नियामक निकायप्रति जिम्मेवार नहुने, हवाई क्षेत्रको विकास र विस्तारमा काम गर्नुपर्ने र उड्डयन सुरक्षालाई पहिलो प्राथमिकता दिएर योजना बनाउनेदेखि महत्वपूर्ण निर्णय गर्नुपर्ने व्यक्ति एउकान्टेबल म्यानेरजबाट पन्छिने काम भएको छ । यसले जिम्मेवारी लिने, सेवा सुविधा उपभोग गर्ने तर परिणाम देखाउने बेला भने गैरजिम्मेवार भएको संकेत दिन्छ ।

काठमाडौं । संस्थाको कार्यकारी भूमिका निर्वाह गरेपछि जवाफदेहिता अनिवार्य शर्त हो । जवाफदेहिताविनाको जिम्मेवारी केवल अह्राएको काम गर्ने सामान्य कामदार जस्तो मात्र हुन्छ । संस्थाप्रतिको दायित्वबोध नलिँदा काममा सिर्जनशीलता जति नै धेरै प्रयोग भए पनि त्यसको परिणाम नदेखिन सक्छ ।
हवाई उड्डयन क्षेत्रमा नियामकले तोकेको न्यूनतम शर्त पालना गर्न नसकेर जिम्मेवारीबाट पन्छिएका दुई पात्रलाई उड्डयन क्षेत्रमा गैरजिम्मेवार कार्यकारी प्रमुख भनेर नियामक निकायले चिन्ने गरेको छ । जसले सेवा सुविधा व्यवस्थापक तथा तालुक निकायसँग बार्गेनिङ गरेर लिन्छन् तर उड्डयन सुरक्षाको भने जिम्मेवारी लिँदैनन् भन्ने आरोप लाग्ने गरेको छ ।
नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभास सापकोटालाई गत वर्ष २०८१ मंसिर १८ देखि उत्तरदायी प्रवन्धक (एकाउन्टेबल म्यानेजर)पदबाट अर्को निर्णय नभएसम्मको लागि निलम्बन गरेको छ ।

सापकोटालाई हटाएर यति एयरलाइन्सका मार्केटिङ विभागका युवराज विष्टलाई एकाउन्टेबल म्यानेजरको जिम्मेवारी दिएको साढे ६ महिना पुगिसकेको छ । यो अवधिमा प्राधिकरणले पालना नभएको न्यूनतम मापदण्ड पूरा गरेर जिम्मेवारी लिनु त कता हो कता उल्टै सीईओ हाइसञ्चो भएको महसुस गरेर बसिरहेका छन् ।
यति एयरलाइन्सको एसियन लाइफले ४९ प्रतिशत सेयर स्वामित्व लिएर गएसँगै नयाँ लगानीकर्ताले तत्कालीन इसेवाका सीईओ तथा चार्टर्ड एकाउन्टेन्ट सापकोटालाई २९ असोज २०८० देखि यतिले सीईओको रुपमा भित्र्याएको थियो । सापकोटाले साढे १३ महिना काम गरेपछि उनको क्षमता कस्तो हो भनेर प्राधिकरणले एकाउन्टेबल म्यानेजर खोसेपछि पुष्टि भइसकेको छ ।
उड्डयन प्राधिकरणका अनुसार वायुसेवा संस्थाको जिम्मेवार पदाधिकारीले आफ्नो जिम्मेवारी बहन नगरेको र न्यूनतम उड्डयनको मापदण्ड पालना नगरेका कारण एकाउन्टेबल म्यानेजर पद खोसिएको हो । सम्बन्धित व्यक्तिले कमी कमजोरी गरेका कारण उनको नियामकप्रति उत्तरदायी हुने प्रबन्धक पद खोसियो त्यही शर्त पूरा नगरेसम्म पुनः जिम्मेवारी दिन नमिल्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

त्यसोत सापकोटा आएपछि यति एयरलाइन्सले ३२ प्रतिशत प्रगति गरेको दाबी उनको छ । एसियन लाइफ भित्रिएपछि यतिले ४० प्रतिशत जहाजको क्षमता नै बढाइसकेको छ । बढेको क्षमताअनुसार काम हुन नसकेको, कर्मचारीसँग समन्वय भएर काम गर्न नसकेको र उड्डयन क्षेत्रका कोर इस्युलाई सीईओले ह्याण्डेल गर्न नसकेको देखिएको छ । जसका कारण नियामकप्रति जिम्मेवार हुने अर्कै व्यक्तिले सीईओलाई नटेर्ने र एकाउन्टेबल म्यानेजरले सीईओलाई नटेर्ने अवस्थासमेत सिर्जना हुन पुगिरहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारी स्वामित्वको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाईसमेत २०८१ असार ११ गतेदेखि एकाउन्टेबल म्यानेजरको जिम्मेवारी खोसिदिएको छ ।
प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई अनुमतिबिना गत असारमा एक वाइडबडी जहाज दुबईबाट मर्मतका लागि सिधै इटली पठाएको विषयसँग जोडेर उड्डयनसम्बन्धि निर्णय गर्न रोक लगाएको थियो ।
प्राधिकरणले अधिकारीलाई १७ बुँदे स्पष्टीकरण सोधेको, पटक पटक एकाउन्टेबल म्यानेजरबाट किन नहटाउने भन्दै सोधेको स्पष्टीकरण चित्त नबुझेको भन्दै हटाएको हो । प्राधिकरणले उड्डयन सुरक्षासँग वायुसेवा निगमका अधिकारीले लापरवाही गरेको भन्दै उनलाई हटाएको हो ।

