यी हुन् २५ गतेदेखि घरजग्गा कारोबार गर्न अनुमति पाएका ३६ ब्रोकर कम्पनी

2.6k
Shares

काठमाडौं । देशभरका महानगर र उपमहानगरपालिकामा ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब लाइसेन्स प्राप्त कम्पनीबाट मात्रै गर्न पाइने भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिकाभित्र घरजग्गा कारोबारमा लागि लाइसेन्स लिएका कम्पनीहरूको सूची सार्वजनिक गर्दै थैली अंक ३ करोडभन्दा माथिको घरजग्गाको कारोबार गर्दा फागुन २५ गतेदेखि ती कम्पनीहरूबाट मात्रै गर्न निर्देशन दिएको हो ।

विभागले महानगरपालिका र उपमहानगरपालिकाभित्रको भूभाग हेर्ने सम्बन्धी भूमि सुधार तथा मालपोत कार्यालय र मालपोत कार्यालयलाई ३ करोडभन्दा माथिको घरजग्गा कारोबार लाइसेन्स प्राप्त कम्पनीमार्फत मात्रै गराउन परिपत्र गरेको हो ।

विभागले देशभरमा जग्गाको कारोबार गर्न प्रक्रिया पूरा गरेका ३६ कम्पनीलाई इजाजत दिएको छ । मालपोत ऐन, २०३४ को दफा २६क मा रहेको घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था अनुसार सरकारले महानगरपालिका र उपमहानगरपालिकाभित्र थैली अंक ३ करोडभन्दा माथि हुने घरजग्गा कारोबार लाइसेन्स प्राप्त कम्पनीबाट मात्रै गर्नुपर्ने व्यवस्था गरेको हो ।

नेपाल सरकारले २०८२ असोज २७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र प्राकृतिक र कानुनी व्यक्ति वा कानुनी व्यक्तिहरूबीच घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्रका लागि आवेदन माग गरेको थियो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट प्रकाशित सूचना अनुसार अनलाइनमार्फत प्राप्त निवेदनहरूमध्ये विभागले ३६ कम्पनीलाई लाइसेन्स दिएको हो ।

‘प्राकृतिक र कानुनी व्यक्ति वा कानुनी व्यक्तिहरूबीचको लिखत पारित गर्दा महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्रको ३ करोडभन्दा माथिको थैली अंक भएको घरजग्गा कारोबार सम्बन्धी लिखत २०८२ फागुन २५ गतेदेखि अनिवार्य रूपमा इजाजतपत्र प्राप्त कम्पनीमार्फत गराउनुपर्नेछ,’ विभागले विभिन्न मालपोत कार्यालयलाई गरेको परिपत्रमा भनिएको छ ।

अब काठमाडौं, ललितपुर, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरपालिकामा थैली अंक ३ करोडभन्दा माथि हुने घरजग्गा कारोबारको लिखत लाइसेन्स लिएको कम्पनीमार्फत गर्नुपर्ने भएको हो ।

यस्तै उपमहानगरपालिकाहरूमा धरान, इटहरी, जनकपुरधाम, कलैया, जितपुर–सिमरा, हेटौंडा, बुटवल, नेपालगञ्ज, घोराही, तुलसीपुर र धनगढीमा पनि ३ करोडमाथिको घरजग्गा कारोबारको लिखत लाइसेन्सप्राप्त कम्पनीमार्फत मात्रै गर्न पाइने भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले उक्त स्थानीय तहमा पर्ने भूमि सुधार तथा मालपोत कार्यालयहरू डिल्लीबजार काठमाडौं, लगनखेल ललितपुर, विराटनगर मोरङ, इनरुवा सुनसरी, वीरगञ्ज पर्सा, कलैया बारा, जनकपुरधाम धनुषा, नेपालगञ्ज बाँके, घोराही दाङ, धनगढी कैलालीलाई परिपत्र गरेको हो ।

त्यस्तै मालपोत कार्यालयहरू कलंकी काठमाडौं, चावहिल काठमाडौं, धरान सुनसरी, सिमरा बारा, हेटौंडा मकवानपुर, भरतपुर चितवन, चनौली चितवन, पोखरा कास्की, लेखनाथ कास्की, तुलसीपुर दाङ, बुटवल रूपन्देहीलाई पनि परिपत्र गरेको छ ।