भाटभटेनीमा ५ लाखलाई रोजगारी दिने र आईपी‌ओ ल्याउने मीनबहादुरको योजना धुमिल (भिडियो)

315
Shares

काठमाडौं । भाटभटेनीका सञ्चालक मिनबहादुर गुरूङको एउटै गल्ती थियो, ठूलो बिजनेस गर्नु, नाफा कमाउनु । आर्जन गरेको नाफाको केही हिस्सा सामाजिक कार्यमा खर्च गर्नु, अस्पतालको भवन बनाइदिनु, पढाइ र खेलकुदमा उत्साहपूर्ण पर्फमेन्स गरेर देशभर नाम कमाउनेलाई सम्मान र प्रोत्साहन गर्नु सायद उनको कमजोरी थियो । पसिना र पुँजी लगाएर आफूसँगै कयौं व्यक्तिको हातमुख जोड्न काबिल बनाउँदा मिनबहादुरले पुरस्कारमा लुट, तोडफोड र आगजनी पाए ।

वर्षमा ३५ अर्बको उपभोग्य वस्तु बिक्री गर्ने भाटभटेनीका दर्जन स्टोर खरानी बनेका छन् । थप पौने दर्जन स्टोरमा तोडफोड र लुटपाट भएका छन् ।

किराना पसलबाट केही ठूलो गर्ने योजनासहित २०४१ सालमा ३५ हजार पुँजीसहित मीनबहादुर गुरूङले भाटभटेनी स्थापना गरेका थिए । अहिले वार्षिक ३०औं अर्बको कारोबार गर्ने देशकै ठूलो सुपरस्टोर बनससकेको थियो । १० हजार जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको थियो ।

खोटाङको सामान्य किसान परिवारमा जन्मिएका गुरूङ ठूलो व्यावसायीक घरानामा जन्मिएका व्यक्ति होइनन् । ठूलो व्यवसायी बनौंला, धन कमाउँला भन्ने पनि सोचेकै थिएनन् ।

अर्बौंको साम्राज्य स्थापना गरी ठूलो व्यवसायी बनेका गुरूङ अहिले सबैको गिद्धे नजरमा परे । देशमा रोजगारी सिर्जना गर्ने अभियानले आकार लिँदै जाँदा बिनाकसुर उनको अभियानमा तुषारापात भयो । केही समयअघि अर्को कर्पोरेट वारको सिकार हुँदा ७६ दिनसम्म हिरासतमा बसेका थिए मिनबहादुर । ललिता निवास जग्गा हिनामिना प्रकरणमा उनलाई प्रहरीले समातेको थियो । यसअघि राजावादीको आन्दोलनमा पनि भाटभाटेनी टार्गेटमा परेको थियो । त्यसबेला पनि कोटेश्वर स्टोरमा लुटपाट भएको थियो ।

नेपाली माटोमा धेरै सिकेका मिनबहादुर भन्थे यही माटोमा फुल्छु, यही माटोमा फल्छु ।

मिनबहादुरको योजना थियो, ७० जिल्लामा भाटभटेनीका सानाठूला गरी ३५० शाखा खोल्ने र ५ लाखलाई रोजगारी दिने । वार्षिक ५० अर्बको कारोबार गरेपछि आईपीओमा लैजाने उनको तयारी थियो ।

गुरूङको योजना टाढा थिएन । भाटभटेनी अहिले नै वर्षमा ३५ अर्बको वस्तु बिक्री गर्ने सुपरमार्केट बनिसकेको थियो । पोखरा र चितवनमा बन्दै गरेका शाखा सञ्चालनमा आएपछि आम सर्वसाधारण पनि गुरूङको बिजनेस पार्टनर बन्न लागेका थिए ।

एक वर्षअघिमात्र युवालाई लक्षित गरेर उनले घण्टाको हिसाबले काम गरेर हस्तैपिच्छे तलब पाइने जागिरको प्रबन्ध गरेका थिए । यसबाट कलेज पढ्ने २ हजार युवाले रोजगारी पाएका थिए ।

व्यवसायमा उनको योगदानको कदर गर्दै सरकारलाई उनलाई Commercially Important Person को सम्मान गरेको पनि छ । खासगरी आधुनिक विक्रीस्थल, गुणस्तरीय सामाग्रीको उपलब्धताका कारण उपभोक्ता र आपूर्तिकर्तामाझ बलियो सम्बन्ध बनाएको छ, भाटभटेनीले ।

भाटभटेनी खोल्नुअघि ८ वर्ष अघिदेखि गुरुङ परिवार खुद्रा व्यवसायमा संलग्न थियो । गत आर्थिक वर्षको ६ महिनामै भाटभटेनी सुपरमार्केटले १७ अर्ब रुपैयाँको व्यापार गरेको थियो । अघिल्लो आवमा भाटभटेनीले ३१ अर्बको व्यापार गरेको थियो ।
भाटभटेनीको नाफा मार्जिन पनि राम्रो थियो । खुद्रा व्यवसाय भए तापिन नाफा मार्जिन ११.२ प्रतिशत छ ।

थप कर्जा नलिने भाटभटेनीको तयारी थियो । उल्टै कर्जामा निर्भरता घटाउँदै लैजाने योजना बनाएको थियो ।

