
काठमाडौं । चीनको तिब्बतमा उत्पत्ति भएको ल्हेन्दे नदीमा बाढी आउँदा रसुवामा जनधनको ठूलो क्षति भएको छ ।
विगत केही वर्षयता तिब्बतमा बाढीको समस्या दोहोरिने गरेको छ । जलवायु परिवर्तन र विश्व तापक्रममा वृद्धिका कारण यो समस्या आएको विज्ञहरू बताउँछन् ।
गत मे महिनामा साइन्स बुलेटिन नामक जर्नलमा प्रकाशित लेख ‘एक्सेसिभ टिबेटन प्लेटो स्प्रिङ वार्मिङ फाउन्ड टु कज क्याटास्ट्रोफिक जुन २०२४ हेभी रेनफल इन चाइना’ मा उल्लेख भएअनुसार, तिब्बती पठारमा वसन्त ऋतुमा तापक्रम वृद्धि भएका कारण चीनमा विनाशकारी मुसलधारे वर्षा भएको थियो ।
सन् २०२४ को जुनमा चीनमा आएको बाढीको कारण पहिल्याउनका लागि गरिएको अध्ययनमा तिब्बती पठारको तापक्रम वृद्धिलाई संकेत गरिएको छ ।
विश्व तापक्रममा वृद्धिले तिब्बती पठारमा रहेका हिमनदीहरू द्रुत गतिमा पग्लिरहेका छन् । तिब्बती हिमनदी पग्लिँदा नेपाल जस्ता तल्लो तटीय क्षेत्रमा रहेका देशलाई बाढीपहिरोको जोखिम बढ्छ ।
नेचर जियोसाइन्स नामक जर्नलमा सन् २०२३ अगस्टमा प्रकाशित लेख ‘मेल्टिङ ग्लेशियर्स थ्रेटन आइस कोर साइन्स अन द टिबेटन प्लेटो’ मा उल्लेख भएअनुसार, हिमनदी पग्लिँदा नदीको जलस्तर बढ्नुका साथै ग्लेशियर लेक आउटबर्स्ट फ्लड्स अर्थात् हिमताल फुटेर आउने बाढीको सम्भावना रहन्छ ।
हिमनदीहरू घट्दै जाँदा थिग्रिएर बसेका पदार्थ सहितको ताल (मोरेन ड्याम्ड लेक) हरू बन्छन् । त्यस्ता तालहरू सानोतिनो भूकम्प र वा मुसलधारे वर्षामा पनि फुट्छन् र तल्लो तटीय क्षेत्रमा विनाशकारी बाढी ल्याइदिन्छन् ।

नेपालमै पनि २०८१ वैशाखमा गोर्खा जिल्लामा रहेको वीरेन्द्र ताल फुट्दा बूढीगण्डकी नदीमा बाढी आएको थियो । मनास्लु हिमनदीसँग त्यो ताल जोडिएकोमा हिमनदी पग्लिएपछि तालको जल सीमाबाहिर गएर बूढीगण्डकीको जलस्तर बढाइदिएको थियो।
गत वर्षको साउन ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हिमताल विस्फोट भएको थियो । ताल फुटेर बाढी आउँदा तटीय क्षेत्रमा रहेको थामेमा व्यापक क्षति पुर्याएको थियो ।
त्यस्तै २०७८ को असार १ गते सिन्धुपाल्चोकको भ्रेमाथाङमा गेग्रिनसहितको भेलबाढी आउँदा मेलम्ची आसपासका क्षेत्र नराम्रोसँग प्रभावित भएको थियो ।
विश्व तापक्रम वृद्धिको असरले नेपालमा मुसलधारे वर्षा र त्यसका कारण आएको बाढीको उदाहरण पोहोर साल असोजमा देखियो ।
दुई दिनको वर्षाले विभिन्न नदीमा बाढी आउँदा २४४ जनाको मृत्यु भएको थियो । वर्ल्ड वेदर एट्रिब्यूशन नामक संस्थाले उक्त वर्षा र बाढीको अध्ययन गरी निकालेको निष्कर्ष अनुसार, विश्व तापक्रममा २ डिग्री सेल्सियस भन्दा बढी वृद्धि भएमा वातावरणमा बढी आर्द्रता आउँछ र केही दिनमात्र भए पनि आरीघोप्टे वर्षा भएर व्यापक क्षति गराउँछ ।
चीनले तिब्बती नदीहरूमा धमाधम बनाइरहेको बाँध र अन्य पूर्वाधारले पनि पानीको प्राकृतिक प्रवाहमा अवरोध ल्याएको छ र बाढीको जोखिमलाई वृद्धि गरेको छ
काठमाडौं उपत्यकामा प्राकृतिक जलप्रवाह विन्दुहरू कम भएकाले अविरल वर्षापछिको बाढी र डुबानको ठूलो जोखिम रहेको उक्त अध्ययनको निष्कर्ष छ । हिमताल पग्लिएसँगै मनसून प्रणालीको अनियमितताले पनि तिब्बतमा बाढी ल्याउनका लागि योगदान गरेको छ ।
जियोफिजिकल रिसर्च लेटर्स नामक जर्नलमा प्रकाशित लेख ‘हाउ डज द टिबेटन प्लेटो डाइनामिकल्ली एफेक्ट डाउनस्ट्रीम मनसून प्रिसिपिटेशन ?’ मा उल्लेख भएअनुसार, तिब्बती पठार आफैंमा सुक्खा क्षेत्र भए पनि मनसूनमा चल्ने हावाले तिब्बतको पूर्वी र दक्षिणी भागमा मुसलधारे वर्षा गराइदिन्छ । छोटो समयका लागि मात्र पनि मुसलधारे वर्षा हुँदा तिब्बतमा प्राकृतिक रूपमा पानी बगेर जाने क्षमतालाई दबाब दिन्छ र बाढीपहिरोको जोखिम बढाइदिन्छ ।
