ट्रेड युनियनको दर्ता र नवीकरण सुरू, सूची सार्वजनिक गर्दै विभागले आह्वान गर्‍यो दावी विरोध

161
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको युवा, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न ट्रेड युनियन संघहरूको नयाँ दर्ता तथा नवीकरणका लागि दावी विरोध आह्वान गरेको छ ।

विभागले ट्रेड युनियन ऐन, २०४९ बमोजिम नयाँ दर्ताका लागि निवेदन दिने र नवीकरणका लागि प्रक्रियामा रहेका ट्रेड युनियन संघहरूको सूची सार्वजनिक गर्दै सूचना प्रकाशित गरेको हो ।

नयाँ दर्ता हुन चाहनेहरूमा ‘सुरक्षा श्रमिक ट्रेड युनियन नेपाल’ र ‘नेपाल माउन्टेन गाइड ट्रेड युनियन’ रहेका छन् । यस्तै, नवीकरणका लागि नेपाल प्रजातान्त्रिक होटल मजदुर संगठन, नेपाल चिया बगान श्रमिक संघ, राष्ट्रिय स्वतन्त्र पेन्टर मजदुर संगठन, खेलकुदसँग सम्बन्धित स्पोर्ट्स युनियन नेपाल, स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन, र पेट्रोलियम ट्यांकर चालक संघ लगायतका विभिन्न क्षेत्रका श्रमिक संगठनहरूले विभागमा निवेदन दिएका छन् ।

विभागका अनुसार, यी संघहरूको दर्ता वा नवीकरण सम्बन्धमा कसैको दावी विरोध भएमा वा स्वीकृतोक्ति परिवर्तन गर्न चाहेमा प्रमाणसहित उजुरी दिन सकिनेछ ।

ट्रेड युनियन ऐनको दफा ४ (१) बमोजिमका संघका लागि सात दिन भित्र र सोही ऐनको दफा ४ (२) बमोजिमका संघका लागि १५ (पन्ध्र) दिन भित्र स-प्रमाण उजुरी दर्ता गर्नुपर्ने विभागले जनाएको छ ।

सूचना प्रकाशित भएको दिनलाई म्याद गणनामा समावेश गरिने छैन र म्यादको अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयसम्म दावी विरोध गर्न सकिने विभागले जनाएको छ ।

तोकिएको समयभित्र कुनै दावी विरोध नआएमा कानुन बमोजिम दर्ता तथा नवीकरणको प्रक्रिया पुरा गरिने विभागको सूचनामा उल्लेख छ । प्रस्तावित तथा क्रियाशील ट्रेड युनियन संघहरूको विस्तृत विवरण विभागको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ ।