अबुधाबीमा घाइते भएका सातै जना नेपाली खतरामुक्त, ६ जना डिस्चार्ज

133
Shares


काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित अब्जान क्षेत्रमा भएको घटनामा घाइते भएका सातै जना नेपाली नागरिकहरू अहिले खतरामुक्त रहेका छन्।

नेपाली राजदूतावास अबुधाबीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घाइते नेपालीहरूको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो।

दूतावासका अनुसार गत अप्रिल ३ मा भएको सो घटनामा घाइते भएका ७ नेपालीमध्ये ६ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

गम्भीर घाइते भनिएका बाँकी एक जनाको अहिले अस्पतालमा उपचार भइरहेको भए पनि उनको अवस्था खतरामुक्त रहेको र छिट्टै डिस्चार्ज हुने सम्भावना रहेको दूतावासले जनाएको छ।

घटनालगत्तै दूतावासले घाइते भएका सातै जनासँग टेलिफोनमार्फत र चार जनासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो। घाइतेहरूको उपचारमा यूएई सरकारले आवश्यक सहयोग गरिरहेको र दूतावासले निरन्तर समन्वय र सहयोग गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

इरानी क्षेप्यास्त्र निस्तेज (इन्टरसेप्सन) पार्ने क्रममा खसेको अवशेषसहितको टुक्राले यूएईमा ६ नेपाली सामान्य घाइते र अर्का एक नेपाली गम्भीर घाइते भएका थिए।

गल्फ न्युजका अनुसार आबुधाबीको अजबान क्षेत्रमा यो घटना भएको हो। यूएईको वायुसेनाको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र र ड्रोन निस्तेज पार्नेक्रममा त्यसका टुक्राहरु उनीहरु भएको ठाउँमा खस्दा यो घटना हुनपुगेको हो।

अबुधाबी मिडिया अफिसले जनाएअनुसार ७ नेपाली र ५ भारतीय घाइते छन्। जसमा एक नेपाली गम्भीर घाइते भएका थिए ।

मध्यपूर्वमा पछिल्लो समय विकसित भएको तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै राजदूतावासले यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई विशेष सचेत रहन आग्रह गरेको छ। दूतावासले यूएई सरकारद्वारा जारी गरिएका सुरक्षासम्बन्धी मार्गदर्शन र सूचनाहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।

साथै, सामाजिक सञ्जालमा आउने अपुष्ट खबरहरूको पछि नलाग्न र केवल आधिकारिक स्रोतबाट प्रकाशित सूचनाहरूलाई मात्र विश्वास गर्न समेत दूतावासले सबैमा अपिल गरेको छ।