त्यसमाथि चीनले तिब्बती नदीहरूमा धमाधम बनाइरहेको बाँध र अन्य पूर्वाधारले पनि पानीको प्राकृतिक प्रवाहमा अवरोध ल्याएको छ र बाढीको जोखिमलाई वृद्धि गरेको छ । हालै मात्र चिनियाँ अधिकारीहरूले तिब्बतको आम्दो प्रान्तमा पहेंलो नदीको माथिल्लो भागमा सिहा गर्ज हाइड्रोपावर ड्याम परियोजनालाई स्वीकृति दिएका छन् । उक्त नदीमा पहिल्यै ९ वटा बाँधहरू छन्।
त्यसबाहेक चीनले तिब्बतको मेदोग काउन्टीमा यार्लुङ चाङ्पो अर्थात् ब्रह्मपुत्र नदीमा मोटुओ हाइड्रोपावर प्रोजेक्ट बनाउन खोजेको छ । त्यसले भारतको अरुणाचल प्रदेश र आसाम र बंगलादेश जस्ता तल्ला तटीय क्षेत्रमा असर पार्ने विज्ञहरू बताउँछन्।
नेपालका प्रमुख नदी अरुण, तमोर, सुनकोशी लगायत पनि तिब्बतमै उत्पत्ति भएकाले तिब्बतमा आउने बाढीले यी नदीहरूको जलस्तर बढाइदिने र बाढीको जोखिम बढाइदिने सम्भावना रहन्छ ।
केही दिनअघि मात्र चिनियाँ अधिकारीहरूले तिब्बत सहितका १० प्रान्त र क्षेत्रमा बाढीबाट सुरक्षाका उपाय अपनाउनका लागि चेतावनी दिएका थिए । तिब्बत (सिजाङ) का लागि पनि उक्त चेतावनी जारी गरिएको थियो । नेपाल र चीनबीच विपत पूर्वानुमान प्रणालीको सूचना आदानप्रदान, हिमतालको अवस्था निरीक्षण तथा दिगो जल व्यवस्थापन लगायतका विषयमा साझेदारी नबन्ने हो भने तिब्बतबाट बग्दै आउने नदीबाट क्षति पुग्ने क्रम जारी रहन्छ ।
तिब्बती क्षेत्रमा ठूलो पानी नपरी बाढी आएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाको भनाइले पनि वर्षाका कारणभन्दा पनि हिमतालमा भएको विस्फोटले रसुवामा बाढी आएको सहजै अनुमान गर्न सकिन्छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले चीनको तिब्बतस्थित ल्हेन्दे नदीको जलाधार क्षेत्रमा पछिल्लो २४ घण्टामा उल्लेखनीय वर्षा नदेखिएको जनाएको छ ।
महाशाखाले उक्त बाढी सामान्य वर्षाका कारण नभइ हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड) का कारण भएको हुनसक्ने जनाएको छ ।
महाशाखाकाअनुसार बाढीको मूल कारण भारी वर्षा नभएको देखिएको छ । विश्व मौसम संगठनको ‘फ्ल्याश फ्लड गाइडेन्स सिस्टम’अन्तर्गतको ‘ग्लोबल हाइड्रोएस्टिमेटर स्याटलाइट-बेस्ड प्रिसिपिटेसन एस्टिमेट्स’ प्रणालीले भोटेकोशी जलाधार क्षेत्रमा पछिल्लो २४ घण्टामा उल्लेखनीय वर्षा नभएको देखाएको छ ।
‘तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित छन्, जसका कारण तीमध्ये कुनै एक विस्फोट भएर बाढी आएको हुन सक्छ,’ महाशाखाले भनेको छ ।
तिब्बतमा बाढी आउँदा त्यसलाई फगत वातावरणीय घटनाका रूपमा लिन सकिँदैन । त्यसले नेपाल लगायतका तल्लो तटीय मुलुकहरूलाई असर पार्छ । विश्व तापक्रममा वृद्धि, हिमनदी पग्लिने घटना र पूर्वाधार निर्माणले हिमालय क्षेत्रमा बाढीको जोखिमलाई बढाइदिएको छ ।
बाढीका कारण नेपालले दीर्घकालीन असर बेहोर्नुपर्ने हुन्छ । जनधनको क्षति हुनुका साथै विकास परियोजनाहरूलाई पनि यसले पछि धकेलिदिन्छ । चीनसँग समयमै सूचना आदानप्रदान, संयुक्त अनुगमन कार्य र दिगो पूर्वाधार योजना बनाएमा दुवै देशमा जनधनको क्षति हुनबाट जोगाउँछ ।
नेपाल, भारत र चीनमा अवस्थित ४७ ओटा हिमताल जोखिममा
नेपाल, भारत र चीनमा अवस्थित ४७ वटा हिमताल विस्फोटको उच्च जोखिममा रहेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) को संयुक्त अध्ययनले ती हिमताल जुनसुकै बेला फुट्न सक्ने चेतावनी दिएको हो ।
