
काठमाडौं । बिमा कम्पनी (बिमक)हरुले बिमालाई अप्ठ्यारोको साथीको रुपमा व्याख्या गर्दै आएका छन् । नागकिरलाई बिमा गराउन प्रोत्साहित गर्नेक्रममा बिमा कम्पनीहरुले बिमालाई ‘फ्रेन्ड्स अफ ब्याड टाइम’को रुपमा लिनुपर्ने बताउँछन् । तर, यो विषयलाई नेपालीको ठूलो हिस्साले नजरअन्दाज गर्ने गरेको छ ।
नेपालमा बाढी पहिरो, भुकम्प, हुलदंगा जस्ता घटनाहरु एकपछि अर्को गर्दै घटिरहे पनि अप्ठ्यारोको साथीको रुपमा लिइने बिमाप्रति भने मानिसको खासै चासो देखिँदैन । बिमालाई सुरक्षाको रुपमा भन्दा पनि बचतको रुपमा मात्रै बुझ्ने र पुँजी खेर जान्छ भन्ने मानसिकताका कारण समाज यसबाट प्राप्त गर्न सक्ने लाभबाट वञ्चित बनेको छ ।
यद्यपि, नेपाली समाजमा हुने घटना र यीनको क्षतिलाई केही मात्रामा मात्रै केलाएर हेर्ने हो भने पनि बिमा साच्चिकै अर्थमा अप्ठ्यारो समयको साथी रहेको पुष्टि हुने देखिन्छ । नेपालमा घटेका पछिल्ला केही ठुला घटना र ती घटनामा भएको क्षतिवापत् बिमा कम्पनीले दिएको दाबी भुक्तानीलाई नियाल्ने भने पनि तपाई हामीलाई बिमा आवश्यक छ भन्ने महसुस हुन टाढा जानु पर्देन ।
बिमा क्षेत्रको नियामक नेपला बिमा प्राधिकरणको तथ्यांकअनुसार पछिल्ला प्रमुख पाँच घटनामा मात्रै बिमा कम्पनीहरुले २५ अर्ब भन्दा बढी दाबी भुक्तानी दिएको देखिन्छ । भुकम्प, राजावादी प्रदर्शनका क्रममा तीनकुनेमा चलेको हुलदंगा, रसुवामा गएको बाढी, गत वर्ष असोज दोस्रो साताको अविरल वर्षाले निम्त्याएको बाढी पहिरो र कोरोना बिमा गरी पाँच प्रमुख घटनामा बिमा कम्पनीले २५ अर्ब बढीको दाबी भुक्तानी दिएका हुन् ।
यी प्रमुख पाँच घटनामा कुल ४० अर्ब हाराहारीको बिमा दाबी पर्दा २५ अर्ब बढीको दाबी भुक्तानी भइसकेको छ भने बाँकी १५ अर्बको दाबी भने अधिकांश भुक्तानीको प्रक्रियामा छन् । साथै, केही दाबी भने भुक्तानी योग्यमा नपरेको पनि छन् । नियामक प्राधिकरणको तथ्यांकअनुसार भुकम्पको बिमामा कुल १६ अर्ब ८६ करोडको दाबी परेकोमा १४ अर्ब ३७ करोड भुक्तानी भइसकेको छ ।
यस्तै, तीनकुने हुलदंगामा ४ करोड २१ लाख रुपैयाँको दाबी परेकामा १ करोड ५८ लाख रुपैयाँ र असोज दोस्रो साताको बाढी–पहिरोको क्षतिमा १२ अर्बको दाबी परेकामा ४ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी भएको छ । विवादमा तानिएका कारण रोकिएर बसेको कोरोना बिमाको पनि ६ अर्ब २१ करोडको भुक्तानी नागरिकले पाउँदा ९ अर्ब ६१ करोडको भने बाँकी छ ।
