निर्जीवन बिमा व्यवसायः पछिल्ला ३ वर्षको तथ्यांकमा कस्तो छ क्षेत्रगत व्यापार स्थिति ?

154
Shares

काठमाडौं । आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्मको तीन वर्षको अवधिमा निर्जीवन बिमा कम्पनीले कुल १ खर्ब २६ अर्ब ५९ करोड रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेका छन् । उक्त तीन वर्षको अवधिमा अधिकांश क्षेत्रको व्यवसाय बढ्दा कृषि तथा बाली बिमाबाट संकलन हुने कुल बिमाशुल्क भने निरन्तर संकुचनमा गइरहेको छ ।

नेपाली निर्जीवन बिमा कम्पनीले मुख्य गरी मोटर बिमा, सम्पत्ती बिमा र इन्जिनियरिङ बिमाबाट सबैभन्दा बढी व्यापार भित्र्याउने गर्दछन् । पछिल्ला वर्षहरुमा सरकारले नै कृषि–बाली तथा पशुपन्छी बिमालाई प्राथमिकता दिएसँगै बिमा कम्पनी पनि केही मात्रामा यस क्षेत्रप्रति केन्द्रीत हुँदै आएका छन् ।

यद्यपि, पछिल्लो तीन वर्षको तथ्यांकले भने कृषि बिमाको तर्फबाट निर्जीवन बिमकले संकलन गर्ने कुल बिमाशुल्कमा उच्च गिरावट आएको देखिन्छ । अन्य क्षेत्रको व्यवसायको तुलनामा बिमा कम्पनीले आर्जन गरेको कृषि तथा बाली बिमातर्फको बिमाशुल्क संकलन भने निरन्तर घट्दोक्रममा देखिएको हो ।

आर्थिक वर्ष २०७९/८० मा निर्जीवन बिमा कम्पनीले कृषि तथा बाली बिमाबाट २ अर्ब ३५ करोड रुपैयाँ बराबरको कुल बिमाशुल्क आर्जन गरेका थिए । त्यसपछि, आर्थिक वर्ष २०८०/८१ मा आउँदा करिब २७ करोडले घट्दै उक्त बिमाशुल्क आर्जन २ अर्ब ८ करोडमा खुम्चियो ।

कृषि बिमामार्फत् निर्जीवन बिमकको व्यवसाय खुम्चिनेक्रम यतिमै मात्र सीमित भएन । आर्थिक वर्ष २०८१/८२ मा करिब थप ३५ करोडले घट्दै यस क्षेत्रको व्यवसाय १ अर्ब ७३ करोडमा खुम्चियो । आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्मको तीन वर्षको अवधिमा भने कृषि बिमाबाट बिमा कम्पनीले कुल ६ अर्ब १७ करोड रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० मा सम्पत्ती बिमाबाट ९ अर्ब रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेका बिमा कम्पनीले आव २०८०/८१ मा १० अर्ब ३२ करोड र आव २०८१/८२ मा ११ अर्ब ४६ करोड रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको देखिन्छ । निर्जीवन बिमा कम्पनीले यस अवधिमा सम्पत्ती बिमाबाट कुल ३० अर्ब ८० करोड ३८ लाख रुपैयाँ बराबरको कुल बिमाशुल्क संकलन गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० मा मोटर बिमाबाट बिमा कम्पनीले १३ अर्ब ३० करोड रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेकोमा आव २०८०/८१ मा यस क्षेत्रबाट १२ अर्ब ५६ करोड र आव २०८१/८२ मा १२ अर्ब ९० करोड रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको छन् । उक्त तीन वर्षमा निर्जीवन बिमा कम्पनीले मोटर बिमाबाट कुल ३८ अर्ब ७७ करोड ३७ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको गरेका छन् ।

१४ निर्जीवन बिमा कम्पनी र चार लघु निर्जीवन बिमा कम्पनीको व्यापारको मुख्य क्षेत्र मोटर बिमा तथा सम्पत्ती बिमा रहेकाले यस क्षेत्रबाट संकलन हुने बिमाशुल्क अन्य क्षेत्रको तुलनामा धेरैले बढी छ । तीन वर्षमा निर्जीवन बिमा कम्पनीले संकलन गरेको कुल १ खर्ब २६ अर्ब ५९ करोड बिमाशुल्क मध्येमा ६९ अर्ब ५७ करोड रुपैयाँ बराबरको बिमाशुल्क सम्पत्ती र मोटर इन्स्योरेन्सको छ ।

