रेटिङ गर्दै आएको छ । जसले गर्दा रेटिङमा कम्पनीहरुको स्वार्थ बाझिएको देखिन्छ । केयर रेटिङमा विशाल ग्रुप र आईएमई समूहको लगानी छ । लगानी भएको सोही कम्पनीको केयर नेपालले नियम विपरित रेटिङ गर्दै आएको छ ।

क्रेडिट रेटिङको नियमवलीको नियम ३४ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मूख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्नु हुँदैन भन्ने स्पष्ट उल्लेख गरेको छ ।

साथै, क्रेडिट रेटिङ संस्थाले आफ्नो मुख्य शेयरधनी वा मुख्य शेयरधनी कुनै कम्पनीमा आधारभूत शेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ गर्न पाउने छैन भनी नियमावलीमा व्यवस्था गरेको छ ।

साथै, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफैले वा आफूसहित आफ्नो एकाघरको परिवारको सदस्यसमेत मिली क्रेडिट रेटिङ संस्थाको कम्तीमा १० प्रतिशत शेयर स्वामित्व ग्रहण गरेको वा मताधिकार प्राप्त गरेको वा क्रेडिट रेटिङ संस्था आफै वा मूख्य कम्पनी वा सहायक कम्पनीसँग मिलेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा १० प्रतिशतभन्दा कम नहुने गरी सेयर स्वामित्व ग्रहण गरेको वा मताधिकार प्राप्त गरेको कम्पनीको रेटिङ गर्न नपाउने व्यवस्था छ ।

तर, विशाल ग्रुप र आईएमई ग्रुपको लगानी रहेको रेटिङले भने विभिन्न समयमा आफ्नो कम्पनीको रेटिङ गर्दै आएको पाइन्छ ।

विशाल ग्रुपको लगानी भएको उद्योग तथा ट्रेडिङ कम्पनीमा कमला रोलिङ मिल, यती ब्रुअरी, ग्रीन भेन्चर, मैनावत्ती स्टील, युनाइटेड डिस्ट्रिब्युटर, प्यारामाउन्ट मोटर्स, भिजी अटोमोबाइल्स, एडभान्स अटोमोबाइल्स, ग्लोबल ट्रेडिङ, कन्र्सन, लाइफ केयर डिस्ट्रिब्युसन तथा घोराही सिमेन्ट छन् ।

यस्तै, आईएमई समूहको लगानी रहेको आईएमई लाइफ इन्स्योरेन्स, डिस मिडिया नेटवर्क, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी नेपाल लिमिटे र हाउथवे फाइनान्स कम्पनी लिमिटेडको केयर रेटिङले रेटिङ गरेका छन् ।

केयर नेपालमा सबैभन्दा बढी सेयर विशाल ग्रुपको छ । जसमा विशाल ग्रुप लिमिटेड, इमर्जिङ नेपाल, नेपाल रिइन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, प्रुडेन्सियल इन्स्योरेन्स तथा एआईसी नेपालको सेयर लगानी छ । केयर नेपालमा लगानी रहेका कम्पनीमा ग्लोबल आईएमई बाहेक सबै कम्पनीमा विशाल ग्रुपको लगानी छ । इमर्जिङ नेपाल र नेपाल रि–इन्स्योरेन्समा भने आईएमई समूहको समेत लगानी छ ।

यी हुन् विशाल ग्रुपको रेटिङ भएको कम्पनीहरु

विशाल ग्रुपको लगानी भएको उद्योग तथा ट्रेडिङ कम्पनीमा कमला रोलिङ मिल, यती ब्रुअरी, ग्रीन भेन्चर, मैनावत्ती स्टील, युनाइटेड डिस्ट्रिब्युटर, प्यारामाउन्ट मोटर्स, भिजी अटोमोबाइल्स, एडभान्स अटोमोबाइल्स, ग्लोबल ट्रेडिङ कन्र्सन, लाइफ केयर डिस्ट्रिब्युसन तथा घोराही सिमेन्ट छन् । कम्पनीले यी अधिकांश कम्पनीको रेटिङ केयर नेपालमार्फत् गर्दै आएका छन् ।

नियम विपरित कार्य गर्दै आएको केयर रेटिङले हालै मात्रै कमला रोलिङ मिल्स प्रालिको रेटिङ गरेको छ । कम्पनीले २०२२ को डिसेम्बरमा मात्रै रेटिङ गरेर अल्पकालीन कर्जाका लागि ‘ए थ्री’ रेटिङ दिएको छ ।