अर्कोतर्फ, केही समय अगाडि मात्रै गएको रसुवा बाढीको क्षतिमा ९८ करोड ५९ लाख रुपैयाँ बराबरको दाबी परेको छ जसको भुक्तानी प्रक्रिया पनि चलिरहेको छ । यसरी, पछिल्ला पाँच घटनामा सरकार वा नागरिकले बेहोर्नुपर्ने क्षतिको ठुलो हिस्साको जोखिम बिमा कम्पनीले उठाएको देखिन्छ । अर्थात्, बिमा नागरिक अप्ठ्यारोमा पर्दा बिमाले ठुलो सहयोगी बनेर उभिएको छ ।
युनाइटेड अजोड इन्स्योरेन्सका नायब–प्रमुख कार्यकारी अधिकृत (डी–सीईओ) रेना रिजाल बिमालाई आम्दानीको स्रोतको रुपमा भन्दा पनि यसलाई सुरक्षाको रुपमा लिनुपर्ने बताउँछिन् । ‘मलाई अप्ठ्यारो पर्दा बिमा कम्पनीले मद्दत गर्छ भनेर सबैले सोच्न आवश्यक छ । त्यसकारण सबैले आफ्नो, धनसम्पत्तीको बिमा गर्नुपर्छ र अरुलाई पनि गर्न लगाउनुपर्छ,’ रिजाल भन्छिन्, ‘बिमा गर्नेहरुले पनि क्षेति भएन भने आफूले बुझाएको रकम यत्तिकै सित्तै जान्छ भनेर सोच्नु हुँदैन ।’
उनले, भोलिका दिनमा जुनसुकै समयमा जनधनको क्षति हुने समस्या आउन भएकाले क्षति नुहँदा पैसा खेर जान्छ भनने ढंगमा बिमा नगरी बस्न नहुने उनको तर्क छ । बिमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा निर्जीवन बिमा कम्पनीले १६ अर्ब ६२ करोड रुपैयाँ भुक्तानी गरेको तथ्यांक छ ।
निर्जीवन बिमकले सो अवधिमा १ लाख १ हजार ७१३ वटा दाबीको साढे १६ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका हुन् । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को एक वर्षमा भने १ लाख ५१ हजार ८८४ दाबीको १७ अर्ब ९० करोड रुपैयाँ निर्जीवन बिमा कम्पनीले भुक्तानी गरेको तथ्यांक छ । मानिसले बिमालाई महत्व नदिएपनि यो तथ्यांकले बिमा साच्चिकै नागरिकको अप्ठ्यारोको साथी बनेको पुष्टि हुन्छ ।
बिमामा त्याग्नुपर्ने बचतमूखी सोच
नेपालमा बिमाप्रति बचतमुखी सोच छ, जसका कारण जीवन बिमाको अवस्था केही सकारात्मक रहे पनि निर्जीवनतर्फकाअवस्था भने नाजूक छ । अर्थात्, जीवन बिमाको रकम निश्चित् अवधिपछि फिर्ता आउने भएकाले त्यसप्रति नागरिक सकारात्मक देखिन्छन् । तर, निर्जीवनको हकमा भने क्षति भएपछि मात्रै भुक्तानी पाउने भएकाले मानिसले बढी बेवास्ता गर्ने गरेका छन् ।
बिमाको मुख्य उद्देश्य सुरक्षा र जोखिम व्यवस्थापन भए पनि नेपालको सन्दर्भमा यो बचतमुखी धारमै सीमित भएको देखिन्छ । जोखिम व्यवस्थापनको सट्टा भविष्यमा पैसा फिर्ता पाइने योजनाका रूपमा बिमालाई बुझिँदा तुलनात्मकरुपमा जीवन बिमा भन्दा निर्जीवन बिमा बढी ओझेलमा परेको छ ।
नेपालमा बिमा गर्दा यसले सुरक्षा प्रदान गर्छ भन्नुको सट्टा ‘दस वर्षपछि यति प्रतिफल पाइन्छ’ भन्ने सोचले बिमा गर्ने प्रवृत्ति छ । जीवन बिमामा पनि केवल जोखिम वहन गर्ने ‘टर्म इन्स्योरेन्स’ जस्ता बिमाप्रति आकर्षण अत्यन्त न्यून रहेको छ । पछिल्ला वर्षहरूमा बिमा गर्ने संख्यामा उल्लेख्य वृद्धि देखिए पनि वास्तविक बिमा–अर्थात् जोखिम हस्तान्तरणको भावना बोकेको बिमाप्रति भने आकर्षण बढ्न सकेको छैन ।