‘कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा पर्ने नेपाल तथा तिब्बत (चीन) का हिमतालहरूको सूची’ शीर्षकको अध्ययन प्रतिवेदनमा चीनमा २५, नेपालमा २१ र भारतमा १ गरी जम्मा ४७ वटा हिमताल खतराको तहमा पुगेको उल्लेख गरिएको छ ।
अध्ययन अनुसार तीमध्ये केही हिमताल अत्यन्त संवेदनशील अवस्थामा छन्, जसले कुनै पनि बेला ठूलो मात्रामा जनधनको क्षति गराउन सक्ने खतरा छ । हिमताल फुटेमा नेपालमा अर्बौं डलर बराबरको आर्थिक क्षति हुनुका साथै मानव क्षति पनि अत्यधिक हुने अनुमान गरिएको छ ।
इसिमोड र यूएनडिपीको प्रतिवेदनले हिमताल विस्फोटजन्य बाढीको सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सुरक्षात्मक कदमहरू आवश्यक रहेको उल्लेख गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार नेपालमा रहेका २१ जोखिमयुक्त हिमतालमध्ये कुनै पनि बेला फुट्न सक्ने खतरा छ ।

तिब्बतबाट बहने खोलाको अप्रत्यासित बाढीले रसुवामा क्षति
रसुवामा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन सिमानामा रहेको मितेरी पुल बगाउँदा कम्तिमा १८ जना बेपत्ता भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बेपत्तामध्ये तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार र ६ जना चिनियाँ नागरिक छन् ।
बाढीका कारण रसुवागढी भन्सार कार्यालय वरपर रहेका कन्टेनर र मालवाहक सवारी साधनसमेत बगाएका छन् ।
त्यस्तै रसुवागढी जलविद्युत् आयोजनामा फसेका २० जनालाई सुरक्षित स्थानमा सारिएको छ भने आयोजनाको ड्याममा आंशिक क्षति पुगेको छ।
बाढीपछि उद्धारमा खटिएको सुरक्षाकर्मी टोलीले एक नेपाल प्रहरी, एक सशस्त्र प्रहरीसहित थप सात जनालाई उद्धार गरेको बताइएको छ।
रसुवागढी प्रहरी चौकीका अनुसार बाढी मङ्गलबार बिहान ३ बजे चीनतर्फ परेको वर्षाका कारण आएको हो ।
बाढीले त्यहाँ रहेको विद्युतीय सवारी चार्जिङ स्टेसन र ७–८ वटा गाडी बगाएको छ । साथै, रसुवा भन्सार कार्यालय र रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा समेत क्षति पुगेको छ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बाढीका कारण ४ जलविद्युत् आयोजनामा क्षति पुगेको र २ सय ३० मेगावाट विद्युत् उत्पादन बन्द भएको जानकारी दिए ।
बाढीको असर नुवाकोट जिल्लामा पनि परेको छ । विदुर नगरपालिका–१ मा त्रिशूली नदीको बीच भागमा फसेका एक महिला र एक पुरुषलाई नेपाली सेनाको हेलिकप्टरबाट सफलतापूर्वक उद्धार गरिएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार त्रिशूली नदीमा पानीको सतह बढेपछि ती दुईजना रूख चढेर बसेका थिए। तीन घण्टा पछि उनीहरूलाई उद्धार गरिएको हो।
हालसम्म स्थानीय सरकार, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका टोली उद्धारमा खटिएका छन्। तर नदीमा पानीको सतह झन् बढ्दै गइरहेकाले अवस्था अझै जटिल बन्दै गएको अधिकारीहरूले बताएका छन् ।

दुई जनाको शव भेटियो
त्रिशूली नदीमा बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ ।
गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन् । दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि नदीले बगाएको छ । शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको स्थानीय कुमार बस्नेतले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा यही असार २३ गते राति भारी वर्षासँगै त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि अनुरोध गरिएको छ ।







प्रतिक्रिया