सबैको सकारात्मक पहलबाटै देश विकासमा योगदान दिन सकिन्छ

28
Shares

नेपालमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपर्यो । सरकारकै तथ्यांक अनुसार, यस आन्दोलनले देशैभरमा भएको ८४ अर्ब ४५ करोड रुपैयाँको क्षतिमध्ये निजी क्षेत्रमा मात्रै ३३ अर्ब ५५ करोड रुपैयाँ क्षति भएको देखिन्छ ।

देशका अधिकांश सहरी क्षेत्रमा भएको यस आन्दोलनपछिको लुटपाट र तोडफोडले निजी क्षेत्रलाई आतंकित बनाउने काम गर्यो । त्यस आन्दोलनका कारण म र मेरो व्यवसायमा कुनै भौतिक क्षति पुगेको थिएन । तैपनि मानसिक रूपमा भने निकै ठूलो असर पारिरहेको छ ।

मनोबलमा परेको असर र बजारको समस्याले गर्दा बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने कर्जा प्रभावित हुन पुग्यो । त्यसले निजी क्षेत्रप्रतिको लगानीको वातावरण नै कमजोर हुन पुग्यो । त्यसकारण तत्कालै लगानी गर्ने अवस्थामा उद्योगी व्यवसायी छैनन् । म आफैं पनि थप लगानीका लागि पर्ख र हेरको अवस्थामा छु । 

त्यस आन्दोलनपछि ५२ दिनसम्म तातोपानी नाका बन्द हुन पुग्यो । त्यसको असर भने मेरो व्यवसायमा पनि पर्यो । मैले मेरो उद्योगका लागि आवश्यक कच्चा पदार्थ समयमै भित्र्याउन सकिनँ । यसको प्रत्यक्ष असर उत्पादनमा पर्‍यो । विशेषगरी, हाम्रो उद्योगले पिक सिजन मानिने दशैं अगाडिको समयमा पनि व्यापार व्यवसाय गर्न सकेन । आन्दोलनपछिको केही समय बजारमा माग हुँदा पनि आपूर्ति सहज रूपमा गर्न सकिएन ।

आन्दोलनकै कारण व्यापार व्यवसायको तालिका प्रभावित भएको थियो । त्यसकारण हामीले पनि ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्यो । वर्षौंदेखि सेवा दिइरहेको बजार गुम्यो । ग्राहकको विश्वास कमजोर बन्यो भने चाडपर्वको समयमा पनि व्यापार हुन सकेन ।  वर्षभरिको कुल बिक्रीको ५० प्रतिशतभन्दा बढी कारोबार हुने समयमा पनि हामीले बजारमा सामान नै पुर्याउन नसक्ने अवस्था बन्यो । हाम्रा श्रमिकहरूलाई निरन्तर काम दिन समेत कठिन भएको अवस्था जेनजी आन्दोलनपछि सिर्जना भयो ।

जेनजी विद्रोहका कारण ठूलो मात्रामा भौतिक तथा आर्थिक क्षति मात्रै नभएर लगानी गर्ने वातावरण पनि कमजोर भएको भनेर बुझ्न कठिन छैन । यसकै कारण मान्नुपर्छ, उत्पादनमूलक क्षेत्रमा लागेको व्यवसायीका लागि नेपालमा उत्पादन गर्नु निकै कठिन पनि भएको छ । सरकारले उत्पादनमूलक उद्योग र यस क्षेत्रले दिएको रोजगारीलाई पर्याप्त महत्त्व दिएको देखिँदैन । स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति र सहारा नहुँदा उत्पादनशील क्षेत्र निरुत्साहित भइरहेको छ । जबसम्म उत्पादन र रोजगारीलाई सरकारले उच्च प्राथमिकतामा राख्दैन र विशेष महत्त्व दिँदैन, तबसम्म आत्मनिर्भर अर्थतन्त्र सम्भव हुँदैन ।

जेनजी प्रदर्शनले सिर्जित गरेको अनिश्चितताले सुदृढ हुँदै गरेको लगानी वातावरणमा गम्भीर धक्का पुगेको महसुस निजी क्षेत्रले गरेको हुनुपर्छ । जसले क्षति भोगेका छन्, तिनको लागि अझै अवस्था असहज नै छ । आन्दोलनका नाममा हुने सबैजसो प्रदर्शन, अवरोध र अस्थिर अवस्थाले लगानीकर्ताहरूमा असुरक्षा महसुस गराउँछ ।

प्रदर्शन, अवरोध र अस्थिर अवस्थाले लगानीकर्तामा अविश्वासको भावना बढाएको हुन्छ भने नयाँ लगानी ल्याउने र गर्नेहरूको निर्णयहरू स्थगित हुन पुग्छन् । यसले निजी क्षेत्रको व्यावसायिक गतिविधि सुस्त बनाउनुका साथै रोजगारी सिर्जना, उत्पादन वृद्धि र समग्र आर्थिक गतिशीलतामा नकारात्मक असर पारेको छ ।

दीर्घकालीन रूपमा यस्ता अनिश्चितताले देशको आर्थिक स्थायित्व र विकास प्रक्रियालाई समेत कमजोर बनाउने जोखिम देखिन्छ । त्यसो हुनाले सरकारले ढाडस दिन र असन्तुष्ट पक्षको विषय बुझ्न पनि सम्बोधन भने गर्नुपर्ने आवश्यकता देखिन्छ ।

