धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न एकैदिन ३ कम्पनीलाई दियो अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीनवटा कम्पनीलाई सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न पूर्व–स्वीकृति प्रदान गरेको छ । बोर्डले २०८३ वैशाख २ गते यी कम्पनीहरूलाई विवरणपत्र प्रकाशन गर्न अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाउने कम्पनीहरूमा एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेड रहेका छन्।

जसअनुसार एभरेष्ट कलर लिमिटेडले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । यसैगरी माउण्ट एभरेष्ट पावर डेभलपमेण्टले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ । यसको बिक्री प्रबन्धकको जिम्मेवारी एनआईबीएल एस क्यापिटल लिमिटेडले पाएको छ ।

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले पनि १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता सेयर निष्काशनका लागि स्वीकृति पाएको छ । यस कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

धितोपत्र बोर्डबाट विवरणपत्र प्रकाशनको अनुमति पाएसँगै अब यी कम्पनीहरूले छिट्टै सेयर निष्काशनको मिति तय गरी सार्वजनिक आह्वानपत्र जारी गर्नेछन् ।

Skip This