
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा २ हजार ६७१ भवनमा क्षति पुगेको देखिएको छ ।
सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्यांकन र सार्वजनिक संरचनाको पुननिर्माण योजना तयार गर्न गठित समिति’को प्रतिवेदनले जेनजी प्रदर्शनका क्रममा उक्त संख्यामा भवनमा क्षति पुगेको निष्कर्ष निकालेको हो ।
प्रतिवेदनअनुसार क्षति भएका २ हजार ६७१ भवन मध्ये जम्मा १३० भवन (४.९ प्रतिशत) भवनको मात्र बिमा भएको भेटिएको छ । बिमा गरिएका क्षतिग्रस्त १३० भवन मध्ये सरकारी भवन १९ र निजी भवन १११ रहेको देखिएको छ । बिमाको दावीमा कुल १२१ भवन (प्रक्रियामा ११२, मूल्यांकन नभएको ६, सम्पन्न ३) रहेका प्रतिवेदनमा उल्लेख छ ।
तहगत रूपमा हेर्दा संघअन्तर्गत १७ वटा भवन बिमा गरिएको देखिएको छ, जसमा बिमांक रकम ६६ करोड २५ लाख रुपैयाँ रहेको छ । प्रदेश तहका भवनमा बिमा गरिएको संख्या भने शून्य रहेको छ ।
स्थानीय तहअन्तर्गत २ वटा भवनमा बिमा गरिएको छ, जसको बिमांक रकम १ करोड ५० लाख रुपैयाँ छ । निजी तथा सामुदायिक श्रेणीअन्तर्गत सबैभन्दा धेरै अर्थात् १११ वटा भवन बिमा गरिएको देखिन्छ, जसको कुल बिमांक रकम ३४ अर्ब २७ करोड ९६ लाख रुपैयाँ छ ।
क्षति पुगेकामध्ये संघका १७ भवनको बिमा हुँदा ११०३ भवनको बिमा नभएको देखिएको छ । प्रदेशनको ३०९ भवनमा क्षति हुँदा कुनैको बिमा नभएको, स्थानीय तहको २ वटाको बिमा हुँदा ७०३ वटाको नभएको र निजी तथा सामुदायिक तर्फ १११ भवनको बिमा भएकोमा ४२६ वटा नभएको देखिएको छ ।
यसरी, क्षति पुगेका कुल २६७१ भवनमध्ये १३० को बिमा भएको र २५४१ भवनको बिमा नभएको देखिएको भेटिएको छ । कुल बिमा भएको २६७१ भवनको कुल बिमांक रकम भने ३४ अर्ब ९५ करोड ७० लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।









प्रतिक्रिया