यसर्थ, बिमालाई पैसाको कारोबार होइन, सुरक्षाको भरपर्दो माध्यम भनेर बुझ्न बिमकहरु सुझाव दिन्छन् । ‘केही समय अगाडि मात्रै हाम्रोमा ठुलो भुकम्प गयो । धेरै घरहरु क्षतिमा पर्दा बिमा गरेकाहरुको दाबी भुक्तानी भयो । अब पनि यस्ता प्राकृतिक प्रकोपहरु आउने सम्भवना छ,’ उनी भन्छिन्, ‘यो विषयलाई मनन गरेर सबैले बिमा गर्नुपर्छ ।’
उनले, बिमालाई ‘फ्रेन्ड्स अफ ब्याड टाइम’को रुपमा बुझ्नुपर्ने बताइन् । अप्ठ्यारो स्थिति जुनसुकै समयमा आउने भएकाले त्यो अप्ठ्यारो स्थिति आउँदा सहयोग गर्ने साथी (बिमा)लाई साथमा राख्नुपर्ने उनको भनाइ छ । बिमाले नागरिकले जीन्दगीभर दुःख गरेर कमाएको सम्पत्ती क्षणमै सकिने स्थितिबाट बचाउने भएकाले यसको महत्व बुझ्न र बुझाउन आवश्यक रहेको रिजाल बताउँछिन् ।
जेनजी प्रदर्शनको सन्देश
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा सरकारी तथा निजी संरचना ध्वस्त भएको अवस्था छ । जेनजी प्रदर्शनका क्रममा मुलुकका महत्त्वपूर्ण सरकारी संरचनाका रुपमा रहेका सर्वोच्च अदालत, जिल्ला अदालत, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय, संसद भवन, सिंहदरवार भित्रका मन्त्रालयसहित अधिकांश सरकारी भवनमा क्षति पुगेको छ । देशैभरका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको सबैजसो भौतिक संरचना ध्वस्त हुँदा निजी भवन तथा सम्पत्तीमा पनि ठुलो क्षति पुगेको छ ।
जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रका व्यवसायीक भवन र सम्पत्तीमा पनि ठूलो नोक्सानी पुगेको देखिन्छ । डेढ दर्जन बढी भाटभटेनी स्टोरहरु, गाडीका शोरुमहरु, हिल्टन होटल, एनसेलको कार्यालय, सिजी इलेक्ट्रोनिक्स जस्ता धेरै ठाउँमा क्षति पुग्दा, धेरै व्यक्तिका निजी घरमा पनि आगलागी तथा तोडफोड भएका छन् । यसरी, ध्वस्त बनेका अधिकांश सरकारी सम्पत्तीको बिमा छैन, जसले गर्दा सबै रकम सरकारले खर्च गरेर पुननिर्माण गर्नुपर्ने देखिन्छ ।
यदि, सरकारी संरचनाको बिमा गरिएको भए, बिमाबाट प्राप्त हुने रकमले पुननिर्माणमा ठुलो सहुलियत प्रदान गर्ने थियो । तर, निजीतर्फका सम्पत्तीको भने बिमा रहेकाले करिब ३० अर्ब हाराहारीको दाबी पर्ने अनुमान बिमा कम्पनीहरुले गरिसकेका छन् । अब, सो क्षतिबाट माथि उठ्नका लागि बिमाबाट प्राप्त हुने भुक्तानीले निजी क्षेत्रलाई धेरै सहयोग गर्ने देखिन्छ ।