अधिकारीले उड्डयन सुरक्षामा गम्भीर खेलाँची गरेको पुष्टि भएपछि निगमका एकाउन्टेबल म्यानेजरलाई अर्को निर्णय नभएसम्म काम गर्न प्राधिकरणले गत असारमा लगाएको रोक अझै खुलेको छैन । प्राधिकरणले जेजेमा कमी कमजोरी देखाएर अधिकारीलाई एकाउन्टेबल पदबाट निलम्बन गरेको थियो ति कमजोरी अझै सुधार नभएको र जिम्मेवारी लिन सक्ने गरी वायुसेवा निगम कार्यकारीले एकाउन्टेबल पदसमेत नमागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलको भनाइ छ ।
यति एयरलाइन्समा नयाँ साझेदार भित्रियो, सुवास सापकोटा बने सीईओ
निगमले भने गत असारदेखि एकाउन्टेबल म्यानेजरको जिम्मेवारी प्राविधिक तर्फका नायवप्रवन्ध निर्देशक डोलेश्वर कोइरालालाई दिएको छ ।
वायुसेवा निगमका प्रवक्ता सुझाव डाँगी एकाउन्टेबल म्यानेजरको जिम्मेवारी कार्यकारी प्रमुखले लिनु वा अन्य कसैलाई दिनुमा खासै फरक नपर्ने दाबी गर्छन् । उनले भने ‘नियामक निकायप्रति जिम्मेवार हुन दिइएको उक्त पद प्राविधिकले नै गर्दा उपयुक्त हुने भएकोले कार्यकारीले नलिँदा केही बिग्रिएको छैन ।’
प्राविधिक जिम्मेवारी पूरा गर्ने र नियामकले औल्याएको कम्पाइन्स पूरा गराउने जिम्मा मात्रै एकाउन्टेबल म्यानेजरको भएको भन्दै कार्यकारी अधिकृत वा अन्य प्राविधिक अधिकृतले लिँदा कुनै फरक नपर्दे तर्क पनि डाँगीले गरे ।
वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई तत्कालीन पर्यटन मन्त्री प्रेम आलेको प्रस्तावमा सरकारले २०७८ कात्तिक ११ मा ४ वर्षका लागि नियुक्त गरेको थियो । सरकारले अधिकारीलाई २०७९ असार ९ मा हटाएको भए पनि अदालतको अदातलको आदेशपछि अधिकारी २०७९ साउन १९ गतेबाट कामकाजमा फर्कन आदेश दिएको थियो । सोही आदेशका भरमा हालसम्म पदमा रहेका अधिकारीको मुद्दाको टुंगो लागेको छैन । अधिकारीको पदावधि आगामी कात्तिक १० सम्मलाई मात्रै छ ।
पछिल्लो करिब ४ वर्षमा अधिकारीले गरेको कामको चर्चाभन्दा पनि विवादको काम धेरै चर्चापूर्ण रह्यो । प्राधिकरणको अनुमतिबिना जहाज मर्मत गर्न इटली लगेको, एक महिनालाई मर्मतमा गएको जहाज ८२ दिनमा फर्किएको, अर्को जहाजले पनि त्यति नै समय लिएको, इन्जिनकै अभावमा निगमको एउटा न्यारोबडी जहाज इजरायलमा १४९ दिनसम्म थन्किएको, इन्जिनको व्यवस्थापन नगरेकै कारण निगमलाई एक अर्ब रुपैयाँ अधिकारीकै कार्यकालमा लागेको छ । उनले निगमलाई लाभ दिने भन्दापनि आफ्नै पद टिकाउनमै जोड गरिरहेको कारण संस्थाले गति लिन नसकेको बुझाई हवाई उड्डयन क्षेत्रकै जानकारहरुको भनाइ छ ।
नेपाल वायुसेवा निगमका पूर्वकार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार सरकारले हवाई उड्डयनकै प्रवद्र्धन र विकास गर्न पठाएको व्यक्तिले त्यहीँ काम गर्दिन भनेर पन्छिन नमिल्ने बताउँछन् ।
‘हवाई क्षेत्रको विषयमा नागरिक उड्डयन प्राधिकरणभन्दा माथि कोही पनि हुँदैन । संसारमै सिभिल एसिभएसनले लगाएको नियम कानून सेवाप्रदायकले मान्नुपर्छ । अहिले वायुसेवा निगमको कार्यकारी अध्यक्षले उड्डयन क्षेत्रको विषयमा पन्छिने भन्ने नै हुँदैन,’ उनले भने, ‘हवाई उड्डयनको क्षेत्रको काम गर्न दिएको जिम्मेवारी पूरा नगर्ने, उड्डयनसँग सम्बन्धित विषयमा कार्यकारी प्रमुखको चासो नहुने र नियामकसँग जिम्मेवार नहुनु भनेको त हवाई सुरक्षामा यात्रुको ज्यानसँग सम्बन्धित विषयमा गैरजिम्मेवार हुन हो ।’
प्रतिक्रिया