वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ १० हजारभन्दा बढी नतिर्नुहोस्, ठगी भए फोन गर्नुहोस् : श्रममन्त्री साह

1.1k
Shares

काठमाडौं । साउदी, कतार, कुवेत, बहराइन, ओमान, युएई र मलेसिया जान चाहने नेपाली श्रमिकहरूका लागि सरकारले पुनः ‘फ्रि भिसा, फ्रि टिकट’ को व्यवस्थालाई कडाइ गरेको छ।

यदि कुनै म्यानपावरले सेवा शुल्कबापत १० हजार रुपैयाँभन्दा बढी मागेमा श्रमिकले तत्काल उजुरी गर्न सक्नेछन्।

त्यसको लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले हेलो सरकारको ११११ र श्रमधान कल सेन्टरको ११४१ टोल फ्रि नम्बर सार्वजनिक गरेका छन् ।

श्रममन्त्री दीपककुमार साहले श्रमिकहरूलाई नडराई आफ्नो गुनासो राख्न आग्रह गरेका छन्। सरकारले विमानस्थलमै श्रमिकसँग शुल्कबारे सोधपुछ गर्ने संयन्त्र बनाएको छ।

म्यानपावरले बढी शुल्क लिएको प्रमाण भेटिएमा विभागले सम्बन्धित कम्पनीलाई कारबाही गर्ने र श्रमिकको रकम फिर्ता गराउने प्रतिबद्धता जनाएको छ। २०७२ सालदेखि लागू भएको यो नीतिलाई वर्तमान सरकारले ‘विशेष मिशन’ का रूपमा कार्यान्वयनमा ल्याएको हो।

मुख्य गन्तव्य मुलुकहरूका लागि १० हजार रुपैयाँ मात्र सेवा शुल्क तोकिए पनि व्यवहारमा म्यानपावरहरूले लाखौँ असुल्दै आएको गुनासो पुरानै हो। यस पटक भने विभागले मलेसिया जाने श्रमिकको विवरण, उनीहरूको सम्पर्क नम्बर र बुझिलिएको शुल्कको प्रमाणसहित उपस्थित हुन म्यानपावर कम्पनीहरूलाई पत्राचार गरेको छ।

मन्त्रालयले विमानस्थलमा सोधपुछ गर्ने र कल सेन्टरमार्फत गुनासो सुन्ने प्रक्रिया थालेपछि वैदेशिक रोजगार क्षेत्रमा केही तरंग उत्पन्न भएको छ। नीति पुरानै भए पनि कार्यान्वयनमा देखाइएको यो तत्परताले श्रमिक शोषण रोकिने अपेक्षा गरिएको छ।