रसुवामा आएको बाढीले ४ जलविद्युत् आयोजना ठप्प, २ सय ३० मेगावाट विद्युत् उत्पादन बन्द

3k
Shares

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण २ सय ३० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू ठप्प भएका छन् । बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासहित त्रिशूली–३ ए, त्रिशूली, चिलिमे र बेनीघाट जलविद्युत् आयोजना प्रभावित भएका हुन् ।

आज बिहान भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी आयोजनामा व्यापक क्षति पुर्‍याएको छ । त्यहाँबाट उत्पादन हुने सम्पूर्ण १११ मेगावाट विद्युत् अहिले पूर्णरूपमा बन्द भएको छ ।

६० मेगावाट क्षमताको त्रिशूली–३ ए, २२ मेगावाटको चिलिमे, २१ मेगावाट क्षमताको त्रिशूली, १५ मेगावाट क्षमताको बेनीघाट जलविद्युत् आयोजना पनि बाढीबाट प्रभावित भएका छन् । बाढीका कारण ती आयोजनासँग सम्बन्धित करिब २ सय ३० मेगावाट क्षमताको प्रसारण लाइनसमेत अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार रसुवागढी आयोजनाको हेडबक्सको गेट बगाएको छ भने आयोजनाको पुलमा पनि क्षति पुगेको छ । पुल चर्किएपछि आवतजावत पूर्ण रूपमा बन्द भएको छ । यद्यपि पावरहाउस भने सुरक्षित रहेको शाक्यले क्लिकमान्डुलाई जानकारी दिए ।

‘अहिले त्रिशूली नदीमा रहेका सबै जलविद्युत आयोजनाहरुको उत्पादन अहिले बन्द छ,’ शाक्यले भने,’देवीघटमा रहेको त्रिशूली जलविद्युत आयोजना तुरुन्तै सञ्चालनमा आउँछ भने चिलिमे पनि लेदो सफागरेपछि हुन्छ । रसुवागढी र त्रिशूली ३ ए लाई भने केही दिन लाग्छ ।’

त्रिशूली–३ ए आयोजनाको भवनमा बाढी पसेको र एउटा गेट बगाएको उनले बताए । चिलिमे हाइड्रो पावरहाउसमा पनि टेलरेसतर्फबाट लेदो पसे पनि संरचनामा ठूला क्षति नभएको उनको भनाइ छ ।

शाक्यले रसुवागढीको हेडरेसको गेटमा कति क्षति भएको छ भन्ने बाढी घटेपछि थाहा हुने उनले बताए ।

‘त्रिशूली ३ एको गेटमा कति क्षति क्षति भएको छ र बनाउन कति समय लाग्छ भन्ने एकीन गर्न सकिएको छैन, ‘उनले भने, ‘ बाढी घटेपछि क्षतिको मूल्यांकन हुन्छ । ‘