त्यस्तै, सन् २०२२ को जुलाईमा एड्भान्स अटोमोबाइल प्रालिको गरेको थियो । जसमा कम्पनीले ‘ए फोर’ रेटिङ दिएको थियो । त्यस्तै, केयरले गत फेब्रअरीमा मैनावती स्टिल उद्योगको रेटिङ गर्दै दीर्घकालीन कर्जामा ‘ट्रिपल बी माइनस’ र अल्पकालीन कर्जाका लागि ‘ए थ्री’ रेटिङ दिएको थियो ।

अर्को कम्पनी ग्लोबल ट्रेडिङ कन्सर्न प्रालि र घोराही सिमेन्ट उद्योग लिमिटेडको पनि गत जुलाईमा रेटिङ गरेर दीर्घकालीन कर्जामा ‘ट्रिपल बी माइनस’ र अल्पकालीन कर्जाका लागि ‘ए थ्री’ रेटिङ दिएको पाइन्छ ।

सन् २०२२ को जुनमा नै रेटिङ गरेको अर्को कम्पनी युनाइटेड डिस्ट्रिब्यूटरले (नेपाल) प्रालिले भने अल्पकालीन कर्जाका लागि ‘ए टु’ रेटिङ पाएको थियो ।

सन् २०२२ को जनवरीमा ग्रीन भेन्चर्स लिमिटेडले ‘डबल बी’, अगस्टमा यति ब्रुअरी प्रालिले दीर्घकालीन कर्जाका लागि ‘ट्रीपल बी’ र अल्पकालीन कर्जाका लागि ‘ए थ्री’ र जुलाईमा लाईफ केयर डिस्ट्रिब्यूटर प्रालिले अल्पकालीन कर्जाका लागि ‘ए थ्री’ रेटिङ दिएको थियो ।

सन् २०२२ को जुनमा भीजी अटोमोबाइल प्रालि र पारामाउन्ट मोटर्स प्रालिको रेटिङ गरेर दीर्घकालीन कर्जाका लागि ‘ट्रिपल बी माइनस’ र अल्पकालीन कर्जाका लागि ‘ए थ्री’ रेटिङ दिएको पाइन्छ । साथै, विशाल ग्रुपकै लगानी रहेको एनआइसी बैंकको गत मार्चमा ‘ए’ रेटिङ दिएको थियो ।

आईएमई ग्रुपको केयर रेटिङ गरिएका कम्पनीहरु

विशाल ग्रुपसहित आईएमई ग्रुपको लगानी रहेको केयर नेपालले आईएमई ग्रुपको १९ वटा कम्पनीमध्ये हालसम्म ५ वटा कम्पनीको रेटिङ गरेको पाइएको छ । आईएमईअन्तर्गतको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सन् २०२२ को अगस्टमा रेटिङ गरेको पाइएको छ ।

त्यस्तै, डिस मिडिया नेटवर्कको गत अगस्टमा रेटिङ गरी दीर्घकालीन कर्जाका लागि ‘ट्रिपल बी’ र अल्पकालीन कर्जाका लागि ‘ए थ्री’ रेटिङ दिएको थियो । जसमा कम्पनीले समग्रमा ‘ट्रिपल बी’ रेटिङ पाएको छ ।

अगस्टमा नै गरेको हिमालय पावर पार्टनरले दीर्घकालीन कर्जाका लागि ‘डबल बी’ र अल्पकालीन कर्जाका लागि ‘ए फोर’ रेटिङ दिएको छ । त्यसैगरी , सन् २०२१ मा नाभेम्बरमा माउन्टेन इनर्जी नेपाल लिमिटेडले दीर्घकालीन कजाएका लागि ‘बी प्लस’ र अल्पकालीन कर्जाका लागि ‘ए फोर’ र सन् २०१८ मा हाउथवे फाइनान्स कम्पनी लिमिटेडको रेटिङ गरेको थियो । उक्त विवरण हेर्दा धितोपत्र बोर्डको क्रेडिट नियमावलीमा रेटिङ कम्पनीले कानून विपरीत काम गरेको देखिन्छ ।

आईएमई ग्रुपको केही कम्पनीको रेटिङ भने इक्रा नेपालमार्फत् हुँदै आएको छ ।


अरिष्मा मोक्तान