सिलिकन भ्यालीमा १३ अर्ब डलर बराबरको मिलिटरी स्टार्टअप किन भयो फ्लप ?

0
Shares

एजेन्सी । एक वर्षअघि अमेरिकी रक्षा प्रविधि स्टार्टअप सिल्ड एआईका प्रमुख रायन त्सेंगले आफ्नो कम्पनीले नयाँ अध्याय सुरु गरेको घोषणा गरेका थिए ।

भी–ब्याट ड्रोनको परीक्षणका क्रममा अमेरिकी जलसेनाका एक अधिकारीको औंला आंशिक रूपमा काटिएको डरलाग्दो घटनापछि सिल्ड एआईले नयाँ ल्यान्डिङ गियर र प्रोपेलर नजिक चेतावनीमूलक स्टिकरहरू राखेर सुरक्षा चिन्ताहरू सम्बोधन गरेको दाबी गरेको थियो । त्सेंगले गत वर्ष फोर्ब्ससँग कुरा गर्दै उक्त विमान पूर्ण रूपमा उत्कृष्ट भएको बताएका थिए ।

तर, अहिले फेरि त्यस्तै घटना दोहोरिएको छ । मे १२ मा टेक्ससको तट नजिकै एउटा डुंगामा भइरहेको प्रशिक्षण अभ्यासका क्रममा रोमानियाली जलसेनाकी एक अधिकारीको हात भी–ब्याटको प्रोपेलरमा फस्यो । यसबाट उनका दुईवटा औँला काटिएका छन् भने तेस्रो औंला भाँच्चिएको रोमानियाको रक्षा मन्त्रालयका प्रवक्ताले रोयटर्सलाई जानकारी दिएका छन् ।

यो घटना यसअघि सार्वजनिक गरिएको थिएन । २१ जना पूर्व कर्मचारी, उद्योगका कार्यकारी र लगानीकर्ताहरूसँगको अन्तर्वार्ताका साथै ह्वीसलब्लोअर (सूचना दिने व्यक्ति) को उजुरी र अदालती कागजातहरूको रोयटर्सले गरेको समीक्षा अनुसार, सिल्ड एआईले वर्षौंदेखि आफ्नो भी–ब्याट ड्रोनमा रहेका प्राविधिक कमजोरी र सुरक्षा चिन्ताहरू हटाउन संघर्ष गरिरहेको देखिएको छ ।

रोयटर्सले फेला पारेअनुसार विगत १८ महिनामा भी–ब्याट ५० भन्दा बढीपटक दुर्घटना भएको छ । सुरक्षाको विषयमा प्रश्न उठाउने धेरै कर्मचारीहरूलाई बर्खास्त गरिएको छ भने सिल्ड एआईका एक कर्मचारी र उनका छोरा सवार रहेको सेसना विमान र भी–ब्याट ड्रोनबीच आकाशमै ठोकिन लागेपछि विमानले दिशा बदल्नुपरेको थियो ।

मे महिनामा श्रम विभागमा दर्ता भएको एक उजुरी अनुसार, करिब १० लाख डलर पर्ने भी–ब्याटको प्राविधिक त्रुटिहरूलाई सैन्य बिक्री सुनिश्चित गर्नका लागि लुकाइएको आरोप लगाइएको छ । सिल्ड एआईले सन् २०२१ मा मार्टिन यूएभी खरिद गरेपछि यो ड्रोन आफ्नो स्वामित्वमा लिएको थियो ।

कम्पनीले त्सेंग वा गत वर्ष सीईओ बनेका ग्यारी स्टिललाई अन्तर्वार्ताका लागि उपलब्ध गराएन । रोयटर्सलाई पठाएको एक विज्ञप्तिमा सिल्ड एआईले आफ्नो सुरक्षा रेकर्ड बलियो रहेको दाबी गर्दै भी–ब्याट जस्ता ड्रोनका लागि सञ्चालनगत सानातिना दुर्घटनाहरू सामान्य भएको बताएको छ ।

कम्पनीले भी–ब्याट हाल सेवामा रहेकामध्ये सबैभन्दा प्रमाणित ड्रोन भएको र यसले सन् २०१९ देखि १८ हजार घण्टा उडान भरिसकेको दाबी गरेको छ । मे १२ को घटना कुनै उत्पादनको त्रुटिका कारण नभई स्थापित सुरक्षा प्रक्रियाको उल्लंघनका कारण भएको कम्पनीको भनाइ छ यद्यपि कुन प्रक्रिया उल्लंघन भयो भन्ने खुलाइएको छैन ।

रोमानियाको रक्षा मन्त्रालयले यस घटनाको अनुसन्धान भइरहेको र अहिले नै कसको गल्ती हो भन्नु हतार हुने बताएको छ । औंला काटिएकी अधिकारीको मे १२ र १६ मा न्यु अर्लिन्समा शल्यक्रिया गरिएको थियो तर स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मेरिल्यान्डको वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरमा पठाइएको छ ।

रोमानियाली जलसेनाले गत वर्ष सिल्ड एआईसँग भी–ब्याटको लागि ३ करोड डलरको सम्झौता गरेको थियो जुन सम्झौता अझै कायम रहेको बताइएको छ ।