यसबाट, निजी क्षेत्रले मात्रै सरकारी सम्पत्तीको पनि बिमा गर्नुपर्ने स्पष्ट सन्देश गएको बिमकहरु बताउँछन् । ‘हाम्रोमा बाढी पहिरो, भुकम्प जस्ता घटनाहरु बारम्बार हुँदा हामीले निजीसम्पत्तीको साथमा सरकारी सम्पत्तीको पनि बिमा गर्नुपर्ने विषय राख्दै आएका थियौं,’ सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)का प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री भन्छन्, ‘तर, यसमा कसैले चासो नदिँदा ठुलो क्षति बेहोर्नुपर्ने स्थिति आएको छ ।’
उनले, भूकम्प र बाढी पहिरोले क्षेति गर्दा बिमा गर्नेक्रम सामान्य बढ्ने भएपनि त्यसले निरन्तरता नपाउने गरेको सुनाउँछन् । अब, जेनजी प्रदर्शनबाट भने सबैले बिमा गर्नुपर्छ भन्ने विषय स्पष्ट बुझ्न जरुरी भएको उनको भनाइ छ । भुकम्पदेखि जेनजी प्रदर्शनसम्मको क्षतिलाई हेरेर सरकार तथा निजी क्षेत्र सबैले बिमा जरुरी छ भन्ने महसुस गर्न सकेमा आगामी दिनमा हुने यस्ता प्रकृतिका घटनाबाट राज्य वा व्यक्तिको सम्पत्तीको क्षति कम हुने बिमा कम्पनीहरुको भनाइ छ ।
पछिल्ला पाँच विपत्तीमा बिमा यसरी बन्यो सहाराः
भुकम्पमा साढे १४ अर्ब दाबी भुक्तानी
२०७२ बैसाख १२ गते गएको बिनासकारी भुकम्पको क्षति पछि बिमा कम्पनीले साढे १४ अर्ब बिमा दाबी भुक्तानी गरेका थिए । नेपाल बिमा प्राधिकरणका अनुसार भुकम्प गएको पाँच वर्षमा अर्थात् २०७७ वैशाखसम्ममा बिमा कम्पनीले कुुल दाबी मध्ये १४ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।
यद्यपि, सो समयसम्ममा दाबी परेको मध्ये ११.६४ प्रतिशत अर्थात् १ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ दाबी भन भुक्तानी हुन बाँकी रहेको थियो । भुकम्प गएपछि अग्नी, मोटर, सामुन्द्रिक, इन्जिनियङ र विविध गरी कुल १६ अर्ब ८६ करोड १७ लाख रुपैयाँ बराबरका १७ हजार ७९६ वटा बिमा दाबी परेको थियो ।
जसमध्ये बिमा कम्पनीहरुले सर्वे गरेर १६ अर्ब २६ करोड ९२ लाख रुपैयाँ बराबरका ११ हजार ६१६ वटा दावीलाई भुक्तानी गर्न योग्य दाबी ठहर गरेका थिए । भुकम्पपछि सबैभन्दा बढी बिमा दाबी अग्नी बिमाको कुल १० अर्ब १७ करोड ६२ करोड रुपैयाँ बराबरको परेको थियो ।
सो समयमा २१ करोड ८० लाख रुपैयाँ बराबरको मोटर बिमा दाबी, कुल १२ लाख रुपैयाँ बराबरको सामुन्द्रिक बिमा दाबी, विविध शिर्षकका कुल ३ अर्ब ५१ करोड १८ लाख रुपैयाँ बराबरको बिमा दाबी र इन्जिनियरिङ बिमाको २ अर्ब ९१ करोड ८६ लाख रुपैयाँको दाबी परेको थियो ।
भुकम्पपछि बिमा दाबी भुक्तानी गर्नु पर्ने कुल १६ अर्ब २६ करोड ९२ लाख मध्ये हालसम्म १४ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । दाबी भुक्तानी भएकोमा पुनर्बिमा कम्पनीबाट ९ अर्ब ८१ करोड ९ लाख रुपैयाँ र बाँकी ४ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ नेपालका बिमा कम्पनीहरुबाट भुक्तानी भएको थियो ।
