इन्जिन व्यवस्थापनमा चुक्दा निगमलाई वार्षिक अर्ब घाटा, यस्तो छ छानबिन समितिको निष्कर्ष

322
Shares

नेपाल वायुसेवा निगम नेतृत्वकाे कमजाेरीले संस्थालाई दिनदिनै धराशायी बनाउँदै गएकाे निगमभित्रकै गतिविधिले पुष्टी गर्दै गएको छ । निगमकाे हितमा काम गर्नुपर्ने नेतृत्व नै गैरजिम्मेवार हुँदा ४ वटा जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्ने भए पनि निगमको संस्थागत छवि धुमिल हुँदै गएकाे देखिएकाे छ ।

काठमाडौं । इन्जिन व्यवस्थापन गर्न नसक्दा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी घाटा भएको एक अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर संयोजकत्वको ‘नेपाल वायुसेवा निगमको काम कारवाहीको सम्बन्धमा गठित छानबिन समिति’ले तयार पारेको प्रतिवेदनअनुसार इन्जिनको व्यवस्थापन गर्न नसक्नुसहितको कारण जहाज थन्किदा गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै एक अर्ब रुपैयाँभन्दा बढी घाटा भएको छ ।

मानन्धरले पर्यटन मन्त्रालयलाई बुझाएको यो प्रतिवेदन हालसम्म सार्वजनिक भने भएको छैन । क्लिकमान्डुलाई प्राप्त उक्त प्रतिवेदन अनुसार समयमा इन्जिन मर्मत नहुँदा भाडामा इन्जिन लिनु पर्ने वाध्यात्मक अवस्थाले निगमलाई घाटा बढाएको छ ।निगमले सम्झौता अनुसारको भाडाको इन्जिन समयमै ल्याउन नसक्दा भएको जहाज ग्राउन्डेडबाट निगमलाई उक्त घाटा भएको प्रतिवेदनमा उल्लेख छ ।

इन्जिनकै अभावमा निगमको एउटा न्यारोवडी जहाज इजरायलमा १४९ दिनसम्म थन्किएको, निगमको दुबै वाइडबडी जहाज गत वर्ष इटलीमा जाँदा समयमा नै नफर्कंदा भएको घाटामा प्रतिवेदन केन्द्रित छ । निगमको एउटा न्यारोवडी ए३२० जहाज इन्जिन मर्मत गर्न इजरायल गरेको र सो जहाज बनेर नआउँदै सोही अवधिमा वाइडबडी ए३३० जहाज ३सी चेक गर्न इटली गएको थियो । एकैपटक ३ वटा जहाज र्ममतमा हुँदा निगमलाई उडान व्यवस्थापन गर्न समस्या भएसँगै वास्तविकताको छानबिन गर्न सरकारले २०८१ असार १९ गते समिति बनाएको थियो ।

निगमले एउटा वाइडबडी २०८१ असार ८ मा सिचेकसहितको मर्मतका लागि इटली पठाएको थियो । समयमा नै जहाजको लागि इन्जिन व्यवस्थापन गर्न नसक्दा एक महिनाको लागि भनेर गएको उक्त जहाज ८० दिनमा मात्रै फर्किएको थियो ।

निगमले अर्को वाइडबडी जहाज पनि २०८१ भदौ १२ मा मर्मत गर्न इटली पठाएको थियो । उक्त जहाज पनि ८३ दिनपछि मात्रै काठमाडौं फिर्ता आएको आएको थियो । निगमको लागि कमाउने जहाज लामो समय थन्कनुमा व्यवस्थापनको कमजोरी भएको प्रतिवेदनमा औंल्याइएको छ ।

निगम व्यवस्थापनमा पछिल्लो साढे तीन वर्षदेखि निगमकै पूर्वकर्मचारी युवराज अधिकारी छन् । प्रेम आले पर्यटन मन्त्री हुँदा नियुक्त भएका अधिकारीलाई आलेकै सिफारिशमा सरकारले हटाएको भए पनि उनी अदालतको आदेशमा पुनर्वाहली भएका हुन् । अधिकारीको पदावधि आगामी कात्तिकसम्मलाई छ ।

मानन्धर संयोजकत्वको उक्त अध्ययन समितिले भनेको छ, ‘विमान सञ्चालनमा आएको लगभग ७ वर्ष भई सक्दा पनि कुनै पनि बेला इन्जिन बिग्रन सक्छ र जगेडा इन्जिनको जोहो गर्नुपर्छ भनी सोच र योजना नबनाउनु निगमको चरम अव्यवस्था र लापरवाही हो । तत्काल इन्जिन मर्मत गर्नु पर्ने अवस्थामा आवश्यक प्रक्रिया पूरा गरि इजरायलस्थित मर्मत संभार शाखामा लगेको देखिन्छ । मर्मत संभार संस्थामा पुगेपछि ९ एन एकेएक्सको इन्जिनलाई त्यहीँ छोडेर कम्पनीसँग भएको पूर्वसम्झौता अनुसार भाडाको इन्जिन हालेर जहाज १२ दिन पछि फर्केको पनि छ ।’ ‘निगमकै कारण मर्मत संभार संस्थाले अर्को इन्जिनको व्यवस्था गर्न ढिला गरेको पनि उक्त समितिले औंल्याएको छ ।

