आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र पुलिस फुटबल क्लबबीच सम्झौता

21
Shares

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास, खेलाडी तथा कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि एवं संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात नेपाल पुलिस अन्तर्गतको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानसँग आवद्ध खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरू लगायत नेपाल पुलिसलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका विभिन्न बीमा योजनामा आवद्ध गरी सेवा प्रदान गरिने बताइएको छ ।

सहकार्य अन्तर्गत आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुलिस फुटबल क्लबलाई आर्थिक सहयोग प्रदान गर्नेछ । उक्त सहयोगले क्लबको खेलकुद गतिविधि, खेलाडी विकास तथा संस्थागत सुदृढीकरणमा टेवा पुग्ने विश्वास गरिएको बताइएको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालको ऐतिहासिक र गौरवशाली क्लब–नेपाल पुलिस क्लबसँग सहकार्य गरी खेलाडीहरुको मनोबल उच्च राख्दै खेलकुद क्षेत्रको विकास र विस्तारमा सहभागी हुन पाएकोमा गौरवान्वित महसुस भएको बताए ।

उक्त कार्यक्रममा श्रेष्ठले दुवै संस्था बिचको सहकार्य निरन्तर रहि रहने प्रतिवद्धता व्यक्त गर्दै खेलकुद त्यसमा पनि फुटबल आफ्नो व्यक्तिगत रुपमा पनि रुचीको विषय भएको र नेपाल पुलिस जस्तो संस्थासँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे ।

सोही कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले यस सहकार्यले खेलाडीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै क्लबको दीर्घकालीन विकास यात्रामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।