पछिल्ला ५ वर्षमा व्यापार वार्षिक ११ प्रतिशतको औसतमा बढेको थियो । नयाँ आउटलेटको सफल सञ्चालन र सञ्चालन खर्चमा मितव्ययिताले कम्पनीलाई नाफा मार्जिन स्वस्थकर स्थितिमा राख्न मद्दत मिलेको थियो ।

भाटभटेनीका २८ स्टोरहरु देशका विभिन्न सहरका केन्द्रमा छन् । खासगरी काठमाडौं उपत्यकामा भाटभटेनीको बलियो उपस्थिति छ भने रणनीतिर केन्द्रहरुमा आफ्नै आउटलेट छन् । साथै पछिल्लो समय मदिरालगायत केही वस्तुको सीधा आयातमा संलग्न हुँदा स्थानीय डिलरसँगको निर्भरता घटाउँदै नाफा मार्जिन बढाउन सहयोग पुगेको थियो ।

भाटभटेनीले आफ्नो इक्विटी लगानी बेचेर कर्जा घटाउने योजना बनाएकामा हालै खोलिएका आउटलेटबाट समयसँगै अझ बढी आम्दानी हुने अपेक्षा गरिएको थियो । भाटभटेनीमा मिनबहादुरको ६० प्रतिशत र उनकी पत्नी सावित्रीको ४० प्रतिशत स्वामित्व छ । मिनबहादुर दम्पतीले अहिलेसम्म भाटभटेनीको खुद नाफाको तुलनामा लाभांशको रूपमा निकै कम मात्र रकम लिएका छन् । बाँकी रकम उनले समाजसेवामा खर्च गर्दै आएका थिए । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आकस्मिक कक्ष बनाइदिने, डा. भगवान कोइरालाको बाल अस्पताललाई जग्गा उपलब्ध गराउने जस्ता समाजसेवी काम गर्दै आएका थिए गुरूङले । साथै उनले नेकपा एमालेलाई पार्टी कार्यालय १० रोपनी १४ आना जग्गा दान दिएका थिए । गुरूङको सोही काम धेरैलाई मन परेको थिएन ।

करिब २ दर्जनको संख्यामा भाटभटेनी तोडफोड, लुटपाट र आगजनीसँगै दैनिक व्यापार ठप्प बनेको छ । उपभोग्य वस्तु खरिद गर्ने सजिलो थलो बन्द भएको छ । दैनिक साढे ८ करोड रूपैयाँको व्यापार नाश भएको छ । ५ हजार कर्मचारी बेरोजगार भएका छन् । दशैंको मुखमा जागिर गुमाउँदा उनीहरुकत्त मन रोएको छ । आफ्नो कार्यस्थान जलेर खरानी भएपछि कर्मचारीहरू रुँदै बाहिर निस्किएको दृश्य सामाजिक सञ्जालमा छरपष्ट छ ।

भाटभटेनीको देशभर रहेका स्टोमध्ये ११ वटा स्टोर र मुख्य गोदाम पूर्णरुपमा क्षतिग्रस्त भएको भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङ बताउँछन् । कोशी प्रदेशमा रहेको भाटभटेनीका विर्तामोड, दमक, विराटनगर, धरानमा रहेका स्टोरहरू पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । हेटौंडा, पोखरा र भरतपुरको स्टोर पनि पूर्णरुपमा क्षति भएको छ । उपत्यका बाहिर रहेका भाटभटेनीका ७ वटा स्टोर जलेर पूर्णरुपमा ध्वस्त भएका छन् । ती स्टोरमा रहेका सामान मात्रै नभएर भवन समेत काम नलाग्ने अवस्थामा पुगेका छन् ।

काठमाडौं उपत्यकामा बालुवाटारमा रहेको मुख्य गोदाम, टंगालको सबैभन्दा पुरानो स्टोर, महाराजगञ्ज, कोटेश्वर र बौद्ध चुच्चेपाटीमा रहेको स्टोर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको गुरुङले बताए ।

भाटभटेनीको कति रकम बराबरको क्षति भयो भन्ने एकीन तथ्यांक संकलन नभइसकेको छैन । तर टंगालको स्टोरमा नै ६०/७० करोड रुपैयाँको स्टक रहेको र हरेक स्टोरमा ठूलो स्टक पूर्णरुपमा क्षति भएको उनले बताए । आगलागी भएका स्टोरका भवन शून्यबाट सुरु गर्नुपर्ने गुरुङको भनाई छ ।

यता सामाजिक सञ्जालमा सन्देश दिँदै भाटभाटेनीले लेखेको छ- ‘विनाशले हाम्रो परिवारलाई ठूलो आघात पुर्‍याएको छ तर हाम्रो उठ्ने संकल्प अझ मजबुत बनेको छ। तिमीहरूको हरेक शब्द, हरेक सहयोगी हातले हामीलाई अगाडि बढ्ने ऊर्जा दिएको छ। भाटभटेनी पुनः उभिनेछ, र तिमीहरूको साथमा हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं, आज पसल ध्वस्त भए पनि आशा हराएको छैन, तपाइँहरुको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं ।’