आन्दोलनपछि जुन खालको डर, असुरक्षा, अनिश्चितताजन्य तनाव भोग्नुपरेको थियो, त्यो अब कहिल्यै पनि नदोहोरियोस् भन्ने कामना गर्छु । देशमा अनिश्चितताको भावना बढ्दै गएको छ । यहाँ केही राम्रो गर्न खोज्ने मानिसहरूलाई नै सहयोग गर्नेभन्दा पनि ईर्ष्या र घृणाको दृष्टिले हेरिन्छ, जुन अत्यन्तै चिन्ताजनक र डरलाग्दो अवस्था हो । यसले पक्कै पनि देश विकासमा राम्रो सन्देश दिँदैन ।

त्यसैले त कुनै पनि आन्दोलन वा असहज अवस्थामा सरकार साथमा हुनुपर्छ । जेनजी प्रदर्शनपछि पनि व्यावसायिक वातावरण जोगाउन सरकारले धेरै प्रयास गर्नुपर्ने थियो । असहजता र अप्ठ्यारो अवस्थामा देशका जनतादेखि उद्योगी व्यवसायीसम्मले सरकारकै साथ खोजेका थिए । त्यसमा अपेक्षा धेरै पनि हुनसक्छ तर त्यसअनुसार सरकारसहित सबैले सकेको जति गर्नुपर्छ । सरकारले केही नै केही प्रयास गर्ने काम पक्कै गरिरहेकै होला तर त्यो प्रभावकारी नहुँदासम्म आम जनताले महसुस गर्न सक्दैनन् ।

भविष्यमा निजी क्षेत्रमाथि हुने आक्रमण, अवरोध वा लक्षित प्रदर्शन रोक्न तथा निजी क्षेत्रलाई यस्ता गतिविधिबाट सुरक्षित राख्न बहुपक्षीय, समन्वयकारी र दीर्घकालीन पहल आवश्यक छ । यसमा सरकार, व्यवसायी स्वयं तथा अन्य सरोकारवाला सबैको स्पष्ट भूमिका र जिम्मेवारी हुनुपर्छ ।

यसमा पटकपटक जोडिने भनेकै राज्य र सरकार हो । देशमा हुने असहज अवस्थाको सम्बोधन गर्ने भनेको सबैभन्दा पहिले सरकारले हो । देशका जनतालाई आइपर्ने कुनै पनि आपत, विपत र असहज अवस्थामा महत्त्वपूर्ण र निर्णायक भूमिका सरकारको हुन्छ । सरकारले निजी क्षेत्रलाई राष्ट्रको आर्थिक साझेदारका रूपमा स्वीकार गर्दै कानूनको शासन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुपर्छ ।

उद्योग, व्यापार र सेवा क्षेत्रलाई ‘सजिलो निशाना’ बनाउने प्रवृत्ति अन्त्य गर्न शून्य सहनशीलताको नीति अवलम्बन गरिनुपर्छ । साथै, आन्दोलन र अभिव्यक्तिको अधिकारलाई सम्मान गर्दै व्यापारिक केन्द्र, औद्योगिक क्षेत्र र आपूर्ति शृंखलालाई अवरोध नहुने स्पष्ट मापदण्ड र कार्यविधि निर्माण गर्न आवश्यक छ । पूर्वसूचना, संवाद र वैकल्पिक व्यवस्थापन मार्फत प्रदर्शनको प्रभाव निजी क्षेत्रमा नपर्ने संरचना विकास गरिनुपर्छ ।

निजी क्षेत्रप्रति सर्वसाधारणको नकारात्मक मनोवृत्ति बदल्न विश्वास निर्माण नै मूल उपाय हो । जब नागरिकले निजी क्षेत्रलाई शोषक नभई साझेदारका रूपमा अनुभूति गर्न थाल्छन्, जब व्यवसायीले समाजप्रति उत्तरदायी व्यवहार देखाउँछन्, जब सरकारले निष्पक्ष र दृढ नियमन गर्छ त्यसपछि मात्र निजी क्षेत्रमाथि हुने आक्रमण र नकारात्मक दृष्टिकोण दीर्घकालीन रूपमा घट्दै जान्छन् ।

निजी क्षेत्र, सरकार, राजनीतिक दलसहित आम नेपालीले मिलेर नेपालमा लगानीको वातावरण बनाउने काम गर्न सकिन्छ । नेपालमा सम्पत्ति कमाउनेमाथि हेर्ने दृष्टिकोण नै नकारात्मक छ । उत्पादनमूलक उद्योगको दृष्टिकोणबाट भन्नुपर्दा नेपालमा लगानीमैत्री वातावरण नारा होइन, व्यवहारबाट देखिनुपर्छ । कच्चा पदार्थ समयमै नआउँदा, नाका अवरुद्ध हुँदा र नीतिगत अनिश्चितता हुँदा उद्योग, श्रमिक र बजार सबै प्रभावित हुन्छन् ।

उद्योगहरूले रोजगारी, कर र स्वदेशी उत्पादनमार्फत देशलाई योगदान दिइरहेका छन्, तर त्यसको संरक्षण र सम्मान राज्यको व्यवहारमा देखिनु आवश्यक छ । सरकार, निजी क्षेत्र र समग्र समाजबीच विश्वास कायम भए मात्र उत्पादन, लगानी र रोजगारी दिगो रूपमा अघि बढ्न सक्छ । त्यसले देश विकासमा सकारात्मक प्रयास र पहलमार्फत ठूलो योगदान दिइरहेको हुन्छ ।

(प्रस्तुत लेख ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा सोधिएका प्रश्नहरुमा गोल्डस्टार स्ट्राइड लिमिटेडका कार्यकारी निर्देशक राणाले दिएको जवाफका आधारमा तयार पारिएको हो।)

Skip This