
काठमाडौं । दशकौं बितिसक्दा पनि नेपाली बिमा क्षेत्र बचत र लगानीमुखी अवस्थाबाट माथि उक्लिन सकेको छैन । बिमाको मुख्य उद्देश्य सुरक्षा र जोखिम व्यवस्थापन भए पनि नेपालको सन्दर्भमा यो बचतमुखी धारमै सीमित भएको देखिन्छ । जोखिम व्यवस्थापनको सट्टा भविष्यमा पैसा फिर्ता पाइने योजनाका रूपमा बिमालाई बुझिँदा यसको विकास मर्मअनुरूप हुन सकेको छैन ।
नेपालमा बिमा गर्दा यसले सुरक्षा प्रदान गर्छ भन्ने कुराको सट्टा ‘दस वर्षपछि यति प्रतिफल पाइन्छ’ भन्ने सोचले बिमा गर्ने प्रवृत्ति रहेको छ । केवल जोखिम वहन गर्ने ‘टर्म इन्स्योरेन्स’ जस्ता बिमाप्रति आकर्षण अत्यन्त न्यून रहेको तथ्यांकले देखाउँछ । सर्वसाधारणले बिमालाई बचतको रूपमा बुझ्दा बिमा कम्पनीहरूले पनि आफ्नो बिमालगानी (प्रोडक्ट) त्यसैअनुसार मात्र ल्याउने गरेका छन् ।
पछिल्ला वर्षहरूमा बिमा गर्ने संख्यामा उल्लेख्य वृद्धि देखिए पनि वास्तविक बिमा–अर्थात् जोखिम हस्तान्तरणको भावना बोकेको बिमाप्रति भने आकर्षण बढ्न सकेको छैन । बिमालाई पैसाको कारोबार होइन, सुरक्षाको भरपर्दो माध्यम भनेर बुझ्ने जनसंख्या न्यून भएका कारण यस्तो अवस्था सिर्जना भएको हो । यसले नेपालमा बिमा ज्ञान र जनचेतना अझै कमजोर रहेको देखाउँछ ।
जीवन बिमक संघका अध्यक्ष पोषकराज पौडेलका अनुसार नेपालको सामाजिक तथा सांस्कृतिक संरचनाका कारण बिमालाई सुरक्षाभन्दा पनि बचतका रूपमा बुझ्ने प्रवृत्ति छ ।
‘हाम्रोमा हजुरबुबादेखि नातिनातिनासम्म एउटै छानामुनि बस्ने चलन छ,’ उनी भन्छन्, ‘अचानक केही भएमा अगाडिका पुस्ताले जोडेका सम्पत्ति बेचेर काम चलाइन्छ । यस्तो सामाजिक संरचना रहेसम्म वास्तविक बिमाको विस्तार सम्भव छैन ।’
नेपालमा अझै पनि छोराछोरीका लागि सम्पत्ति जोड्ने प्रवृत्ति बलियो भएकाले ९० प्रतिशतभन्दा बढी बिमा योजनाहरू बचतमुखी रहेको पौडेलको भनाइ छ । ‘हामीकहाँ आवश्यक पर्दा सापटी चल्छ, अर्को पुस्ताका लागि सम्पत्ति जोगाउने गरिन्छ,’ उनले थपे, ‘तँलाई पर्दा म छु, मलाई पर्दा तँ छस् भन्ने भावना नै बचतमुखी बिमाको कारण बनेको छ ।’
वास्तवमा बिमा भनेको बिमितको जोखिम बिमक (बिमा कम्पनी) लाई हस्तान्तरण गर्ने प्रक्रिया हो । बिमितले निश्चित रकम तिरे बापत, बिमकले बिमितको जीवन, सम्पत्ति वा दायित्वको वित्तीय क्षतिपूर्ति दिन्छ । बिमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण साधन हो, जुन बुझाउने र बुझ्ने कार्य हाम्रोमा पर्याप्त रूपमा हुन सकेको छैन ।
नेपाल बिमक संघका अध्यक्ष विरेन्द्र वैदवारका अनुसार, जीवन बिमा मात्र नभएर निर्जीवन बिमाको हकमा पनि सुरक्षाभन्दा बचतमुखी सोच हावी छ ।
‘हाम्रोमा बिमालाई सुरक्षा होइन, सम्पत्ति नष्ट गर्ने कुरा ठानिन्छ,’ वैदवार भन्छन्, ‘नागरिकलाई वास्तविक बिमामा आकर्षित गर्न बिमाकर्मीहरू अझै प्रष्ट रूपमा बुझाएर अघि बढ्न आवश्यक छ ।’
उनको तर्कमा, जबसम्म बिमालाई सुरक्षाका रूपमा बुझिँदैन, बिमित वा बिमक कसैलाई पनि दीर्घकालीन लाभ पुग्दैन ।
हाल नेपाली बिमकहरूले निकै पुराना तथा म्याच्युरिटी हुने किसिमका योजनाहरू मात्र बिक्री गर्दै आएका छन् । बजारमा यस्ता योजनाहरूको बढी माग भएकाले नयाँ जोखिम व्यवस्थापनमुखी योजनाहरू प्रवेश गर्न नसकेको उनीहरूको भनाइ छ । बिमा गर्नु अघि नै ‘कति पैसा कहिले फिर्ता हुन्छ’ भन्ने हिसाबले योजना रोजिने हुँदा बिमालाई बचतकै रूपमा हेरिने प्रवृत्ति बलियो छ ।
विकसित देशहरूमा भने बिमा सुरक्षा प्रदान गर्ने माध्यमका रूपमा मात्र गरिन्छ ।
‘नेपालमा फोर्स सेभिङका आधारमा मात्रै बिमा चलिरहेको छ । सुरक्षा र जोखिम व्यवस्थापनका प्रोडक्टहरू बजारमा निकै न्यून छन्,’ बिमा विज्ञ रमेशकुमार भट्टराई भन्छन्, ‘बिमा सुरक्षाका लागि हो र अनिवार्य गर्नुपर्छ भन्ने चेतना फैलाएर मात्र हामी अगाडि बढ्न सक्छौं ।’
भट्टराई नेपालमा केहि परे एकले अर्कोलाई सहयोग गर्ने प्रचलनले व्यक्तिगत सुरक्षा बिमा गर्नैपर्छ भन्ने मान्यता नबनिसकेको बताउँछन् ।
बिमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीका अनुसार जोखिम व्यवस्थापनतर्फ नेपाली बिमा विस्तारै अग्रसर हुँदै गएको छ । ‘अहिले टर्म पोलिसी लिनेक्रम बढ्दो छ,’ उनी भन्छन्, ‘बजारको माग अनुसार बिमकहरूले योजना ल्याउने भएकाले अझै पनि बचतमुखी योजनाहरू बढी देखिन्छन् । तर, हामी सुधारको चरणमा छौं ।’
उनका अनुसार बिमा बजार विस्तार हुँदै गएकाले जोखिम व्यवस्थापनमुखी योजनाहरूमा पनि सुधार आउने सम्भावना छ ।
बिमा अवधिभित्र बिमितको मृत्यु भएमा मात्र क्षतिपूर्ति दिने ‘लघु म्यादी जीवन बिमा’ जस्ता योजनाले बिनाअवधि घटना नभएमा बिमितले केही नपाउने हुन्छ । तर, यस्ता योजनामा आकर्षण अझै न्यून छ ।
बिमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त)सम्म ५३ लाख ६४ हजार जीवन बिमालेख (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बिमालेख) जारी भएका छन् ।
यस्तै, ६५ लाख ६७ हजार म्यादी र लघु जीवन बिमालेख तथा २४ लाख ६८ हजार वैदेशिक बिमालेख जारी भएका छन् ।
प्राधिकरणका अनुसार जीवन बिमा कम्पनीहरूले चैत मसान्तसम्म १ करोड ४३ लाख ९९ हजार सक्रिय बिमालेख कायम गरेका छन् ।