‘भाडाको इन्जिन राखेर आएको करीब २ महिना पछि ए३२० ९एनएकेएक्सको अर्को इन्जिन पनि पहिले जस्तै समस्या आएर बिग्रिएपछि पुनः विमानलाई इजरायलस्थित मर्मत संभा संस्थामा नै लगेको थियो । त्यसबेला मर्मत संभार संस्थाले पूर्वसम्झौता अनुसार अर्को इन्जिन व्यवस्थापन गर्न नसक्दा इजरायलमा १४९ दिनसम्म जहाज थन्कियो’, अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको ६२ औं प्रतिवेदनले समेत गत आर्थिक वर्ष २०८०/८१ मा इजरायलस्थित एक विमान मर्मत सम्भार कम्पनी र निगमबीच २१ मार्च २०२२ मा भएको सम्झौता अनुसार बढीमा ५५ दिनसम्ममा इन्जिन मर्मत गर्ने प्रयास रहने र वास्तविक समय अवधि इन्जिनको क्षतिको अध्ययन गरी मेटालर्जिकल रिपोर्ट तयार गरेपश्चात् मात्र तोकिने उल्लेख छ ।

काबु बाहिरको परिस्थितिमा बाहेक समयमा इन्जिन मर्मत नगरेको खण्डमा प्रतिदिन अमेरिकी डलर २ हजारका दरले अधिकतम १० दिनको जरिवाना हुने उक्त सम्झौता पनि भएको देखिन्छ । मेटालर्जिकल रिपोर्ट ६ जुन, २०२२ मा स्वीकृत भएको, २१ अगस्ट २०२२ मा टेष्ट सेल रन पास गरेको र ३० सेप्टेम्बर, २०२२ मा इन्जिन फेरबदल गरी जहाज काठमाडौं फर्केको देखिएको छ ।

इन्जिन मर्मत गर्न लागेको वास्तविक अवधि खुलाएको छैन । ढिलो गरेर भएको मर्मतबाट निगमले गुमएको आम्दानी र पूर्वनिर्धारित क्षतिपूर्तिको रकम यकिन गरी सम्बन्धितलाई जिम्मेवार बनाउनुपर्ने सुझाव महालेखाले सरकारलाई दिएको छ ।

अध्ययत समितिको प्रतिवदेन अनुसार इजरायलमा मर्मतको लागि लगिएको जहाजको इन्जिन मर्मत कार्यमा अनावश्यक ढिला भएको र सम्झौता अनुसार कम्पनीले समयमा भाडाको इन्जिन पनि उपलब्ध गराउन नसक्नु कार्यकारी अध्यक्ष गैरजिम्मेवार बनेको उल्लेख छ ।

कार्यकारीले दिने दबाबबाट सम्बन्धित विभागका कर्मचारीहरुबाट नियमित ताकेता, बैठक, निर्णय, आदेश, पत्राचारहरु भएको देखिएता पनि परिणाम शून्य हुँदा निगमलाई एक अर्ब भन्दा बढी नोक्सानी भएको पनि सो प्रवेदनमा उल्लेख छ ।

निगमले केवल कागजी प्रक्रिया मात्र पूरा गर्ने तर ठोस परिणाम नआउने परिस्थितिको बनाएका कारण कार्यकारी प्रमुख लगायत सम्बन्धित विभागिय प्रमुखहरु निगमको जहाज धन्कनु र घाटा हुनुमा जिम्मेवार नदेखिएको उल्लेख छ ।

इजरायलमा जहाज ग्राउण्डेड हुँदा वार्ता र अवलोकनको लागि भन्दै पटकपटक निगमका कर्मचारीको टोली इजरायल भ्रमण गरेको पनि देखिन्छ । यस्तो भ्रमणबाट कुनै ठोस परिणाम नआएको र निगमलाई अनावश्यक खर्च मात्रै बढेको देखिन्छ ।

निगमले निगमको दुबईबाट सीचेकको लागि इटली गएको ए३३० ९एन एएलवाई नामक वाइडबडी क्रममा प्राधिकरणबाट नियमानुसार लिनु पर्ने उडान अनुमति लिएको थिएन् । जसका कारण प्राधिकरणबाट स्वीकृति प्राप्त नभएको इटलीस्थित एटीआई टेकमा जहाज अलपत्र परेपछि थप समस्या आएको थियो ।

निगमले उक्त जहाजको मर्मत संभार संस्थामा लानु अघि निगमको आर्थिक विनियमावली, २०६५ तथा सार्वजनिक खरिद ऐन, नियमका प्रावधानहरु पूर्णरुपमा पालना नगर्नु निगम नेतृत्वको कमजोरी भएको पनि औंल्याएको छ ।

निगमको व्यवस्थापकीय नेतृत्वको कमजोरीका कारण निगम भित्र आपसी अविश्वास, पक्ष विपक्ष, अनावश्यक उजुरी, असहयोगको परिस्थितिले गर्दा काम गर्ने वातावरणको अभाव हुँदै गएको छ । नेतृत्वको कमजोरीले दक्ष जनशक्ति टिकाउन नसक्ने र छिटो छोड्ने तथा उपलब्धी शून्य भएको पनि उक्त प्रतिवेदनले औंल्याएको छ ।