
एजेन्सी । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बिहीबार युक्रेनलाई सहायता प्रदान गर्ने र रुसमाथि नयाँ प्रतिबन्धहरू लगाउने विधेयक पारित गरेको छ । यो केही रिपब्लिकनहरू आफ्ना पार्टीका नेताहरूको अवज्ञा गर्न र राष्ट्रपति डोनल्ड ट्रम्पको विरोध गर्न तयार रहेको पछिल्लो संकेत हो ।
सदनले युक्रेन सपोर्ट एक्टको पक्षमा २२६ र विपक्षमा १९५ मत दिएको थियो । यो महिनौंको पर्खाइपछि मतदानका लागि प्रस्तुत भएको थियो । केही रिपब्लिकनहरूले डेमोक्रेटहरूसँग मिलेर मतदानका लागि दबाब दिन डिस्चार्ज पिटिसन (विशेष प्रक्रिया) मा हस्ताक्षर गरेका थिए ।
बिहीबार १८ जना रिपब्लिकन र सामान्यतया उनीहरूसँगै मतदान गर्ने एकजना स्वतन्त्र सांसदले विधेयक पारित गर्न डेमोक्रेटहरूलाई साथ दिएका थिए । ट्रम्पको पार्टीका सदस्यहरूबीच उनका नीतिहरूप्रति रहँदै आएको लगभग सर्वसम्मत समर्थनमा दरार आएको यो पछिल्लो संकेत थियो ।
संसद्ले युद्धको घोषणा नगरेसम्म वा सैन्य बल प्रयोगको आदेश नदिएसम्म इरानसँगको शत्रुताबाट सेना फिर्ता गर्न बाध्य पार्ने संकल्प प्रस्ताव पारित गर्न केही रिपब्लिकनहरूले डेमोक्रेटहरूलाई साथ दिएको भोलिपल्ट यो विधेयक पारित भएको हो ।
अमेरिकाका लागि युक्रेनी राजदूत ओल्हा स्टेफनिशिनाले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै यस निर्णयलाई महत्त्वपूर्ण कदम र युक्रेनका लागि निरन्तर द्विदलीय समर्थनको प्रतिबिम्ब भनेकी छन् ।
तर, युक्रेन सपोर्ट एक्टको भविष्य भने अनिश्चित छ । यसलाई कानुन बन्नका लागि सिनेटबाट पारित हुनुपर्छ जहाँका रिपब्लिकन नेताहरूले ट्रम्पको निर्देशन पर्खने भन्दै व्यापक द्विदलीय समर्थन प्राप्त रुस विरुद्धको प्रतिबन्ध सम्बन्धी विधेयकमा मतदान गर्न अनुमति दिएका छैनन् ।
सिनेटबाट पारित भए पनि यस विधेयकलाई ट्रम्पले भिटो प्रयोग गरेर रोक्न सक्ने सम्भावना छ ।
सन् २०२२ को फेब्रुअरीमा रुसले पूर्णस्तरको आक्रमण सुरु गरेपछिका सुरुवाती वर्षहरूमा दुवै दलका धेरै सांसदहरूले युक्रेनलाई कडा समर्थन गरे पनि सन् २०२५ को जनवरीमा ट्रम्प ह्वाइट हाउसमा फर्किएपछि सदन र सिनेटको नेतृत्वसहित उनका केही नजिकका रिपब्लिकन सहयोगीहरू किभप्रति अनुदार बन्दै गएका छन् ।
आफ्नो दोस्रो कार्यकाल सुरु गरेदेखि राष्ट्रपतिले प्रतिबन्ध सम्बन्धी निर्णयहरू संसद्को सट्टा ह्वाइट हाउसमै सीमित राखेका छन् ।
रुस र युक्रेनले एकअर्कामाथि मिसाइल, ड्रोन र तोपबाट आक्रमण जारी राखे पनि किभ सरकारलाई दिइने अमेरिकी सहायतामा तीव्र गिरावट आएको छ । शान्ति वार्ताहरू ठप्प छन् र युक्रेनले सन् २०२२ देखि सफलतापूर्वक रक्षा गर्दै आएको आफ्नो भूभाग रुसलाई सुम्पिनुपर्ने भ्लादिमिर पुटिनको मागलाई अस्वीकार गरेको छ ।
युक्रेन सपोर्ट एक्टमा युद्धपछि युक्रेनको पुनर्निर्माणमा मद्दत गर्ने उपायहरू समावेश छन् जसमा किभका लागि १ अर्ब डलरभन्दा बढीको सहायता र ८ अर्ब डलरसम्मको प्रत्यक्ष ऋण सहयोगको व्यवस्था गरिएको छ । यसले वित्तीय संस्थाहरू, तेल, खानी र रुसी अधिकारीहरू सहित रुसमाथि कडा प्रतिबन्ध र निर्यात नियन्त्रणहरू पनि लागू गर्छ ।
यो विधेयक यस्तो समयमा पारित भएको हो जब युक्रेनको अर्को सहयोगी युरोपेली संघले यसै हप्ता किभसँग संघमा आबद्ध हुने विषयको पहिलो चरणको वार्ता सुरु गर्न सहमति जनाएको छ । यसअघि युक्रेनको रक्षा र अर्थतन्त्रलाई बलियो बनाउन ९० अर्ब युरोको ऋण वितरण गर्ने सम्झौता भएको थियो ।









प्रतिक्रिया