पोखरा महानगरले सञ्चालन गरेको सटल बस सेवाको लागत कामना सेवाले व्यहोर्ने


काठमाडौं । पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म आवतजावत गर्ने हवाई यात्रुहरूलाई सुविधा उपलब्ध गराउन निःशुल्क सटल बस सेवा सञ्चालन गरेको छ। उक्त सटल बस सेवाको सञ्चालन लागत खर्च कामना सेवा विकास बैंकले व्यहोर्ने भएको छ।

महानगरपालिकाले वडा नं. १४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म दैनिक दुईवटा विद्युतिय बस सञ्चालन गर्नेछ। बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने यी बसहरूले यात्रुहरूलाई मुख्य सडकसम्म पुग्न सहज सेवा प्रदान गर्नेछन्।

हाल विमानस्थलदेखि मुख्य सडकसम्म पुग्न करिब २ किलोमिटर हिँड्नुपर्ने बाध्यता रहेकाले यात्रुहरूलाई सास्ती हुँदै आएको थियो।

महानगरपालिकाले २०८३ असार मसान्तसम्म निःशुल्क रूपमा सेवा उपलब्ध गराउने जनाएको छ। उक्त बसहरूको सञ्चालन लागत कामना सेवा विकास बैंकले व्यहोर्नेछ।

सम्झौतापत्रमा महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरीप्रसाद पोखरेल र बैंकका पोखरा क्षेत्रीय प्रमुख शिवकुमार ढकालले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यक्रममा बोल्दै ढकालले स्थानीय सरकारले सर्वसाधारणका लागि गर्ने यस्ता कार्यमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे। आगामी दिनमा पनि महानगरसँग सहकार्य गर्ने उनले बताए।

महानगरपालिकाका तर्फबाट प्रशासकीय अधिकृत पोखरेलले सहयोगका लागि बैंकलाई धन्यवाद दिएका छन्।

Skip This