तीनकुनेको हुलदंगामा नै परेको थियो करिब ५ करोड दाबी
गएको चैत १५ गते पनि राजावादीको हुलदंगा चलेको थियो । त्यो समयमा तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड र आगजनीबाट करोडौं रुपैयाँ बराबरको क्षति पुगेको थियो । राजावादीका प्रदर्शनकारीले तीनकुने क्षेत्रमा निजी कार्यालय सञ्चालन भएका घर, नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, माओवादीको पार्टी कार्यालय, भाटभटेनीलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरेका थिए ।
राजावादीको हुलदंगामा भएको क्षतिमा करिब ४ करोड २१ लाख रुपैयाँको बिमा दाबी परेको थियो । बिमा प्राधिकरणमा जेठ २८ गतेसम्ममा परेको तथ्यांकअनुसार राजावादीको हुलदंगामा भएको क्षतिमा ५० वटा बिमा दाबीमार्फत ४ करोड २१ लाख ८० हजार रुपैयाँ बराबर बिमा दाबी परेको थियो ।
जसमा २४ वटा निजी गाडी, २१ वटा घर तथा व्यवसाय (सम्पति), १ वटा इन्जिनियरिङ तथा ठेकेदार जोखिम र अन्य २ वटा गरी कुल ५० वटा दाबी परेको प्राधिकरणको तथ्यांक छ । उक्त समयमा सबैभन्दा बढी दाबी सम्पति बिमामा परेको थियो ।
प्राधिकरणका अनुसार २ करोड ५३ लाख ८८ हजार रुपैयाँ बराबरको सम्पत्ती बिमाको दाबी परेको थियो । मोटर बिमामा १ करोड ३५ लाख, इन्जिनियरिङ तथा ठेकेदार जोखिमको १ दाबीमा ५ लाख र विविधमा १० लाख रुपैयाँ बराबरको दाबी परेको थियो । यसअनुसार जेनजी प्रदर्शनको क्षतिमा पनि ठूलो रकमको दाबी पर्न सक्ने आँकलन प्राधिकरणले गरेको छ ।
प्राधिकरणको तथ्यांकअनुसार २०८२ जेठ २९ सम्ममा १ करोड ५८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको देखिन्छ । यस्तै, २ करोड ५५ लाख रुपैयाँ बराबरको बिमा दाबी रकम भने भुक्तानी हुन बाँकी रहेको प्राधिकरणले पछिल्लो तथ्यांकमा उल्लेख गरेको छ ।
रसुवा बाढीमा झण्डै १ अर्बको दाबी
गत असार २३ गते रसुवामा आएको भीषण बाढी पहिरोका करण भएको क्षतिको बिमामा झन्डै १ अर्ब रुपैयाँको दाबी परेको छ । बिमा प्राधिकरणको साउन २३ गतेसम्मको तथ्यांकअनुसार ११ वटा बिमा कम्पनीमा ९८ करोड ५९ लाख ८२ हजार १ सय ५६ रुपैयाँ बराबरको ७८ वटा दाबी परेको थियो ।
कोरोना बिमाकै ६ अर्ब २१ करोड भुक्तानी
लामो समयदेखि विवादमा परेको र ठूलो रकम बराबरको बिमा दाबीको विषय सुल्झिन नसकेको भएपनि कोरोना बिमाबाट ६ अर्ब बढीको सहुलियत भने नागरिकले प्राप्त गरिसकेका छन् । विश्वभर कोरोना महामारी फैलिँदा नेपालमा तत्कालीन अर्थमन्त्री अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेटमा कोरोनाको बिमा हुने व्यवस्था गरेका थिए ।
