उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो ।

समितिमा पूर्वन्यायाधीशहरू पुरुषोत्तम पराजुली तथा चण्डीराज ढकाल र पूर्वप्रहरी नायव निरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउन्टेन प्रकाश लम्साल सदस्य रहेको आयोग गठन गर्ने निर्णय गरेको छ ।

उक्त समितिले २०६२/०६३ सालदेखि देखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्तिको संकलन, प्रमाणीकरण र छानबिनका लागि सम्पत्ति छानबिन आयोग गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सरकारले गत चैत १३ गते १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको थियो । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४३ औँ बुदाँमा यसबारे उल्लेख गरिएको छ ।

उक्त बुँदामा देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्र्तगत रहनेगरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने उल्लेख छ ।

छानबिन प्रक्रियालाई कानूनी मापदण्ड, प्रमाणमा आधारित तथा निष्पक्ष रूपमा सञ्चालन गर्ने तथा आयोगले पेस गरेको प्रतिवेदन तथा सिफारिसहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ।

Skip This