पाथीभरा केबलकार विवाद: राजेन्द्र महतो नेतृत्वमा गएको समूहको ढुंगा प्रहारबाट ११ सुरक्षाकर्मी घाइते

घाइतेको उद्धारमा गएको सवारीमा तोडफोड, चालकमाथि कुटपीट

2.2k
Shares

ताप्लेजुङ । ताप्लेजुङमा केबलकार बनाउन हुँदैन भन्ने समूह र सुरक्षकर्मीबीच झडप भएको छ ।

बिहीबार भएको झडपमा ११ सुरक्षाकर्मी र एक प्रर्दशनकारी घाइते भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार झडपमा सुरक्षाकर्मीले ७ सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।

पाथीभरामा केवलकार निर्माण गर्दा ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ सयुक्त संघर्ष समितिले प्रतिवाद गर्दै आएको छ। त्यसैक्रममा संयुक्त संघर्ष समिति नो केवलकार र केवलकार खारेज संघर्ष समितिले विहीबार माथिल्लो फेदीवाट पदयात्रा निकाल्दै केवलकार निमार्ण स्थल तल्लोफेदी काफ्लेपाटी देखि करिव एक किलोमिट पूर्वदक्षिण डडेले जान खोजेका थिए । तर सुरक्षाकर्मीले रोक्न खोजेपछि झडपको स्थिति बनेको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेको थिए ।

निर्माणस्थलको माथिबाट ढुङगा प्रहार गर्दा भएको झडपमा नेपाल प्रहरीका ६ र सशस्त्र प्रहरीका ५ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

‘घाइतेको उद्धार गर्न सदरमुकाम फुङलिङबाट गएको गाडी प्रर्दशनकारीले बाटैमा रोकेर तोडफोड समेत गरेका छन्,’ उनले भने, ‘त्यो गाडीका चालक पनि गम्भीर घाइते छन् ।’ गाडीका चालक राजकुमार पौडेल हुन् ।

प्रर्दशनकारीको पदयात्रा अघि माथिल्लो फेदीमा कोणसभा भएको थियो । कोणसभालाई राष्ट्रिय मुक्ति पाटीका अध्यक्ष राजेन्द्र महतोसहित रकम चेम्जोङ, राम मादेन, खगेन्द्र फेम्बु र डकेन्द्रसिंह थेगिम लगायतले सम्बोधन गरेका थिए । त्यसपछि निस्किएको पदयात्रामा सहभागीले निर्माणस्थल पुगेर ढुंङगामुडा गर्न थालेपछि दोहोरो झडप भएको प्रजिअ शर्माले क्लिकमान्डुलाई जानकारी दिए ।

संघीय, प्रदेश र स्थानीय सरकार पाथीभरा माताको दर्शन गर्न जो कोहीलाई सहज रुपमा पुर्‍याउन केबलकार निर्माणमा लागेको छ ।

तर खगेन्द्र फेम्बुको नेतृत्वमा गठित नो केबलकार मुक्कुमलुङ संघर्ष समिति, केवलकार खारेजी संघर्ष समिति सहित पहिचावादी पक्षले पाथीभरा माता केबलकार कम्पनीले केबलकार निर्माण अगाडी बढाए देखि नै अवरोध गर्दै आएको छ ।

आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बु समुदायको मुन्धुमीस्थल भएकाले केबलकार निर्माण गरेर त्यसको अस्तित्व मेटन नहुने भन्दै त्यसलाई यथावत अवस्थामा राख्नु पर्ने माग गर्दै आन्दोलन गर्दै आएको छ ।

केवलकारको पहिलो स्टेशन निर्माणको जिम्मेवारी पाएको हिमालयन कन्ट्रक्सनले काफ्लेपाटीदेखि करिव एक किलोमिटर पूर्वदक्षिण डडेलेमा निर्माण कार्य सुरु गरेलगत्तै माघ दोस्रोसाता आन्दोलनरत पक्ष र सुरक्षाकर्मी बीच निर्माण स्थलभन्दा करिव दुई किलोमिटर माथि वालुडाँडामा झडप हुँदा आन्दोलनरत पक्षका ५ र सुरक्षाकर्मी १३ जना घाइते भएका थिए । त्यसक्रममा पाँचथरका १७ वर्षिय सगुन लिम्बु र तेह्रथुमका ३७ वर्षिय यामवहादुर लिम्बुलाई सुरक्षाकर्मीको गोली लागेको थियो ।