यसै अवधिसम्म सावधिक जीवन बिमाको सक्रिय संख्या २० लाख ६९ हजार, अग्रिम भुक्तानी सावधिक ४ लाख ४५ हजार, रुपान्तरित सावधिक ५ लाख ३७ हजार, बालबच्चासम्बन्धी सावधिक १० लाख २४ हजार, वैदेशिक रोजगार म्यादी २४ लाख ६८ हजार, आजीवन १ लाख ७७ हजार, एकल बिमाशुल्क ८४ हजार, म्यादी जीवन ३३ लाख ५४ हजार, लघु जीवन ४१ लाख १४ हजार, र अन्य जीवन बिमा १ लाख २४ हजार रहेको छ ।
बिमा शुल्क संकलनको हिसाबले चैत मसान्तसम्म जीवन बिमा कम्पनीहरूले १ खर्ब २७ अर्ब ३ करोड रुपैयाँ आर्जन गरेका छन्।

यसमा सावधिक जीवन बिमाबाट ४८ अर्ब ७६ करोड, अग्रिम भुक्तानी सावधिकबाट २६ अर्ब ६६ करोड, रुपान्तरित सावधिकबाट १५ अर्ब ६९ करोड, बालबच्चासम्बन्धी सावधिकबाट १९ अर्ब ४३ करोड, वैदेशिक रोजगार म्यादीबाट २ अर्ब ५८ करोड, आजीवन जीवन बिमाबाट ३ अर्ब २९ करोड, एकल बिमाशुल्कबाट ४ अर्ब ९१ करोड, म्यादी जीवनबाट १ अर्ब ११ करोड, लघु जीवनबाट २ अर्ब ११ करोड र अन्य जीवन बिमाबाट २ अर्ब ४४ करोड संकलन भएको छ ।
यसरी हेर्दा, नेपाली बिमा क्षेत्र अझै पनि बचतमुखी योजनामै केन्द्रीत भएर अगाडि बढिरहेको प्रस्ट हुन्छ ।







प्रतिक्रिया