मार्चमा भएको लगानी संकलनपछि १२.७ अर्ब डलर मूल्यांकन गरिएको सिल्ड एआई सिलिकन भ्यालीको सबैभन्दा ठूलो रक्षा प्रविधि दाउमध्ये एक बनेको छ । युक्रेन, मध्यपूर्व र ताइवानको विषयलाई लिएर चीनसँग बढ्दो तनावका बीच पेन्टागनलाई ड्रोन र स्वायत्त सफ्टवेयर उपलब्ध गराउने मुख्य कम्पनीका रूपमा यसले आफूलाई उभ्याएको छ ।

फेब्रुअरीमा अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले आर्मेनिया भ्रमणका क्रममा भी–ब्याटको पछिल्लो मोडल हेरेका थिए र यसको प्रशंसा गरेका थिए । अन्य ड्रोन स्टार्टअपहरूले पनि युद्धमैदानमा नयाँ प्रविधि पुर्याउन यस्तै चुनौतीहरूको सामना गरिरहेका छन् ।

वायु सुरक्षाको चिन्ता उठाउँदा आफूलाई निकालिएको दाबी गर्ने पूर्व उत्पादन प्रबन्धक ज्याकोब मिलरले सिल्ड एआईको मानसिकता सिलिकन भ्यालीको फेक इट टिल यू मेक इट (सफल नहुञ्जेल सफल भएको नाटक गर्ने) खालको रहेको बताए ।

उनले यस्तो दर्शन मानिसलाई गम्भीर क्षति पुर्याउन सक्ने सैन्य उपकरणहरूमा लागू भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

मिलरले कम्पनी र सिनियर डाइरेक्टर ट्रे लिन्ड्से विरुद्ध मुद्दा पनि दर्ता गरेका छन् । सिल्ड एआईका प्रवक्ताले भने यी दाबीहरू निराधार रहेको र अदालतमा आफ्नो बचाउ गर्ने बताएका छन् ।

सिल्ड एआईको स्थापना सन् २०१५ मा रायन त्सेंग र उनका भाइ ब्रान्डनले गरेका थिए । कम्पनीले छोटो समयमै आधा दर्जनभन्दा बढी विदेशी सेनाहरूलाई भी–ब्याट बिक्री गरे पनि पर्दापछाडि यसले धेरै असफलताहरूको सामना गरिरहेको छ । विगत १८ महिनामा परीक्षण वा प्रशिक्षणका क्रममा यसका २०० मध्ये ५० भन्दा बढी ड्रोनहरू नष्ट भएका छन् ।

सेप्टेम्बरमा पोर्चुगलमा भएको नेटोको एक कार्यक्रममा पनि भी–ब्याट धावनमार्गमा दुर्घटना भएको थियो । फेब्रुअरीमा कम्पनीले धेरै दुर्घटनाहरूका कारण केही हप्ताका लागि उडान रोकेको थियो । एउटा दुर्घटनाका कारण टेक्ससमा भीषण डढेलो समेत लागेको थियो ।

ह्वीसलब्लोअर मिलरका अनुसार, कम्पनीले प्राविधिक कमजोरीहरूलाई लुकाउनका लागि ग्राहकहरूलाई झूटो विवरण दिने गरेको छ । ग्रीसको सेनालाई ड्रोन आफैं उडिरहेको भनिए पनि वास्तवमा त्यसलाई म्यानुअल रूपमा चलाइएको दाबी उजुरीमा गरिएको छ । मिलरले सम्झौताहरू सुरक्षित गर्नका लागि कम्पनीले दुर्घटनाका रिपोर्टहरूबाट तथ्यहरू मेटाउने गरेको पनि आरोप लगाएका छन् ।

जुलाईमा भएको एक परीक्षणका क्रममा भी–ब्याटले अर्को विमान पत्ता लगाउन नसकेपछि सिल्ड एआईकै कर्मचारी र उनका साना छोरा सवार सेसना विमान दुर्घटना हुनबाट जोगिन दिशा बदल्नुपरेको थियो । सुरक्षाको आवाज उठाउने कम्तीमा तीन कर्मचारीलाई बर्खास्त गरिएको स्रोतले बताएको छ ।

सिल्ड एआईले अहिले एक्स–ब्याट नामक ठूलो ड्रोनको मार्केटिङ गरिरहेको छ । त्यसको मूल्य ३ करोड डलर पर्ने अनुमान गरिएको छ । पेन्टागनले यो नयाँ ड्रोनका लागि सिल्ड एआईलाई सम्झौता प्रदान गरिसकेको छ ।

कम्पनीले सन् २०२९ सम्म चारवटा प्रोटोटाइप बनाउन ५० करोड डलर सहयोग मागेको छ । एक्स–ब्याटले पनि भी–ब्याटकै उडान नियन्त्रण प्रणाली प्रयोग गर्ने अपेक्षा गरिएको छ । पेन्टागनले प्रविधि विकासमा जोखिम हुनु सामान्य भएको र यसलाई सिकाइ प्रक्रियाको रूपमा लिने बताएको छ ।