खतिवडाले बजेट वक्तव्यमा कोरोना बिमामा ५० प्रतिशत अनुदान दिने र राष्ट्रसेवक कर्मचारीको निःशुल्क कोरोना बिमा गर्ने घोषणा गरे । घोषणाअनुरुप कोरोना बिमा गराउन भन्दै ‘कोरोना बिमा मापदण्ड, २०७७’ जारी भयो र त्यही मापदण्डभित्र रहेर कोरोना बिमाको थालनी भएको थियो ।
बिमा प्राधिकरणको तथ्यांकअनुसार हालसम्म कोरोना बिमामा परेको कुल दाबीमध्ये ६ अर्ब २१ करोड ७ लाख रुपैयाँ ६६ हजार २ सय ९० जनालाई भुक्तानी गरिएको छ । जसअनुसार अझै ९८ हजार ७ सय ६९ वटा दाबीबापत ९ अर्ब ६१ करोड १४ लाख रुपैयाँ दिन बाँकी छ ।
फेक दाबी परेको भन्दै विवादमा धकेलिएको कोरोना बिमाको भुक्तानीलाई लिएर धेरै नागरिक असन्तुष्ट छन् । यद्यपि, ६ अर्ब २१ करोडको भुक्तानी भने बिमा कम्पनी, सरकार र प्राधिकरणबाट भइसकेको छ । यदि, बिमा सुरु नगरिएको भए, सो रकम बराबरको सहुलियत पनि नागरिकले प्राप्त गर्ने अवस्था बन्दैन थियो ।
०८१ असोज दोस्रो साताको बाढी–पहिरोको क्षतिमा १२ अर्ब दाबी
गत वर्ष अर्थात् २०८ असोज १० देखि १२ सम्म परेको अविरल भारी वर्षाका कारण बाढी–पहिरोबाट ठूलो जनधनको क्षति भएको थियो । त्यस समयमा सडक लगायत भौतिक संरचना साथै व्यक्तिगत सम्पत्तिमा ठूलो क्षति पुगेको थियो । बागमती प्रदेशका विभिन्न ठाउँ तथा उपत्यकामा नै नख्खु खोलाले ललितपुरमा ठूलो क्षति पु¥याएको थियो ।
यस बाढी पहिरोका कारण काभ्रेपलाञ्चोकमा रोशी खोलाको आधार क्षेत्र पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा भौतिक संरचना र कृषि तथा पशु चौपायामा ठूलो क्षति पुगेको थियो । काठमाडौं र भक्तपुरका बागमती तथा त्यसका सहायक नदीका करिडोर र आसपास क्षेत्रमा डुबानका कारण त्यस क्षेत्रमा सञ्चालन भएका व्यापार–व्यवसायमा क्षति पुगेको थियो ।
बिमा प्राधिकरणले अध्यावधिक गरेको २०८२ जेठ २८ गतेसम्मका विवरणअनुसार १४ वटा निर्जीवन बिमक र ४ वटा लघु निर्जीवन बिमकमा १२ अर्ब बढीको दाबी परेको छ । तथ्यांकअनुसार १८ वटा कम्पनीमा ३ हजार ७१२ वटा दाबी परेको छ । कम्पनीहरुले ती दाबीको १२ अर्ब २७ करोड ५७ लाख ५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ ।
प्राधिकरणकै तथ्यांकअनुसार ती बिमा कम्पनीहरुले ३ हजार ६५ वटा दाबीको ४ अर्ब ८७ करोड ४२ लाख ५२ हजार रुपैयाँ भुक्तानी भएको छ । तर, कम्पनीहरुले अझै ६९६ वटा दाबीको ६ अर्ब ६९ करोड ४२ लाख १ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको तथ्यांक प्राधिकरणसँग छ ।







प्रतिक्रिया