बालेनको योजनाअनुसार मकवानपुरमा घरमै पुग्न थाल्यो पासपोर्ट, निश्चल बने पहिलो


मकवानपुर । मकवानपुरमा आजदेखि राहदानी (पासपोर्ट) सेवाग्राहीको घरमै पुग्ने सेवा औपचारिक रूपमा सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाक सेवामार्फत सेवाग्राहीको घर–घरमै राहदानी पुर्‍याउने व्यवस्था बुधबारदेखि लागू गरेको हो ।

नेपाल सरकारले अघि सारेको सयबुँदे शासकीय सुधार कार्ययोजना अन्तर्गत नागरिकलाई सहज रूपमा राज्यको सेवा घरमै उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको प्रशासनले जनाएको छ ।

सोही कार्ययोजनाको बुँदा नम्बर २७ अनुसार घरदैलोमै सेवा पुर्‍याउने नीति कार्यान्वयनका रूपमा मकवानपुरमा यो सेवा सुरु गरिएको हो ।

प्रारम्भिक चरणमा हेटौँडा उपमहानगरपालिका क्षेत्रबाट सेवा प्रवाह सुरु गरिएको छ । पहिलो दिन हुलाक कार्यालय मकवानपुरले हेटौँडा–४, कपुर कम्प्लेक्सनजिक बस्ने २२ वर्षीय निश्चल मानन्धरको घरमै पुगेर राहदानी बुझाएको छ । राहदानी वितरणका लागि हल्कारा, जिल्ला हुलाक कार्यालयका प्रमुख तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारी स्वयं मानन्धरको घरमै पुगेका थिए ।

घरमै राहदानी पाउँदा खुसी व्यक्त गर्दै मानन्धरले सरकारको कदम स्वागतयोग्य भएको बताए ।

जिल्ला प्रशासन कार्यालयले बुधबार नै वितरणका लागि हुलाक कार्यालयलाई ५० वटा राहदानी उपलब्ध गराएको छ । जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश लामिछानेका अनुसार ती सबै राहदानी सोही दिन सेवाग्राहीको घर–घरमा पुर्‍याउने तयारी गरिएको छ । उनका अनुसार उपमहानगरका नजिकका वडामा सोही दिन राहदानी पुर्‍याइनेछ भने टाढाका स्थानमा अधिकतम भोलिपल्ट बेलुकासम्म वितरण गरिनेछ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार राहदानी तयार भएपछि पुनः कार्यालय धाउनुपर्ने झन्झट अन्त्य गर्न यो सेवा सुरु गरिएको हो । सेवा प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले जिल्ला हुलाक कार्यालयसँग समन्वय गरेर तयारी गरिएको उनले बताए ।

हालसम्म तयार भइसकेका तर लिन नआएका करिब ५०० राहदानी पहिलो चरणमा हुलाकमार्फत घरमै पुर्‍याउने योजना प्रशासनको छ । स्रोतसाधन र सुरक्षा संवेदनशीलताका कारण तत्काल अन्य पालिकामा सेवा विस्तार गर्न नसकिए पनि आवश्यक जनशक्ति र साधन उपलब्ध भएपछि विस्तार गरिने जनाइएको छ ।

यस व्यवस्थाले सेवाग्राहीलाई समय, खर्च र झन्झट घट्नुका साथै सार्वजनिक सेवा प्रवाह थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ । आगामी दिनमा नागरिकता, राष्ट्रिय परिचयपत्र तथा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) समेत हुलाकमार्फत घरमै उपलब्ध गराउने योजना प्रशासनले बनाएको छ ।

Skip This