रसुवामा २१६ करोडमा निर्माणाधीन बन्दरगाहमा बाढीले ६०% क्षति, १४ कामदार अझै सम्पर्कविहीन

581
Shares

काठमाडौं । चीनको तिब्बतमा उत्पत्ति भएको ल्हेन्दे नदीमा बाढी आउँदा रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहमा ठूलो क्षति पुगेको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार निर्माणाधीन बन्दगाहको भौतिक पूर्वाधारसहित कामदारतर्फसमेत क्षति भएको छ ।

यो बन्दरगाहको निर्माण कार्य सम्पन्न हुन १९ प्रतिशत मात्रै बाँकी रहेको अवस्थामा बाढीले सम्पूर्ण भौतिक पूर्वाधारमा क्षति पुर्याउँदै बगाएको छ ।

भोटेकोशी नदीको किनारमै निर्माण भइरहेको सुक्खा बन्दरगाह निर्माणमा खटिएका ८ जना नेपाली कामदार र ६ जना चिनियाँ कामदार सम्पर्कविहीन भएका छन् । उनीहरुको खोजी भइरहको स्थानीय प्रशासनले जनाएको छ ।

बाढीले बन्दरगाहको रिटेनिङ्ग वालतर्फ ४ सय मिटर बाढीले बगाएको छ भने बेचिङ्ग प्लान्ट सम्पूर्ण रुपमा बगेको छ । लिटिगेसन सेड, वेयरहाउस, इन्सपेक्सन सेड, ट्वाइलेट ब्लक, वेयरहाउसको फाउन्डेसन, इन्ट्री रोडतर्फको रिटेनिङ्ग वाल, पार्किङ यार्ड फेसिलिटीलगायत सम्पूर्ण रुपमा क्षतिग्रस्त भएको गजुरेलले जानकारी दिए ।

उनका अनुसार कूल निर्माण कार्यको ६० प्रतिशत भौतिक पूर्वाधार बाढीले क्षतिग्रस्त बनाएको छ । मुख्य कम्प्लेक्स भवन र एक्जिट रोड मात्रै बाँकी छ ।

समितिले रसुवा नाकामा सुक्खा बन्दरगाह निर्माण गरिरहेको थियो । उत्तरी छिमेकी मुलुक चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको उक्त बन्दरगाहको निर्माण नसक्दै बाढीले तहसनहस बनाएको हो ।

यो बन्दरगाहको निर्माण कार्यको तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले पाएको थियो । टिमुरेस्थित भोटेकोशी नदीको किनारमा २ हजार ८० वर्गमिटरको क्षेत्रफलमा उक्त बन्दरगाह निर्माण भइरहेको थियो ।

निर्माणस्थल चीनको सीमाबाट ३ किलोमिटर नेपाली भूभागमा पर्छ । बन्दरगाह निर्माण गर्नका लागि सरकारले मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरी राष्ट्रिय निकुञ्जको करिब ४ हेक्टर जग्गा निःशुल्क र बाँकी करिब ४ हेक्टर नीजि जग्गाधनीबाट खरिद गरिएको हो ।

समितिका कार्यकारी निर्देशक गजुरेलका अनुसार सन् २०१९ नोभेम्बरदेखि सुरु भएको यसको निर्माण ३० महिनामा सक्नुपर्ने थियो । तर कोभिडका कारण निर्धारित समयमा नसकिँदा पछिल्लो समयमा म्याद थप गरि २०२५ को जुनमा सक्ने लक्ष्य निर्धारण गरिएको थियो । तर यो अवधीमा पनि निर्माण सम्पन्न नभएपछि हालै आगामी सन २०२६ फेब्रअरीमा सम्पन्न गर्नुपर्ने अवधी तोकिएको छ । उनकाअनुसार चीन सरकारकै २ अर्ब १६ करोड ६० लाख रुपैयाँमा बन्दरगाह निर्माण भइरहेको थियो ।

नदी किनारमा बन्दरगाह निर्माण भइरहेकाले नदीको जोखिमबाट जोगाउन साढे ६ सय मिटर लामो र ५ मिटर अग्लो रिटेनिङ वाल निर्माणको काम सकिएको थियो ।

चीनको सामुद्रिक मार्ग हुँदै भारतको विशाखापट्टनममार्फत आउने मालसामानको ढुवानी लागत खर्च र समय अत्यधिक छ । चीनको सामुद्रिक मार्ग हुँदै भारतको विशाखापट्टनमबाट नेपालमा सामान ल्याउन अहिले झण्डै ४५ दिनभन्दा बढी समय लाग्छ ।

रसुवा नाकाबाट सोझै आउँदा करिब दुई सातामा काठमाडौंमा मालसामान आइपुग्छ । यो बन्दरगाह निर्माण पश्चात् ढुवानी खर्च पनि कम हुने र समय पनि कम लाग्ने हुँदा नेपालीले केही सस्तो मूल्यमा सामान खरिद गर्न सक्षम हुने गजुरेलको भनाइ छ ।

नेपाल–चीनबीच रसुवा, तातोपानी र हिल्सा नाकामार्फत झिनो रुपमा द्विपक्षीय व्यापार हुँदै आएको छ । चीनसँग व्यापारिक कारोबारका लागि तातोपानी सबैभन्दा उत्तम नाका भए पनि चीन सरकारले विभिन्न बहानामा उक्त नाका सहज रुपमा खुला नगरेका कारण द्विपक्षीय व्यापार अवरुद्ध हुँदै आएको छ । यसको विकल्पमा रसुवा नाकालाई अघि बढाइए पनि यो नाका पनि नेपाली आयातकर्ता र निर्यातकर्ता व्यापारीका लागि सहज बनिसकेको छैन ।

चीनसँग वार्षिक रुपमा २० अर्बभन्दा बढीको आयात र करिब तीन अर्ब मूल्यबराबरको निर्यात हुन्छ । यसको प्रमुख मार्ग तातोपानी नाका हो ।

Skip This