आर्थिक वर्ष २०७९/८० मा बिमा कम्पनीले सामुन्द्रिक बिमाबाट १ अर्ब ९८ करोड, आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ९४ करोड र गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ५६ करोड गरी तीन वर्षमा कुल ६ अर्ब ४९ करोड बिमाशुल्क प्राप्त गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० मा इन्जिनियरिङ बिमाबाट ७ अर्ब ७१ करोड, आव २०८०/८१ मा ७ अर्ब १० करोड र आव २०८१/८२ मा ७ अर्ब ९८ करोड गरी तीन वर्षमा कुल २२ अर्ब २५ करोड रुपैयाँ बराबरको बिमाशुल्क निर्जीवन बिमा कम्पनीले प्राप्त गरेको तथ्यांक प्राधिकरणसँग छ ।

यसका अलावा, हवाई, लघु र विविधि क्षेत्रको बिमाशुल्क पनि बढेको देखिन्छ । उक्त तीन वर्षमा हवाई बिमामार्फत् बिमा कम्पनीले ६ अर्ब ८७ करोड, विविध बिमामार्फत् १३ अर्ब ८६ करोड र लघु बिमामार्फत् कुल १ अर्ब ३५ करोड रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेका छन् ।

यसरी, सरकारले प्रिमियममा छुट दिँदै आएको र प्राथमिकतामा राखेको कृषि तथा बाली बिमातर्फको व्यवसाय नै संकुचित बनेको देखिन्छ । युनाइटेड अजोड इन्स्योरेन्सका नायब–प्रमुख कार्यकारी अधिकृत (डी–सीईओ) रेना रिजाल नागरिकको आर्थिक स्थिति नै कमजोर रहेकाले यसप्रति आकर्षण बढ्न नसकेको बताउँछिन् ।

‘नागरिकको आर्थिक स्थिति निकै कमजोर छ यसले गर्दा उहाँहरुलाई बिमा गर्न सहज छैन । आर्थिक स्थिति सुधार नभएसम्म जति नै कुरा गरेपनि बिमा बजार विस्तार कार्य कठिन हुन्छ,’ रिजालले भनिन्, ‘झन्, निर्जीवन बिमामा त घटना नघटी भुक्तानी नहुने भएकाले यसलाई लगानी खेर जान्छ भन्ने हिसाबमा मानिसले बुझ्ने गर्दछन् ।’

उनले जीवन बिमामा निश्चित समयमा केही प्रतिफलसहित लगानी फिर्ता आउने भएकाले मानिस बढी आकर्षित भएपनि निर्जीवनमा भने त्यस्तो अवस्था नरहेको बताइन् । कृषि पेसामा आवद्ध मानिसलाई आधारभूत आवश्यक्ता पूरा गर्न नै धौधौ पर्ने भएकाले उहाँहरुलाई बिमाको दायरमा ल्याउन सहज नभएको उनको भनाइ छ ।

बिमाले वर्षौंको मिहिनेतले जोडेको सम्पत्तीको क्षति न्यूनिकरणमा सहयोग गर्ने भएकाले यसतर्फ नागरिक अग्रसर हुनुपर्ने उनले बताइन् । तथापि, नेपाली बजारमा सो किसिमले बिमा बजार विस्तार भएको देखिँदैन । केही मात्रामा भने हरेक वर्ष निर्जीवन बिमा कम्पनीले संकलन गर्ने कुल बिमाशुल्क बढ्दो मात्रामा रहेको प्राधिकरणको तथ्यांक छ ।

बिमा प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बिमा कम्पनीहरूले आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्मको अवधिमा कुल १ खर्ब २६ अर्ब ५९ करोड ९ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेका छन् । तथ्यांकअनुसार, आर्थिक वर्ष २०७९/८० मा निर्जीवन बिमा कम्पनीहरूले कुल ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेका थिए ।

