
काठमाडौं । डेल ब्रान्डको सामग्री आयात गरी नेपाली बजारमा वितरण गर्दै आएको आईटी ग्लोबलले चालु आर्थिक वर्षको साढे ११ महिनाको अवधिमा १ अर्ब ७ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले गत आवमा १ अर्ब २ करोड ५० लाख रुपैयाँ, सन् २०२४ मा ९८ करोड रुपैयाँ र सन् २०२३ मा १ अर्ब २ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार गत आवमा ३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, कम्पनीको नाफा मार्जिन गत आवमा ६.६६ प्रतिशत छ । त्यस्तै, कम्पनीले चालु आवको साढे ११ महिनाको अवधिमा नाफा मार्जिनमा सुधार भई ७.१७ प्रतिशतमा पुगेको छ ।
कम्पनीको चालु साढे ११ महिनामा ४.७१ प्रतिशत खुद नाफा कमाएको छ । गत आवमा ०.८० प्रतिशत खुद नाफा गरेको थियो । त्यस्तै, कम्पनीको कुल नगद सञ्चिति ६ करोड २० लाख रुपैयाँ पुगेको छ । उक्त सञ्चितीले कम्पनीको समग्र आम्दानीमा सुधार आएको छ । कम्पनीको पुँजी संरचना अझै पनि उच्च ऋणभारयुक्त रहेको छ । आन्तरिक सञ्चित नाफामार्फत् कम्पनीको नेटवर्थ सुदृढ बन्दै गएपछि ऋणसम्बन्धी सूचकहरुमा उल्लेखनीय सुधार देखिएको छ ।
कम्पनीको समग्र गियरिङ अनुपात गत आवसम्ममा २.७१ गुणा थियो । चालु आवको साढे ११ महिनासम्ममा २.०३ गुणामा सुधार भएको छ । कुल बाह्य दायित्व/ट्यान्जिबल नेटवर्थ अनुपात ३.१५ गुणाबाट २.५१ गुणामा घटेको छ । कम्पनीको ब्याज भुक्तानी क्षमता सूचक गत आवमा ०.५९ गुणाबाट बढेर चालु आवको साढे ११ महिनाको अवधिमा १.१७ गुणा पुगेको छ । कम्पनीको ऋण सेवा कवरेज अनुपात १ गुणाभन्दा कम रहेको छ ।
सन् २००८ मा स्थापना भएको कम्पनीले ल्यापटप, कम्प्युटर लगायतका सामान आयात गरी बिक्री गर्दै आएको छ । नेपालमा डेल ब्रान्डको आधिकारिक वितरक छन् । त्यसमध्ये कम्पनी एक हो । कम्पनी आन्तरिक बजारमा आईट हार्डवेयर वितरण सेग्मेन्टमा स्थापित भइसकेको छ ।
अकबर हुसेनको शत प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ६७ करोड ६२ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६६ करोड ६२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब १ करोड रुपैयाँको रेटिङ गराएको हो ।





प्रतिक्रिया