त्यसबाट आर्थिक वर्ष २०८०/८१ मा आउँदा निर्जीवन बिमा कम्पनीले कुल ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरे । गत आर्थिक वर्ष २०८१/८२ मा भने निर्जीवन बिमा कम्पनीको बिमाशुल्क बढेर ४४ अर्ब अर्ब ९१ करोड २६ लाख रुपैयाँ पुगेको तथ्यांक प्राधिकरणसँग छ ।

हुन, त निर्जीवन बिमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ मा २७ अर्ब ५६ करोड कुल बिमाशुल्क संकलन गरेकोमा त्यसबाट क्रमशः बढ्दै आव २०७७/७८ मा २८ अर्ब ९२ करोड, आव २०७८/७९ मा ३६ अर्ब १२ करोड रुपैयाँ बराबरको कुल बिमाशुल्क संकलन गरेको देखिन्छ ।

चालु आर्थिक वर्षको असोजसम्मको व्यवसाय स्थिति

चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउनदेखि असोज)सम्मको तीन महिनामा भने निर्जीवन बिमा कम्पनीहरुले १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेका छन् । बिमा प्राधिकरणको तथ्यांकअनुसार १४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा लघु निर्जीवन बिमा कम्पनीले १२ अर्ब ९२ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुन् ।

असोजसम्म निर्जीवन बिमकहरुले मोटर बिमामार्फत सर्वाधिक व्यापार भित्र्याएका छन् । मोटर बिमाबाट कम्पनीहरुले ४ अर्ब २६ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् जसमा कुल व्यापारमा मोटर बिमाको हिस्सा ३२.९८ प्रतिशत छ ।

निर्जीवन बिमा कम्पनीको दोस्रो धेरै व्यापार आर्जनको क्षेत्र भने सम्पत्ति बिमामा रहेको छ । निर्जीवन बिमा कम्पनीले सम्पत्ति बिमालेख जारी गरेर ३ अर्ब ५४ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् जुन कुल व्यापारको २७.४५ प्रतिशत हिस्सा हो ।

बिमा कम्पनीले व्यापार इन्जिनियरिङ र ठेक्का बिमाबाट १ अर्ब ६० करोड रुपैयाँ, विविध बिमाबाट १ अर्ब ४८ करोड, सामुद्रिक बिमाबाट ७४ करोड ५ लाख रुपैयाँ, हवाई बिमाबाट ५१ करोड ६९ लाख रुपैयाँ, कृषि तथा बाली बिमामार्फत ४९ करोड ९३ लाख रुपैयाँ र लघु बिमाबाट २७ करोड ३२ लाख रुपैयाँ कुल बिमाशुल्क प्राप्त गरेका छन् ।

कुल व्यापारमा विविधको हिस्सा ११.४६ प्रतिशत, सामुद्रिकको ५.७३ प्रतिशत, हवाईको ४ प्रतिशत, कृषि तथा बालीको ३.८६ प्रतिशत र लघुको २.११ प्रतिशत छ । सरकारले मोटर बिमालाई अनिवार्य गरेको छ जसले गर्दा मोटर बिमागर्ने क्रम बढ्दै जाँदा निर्जीवन बिमा कम्पनीको मुख्य व्यवसाय मोटर बिमा बनेको हो ।

सडक दुर्घटना, बाढी, चोरी लगायतका कारणबाट मोटरमा हुने क्षतिलाई न्यून गर्न मोटर बिमा गर्ने गरिन्छ । मोटर खरिद गरेपछि तेस्रो पक्ष बिमा अनिवार्य गरेका कारण पनि मोटर बिमाको हिस्सा बढी हुन गएको जुन निर्जीवन बिमा कम्पनीको व्यवसायका लागि महत्वपूर्ण सावित हुँदै आएको छ ।

यस्तै, बाढीपहिरो, भुकम्प तथा विभिन्न हुलदंगा लगायतका कारण सम्पत्ति बिमामा पनि मानिसहरु आकर्षित हुने गर्दछन् । कर्जा लिएर बनाइने सम्पत्तिको पनि कर्जा बराबरको बिमा गरिँदै आएको यसले पनि सम्पत्ती बिमातर्फको व्यवसाय बढाउन मद्दत गरेको छ ।