ग्राउन्ड जिरो

पाथीभरामा केबलकारको अनुमति दिने ‘डम्बरबहादुर’ नै ‘नो केबलकार’ आन्दोलनको अगुवा !


ताप्लेजुङ । पाथीभरा केबलकार निर्माणका लागि अनुमति दिने व्यक्ति नै केबलकार खारेज गर्नुपर्ने माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेको खुलेको छ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरसम्म धर्मावलम्बीलाई सहज रुपमा पुग्न केलवकार निर्माणका लागि अनुमति दिने फुङलिङ नगरपालिकाका तत्कालीन जनप्रतिनिधि नै अहिले ‘नो केबलकार’ र केबलकार खारेजी संघर्ष समितिको आन्दोलनमा सक्रिय भएको पाइएको हो ।

कुरो २०७५ सालमा पुस १४ गते शनिबारको हो । फुङलिङ नगरपालिकाका तत्कालीन मेयर छत्रपति प्याकुरेलको अध्यक्षतामा सम्पन्न नगरपालिकाको चौथो नगर सभाले पाथीभरादेवी दर्शन केबलकार प्रालिलाई नगरको वडा नं. ११ तल्लोफेदी/काफ्लेपाटी क्षेत्रबाट पाथीभरादेवी मन्दिर सम्म जाने केबलकार (रज्जुमार्ग) निर्माण तथा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो ।

नगर सभाले निर्णय नम्बर ७ मा पाथीभरादेवी दर्शन केबलकार प्रालिलाई नगरको वडा नं. ११ तल्लोफेदी/काफ्लेपाटी क्षेत्रबाट पाथीभरादेवी मन्दिर सम्म जाने केबलकार (रज्जुमार्ग) निर्माण तथा सञ्चालन गर्न अनुमति दिने उल्लेख छ । यस्तो निर्णय गर्दा सभाको उपस्थिति पुस्तिकाको ४६ नम्बरमा नाम दर्ता भएका तत्कालीन नगरसभा सदस्य डम्बरबहादुर पालुङ्वाले पनि निर्णयमा हस्ताक्षर गरेका थिए ।

त्यही निर्णय एवम् डकुमेन्टमा हस्ताक्षर गर्ने तत्कालीन नगरसभा सदस्य पालुङवा अहिले ताप्लेजुङमा चर्किरहेको नो केबलकार र केबलकार खारेजी संघर्ष समितिको आन्दोलनको अगुवा बनेका छन् ।

यस्तो छ, तत्कालीन मेयर प्याकुरेलको अध्यक्षतामा सम्पन्न नगरको चौथो नगर सभाको निर्णय नम्बर ७ रज्जुमार्ग (केबलकार) निर्माण तथा सञ्चालन सम्बन्धमा गरिएको निर्णयको विवरणः

उक्त निर्णयमा पालुङवाले गरेको हस्ताक्षर अझै आलै छ ।

तत्कालीन लिम्बुवान मुक्ति मोर्चाका सक्रिय सदस्य पालुङवा २०७४ सालको स्थानीय तह निर्वाचनमा फुङलिङ नगरपालिका वडा नं. ७ बाट लिम्बुवानका तर्फवात नेकपा एमालेसँग चुनावी सहकार्य गर्दै सूर्य चुनाव चिन्हबाट नगर सदस्य पदमा विजयी भएका थिए ।

पालुङवा आफैंले हस्ताक्षर गरेको निर्णय अनुरुप यसबेला ताप्लेजुङको काफ्लेपाटी देखि करिब एक किलोमिटर दक्षिणपूर्व डडेले भन्ने स्थानमा केबलकारको तल्लो स्टेसन निर्माण सुरु भएको छ । त्यही केबलकार निर्माण अनुमति दिने पालुङवा यसबेला केबलकार खारेजी संघर्ष समितिको अगुवा बनेर केबलकार खारेजीका लागि सशक्त आन्दोलन गर्दैछन् ।

उनको अराजकता त्यतिमा मात्र सिमित छैन । उनी अहिले बालुडाँडामा बसेर आफ्नै सहकर्मी पूर्वजनप्रतिनिधि, प्रहरी र केबलकार पक्षधर सर्वसाधारणलाई ढुंगा हान्छन् ।

संघीय, प्रदेश र स्थानीय सरकार पाथीभरा माताको दर्शन गर्न जो कोहीलाई सहजरुपमा पुर्याउन केबलकार निर्माण गरेरै छाड्ने अडानमा छन । तर, खगेन्द्र फेम्बुको नेतृत्वमा गठित नो केबलकार मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति सहित पहिचावादी पक्षले पाथीभरा माता केबलकार कम्पनीले केबलकार निर्माण प्रत्रिया अगाडि बढाए देखि नै अवरोध गर्दै आएको छ । आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बु समुदायको मुन्धुमीस्थल भएकाले केबलकार निर्माण गरेर त्यसको अस्तित्व मेट्न नहुने भन्दै त्यसलाई यथावत अवस्थामा राख्नु पर्ने माग गर्दै आन्दोलन गर्दै आएको छ ।

केबलकारको पहिलो स्टेसन निर्माणको जिम्मेवारी पाएको हिमालयन कन्ट्रक्सनले काफ्लेपाटीदेखि करिब एक किलोमिटर दक्षिणपूर्व डडेलेमा निर्माण कार्य सुरु गरेलगत्तै माघ दोस्रोसाता आन्दोलनरत पक्ष र सुरक्षाकर्मी बीच निर्माण स्थलभन्दा करिब दुई किलोमिटर माथि वालुडाँडामा झडप हुँदा आन्दोलनरत पक्षका ५ र सुरक्षाकर्मी १३ जना घाइते भएका थिए ।

पाथीभरा मन्दिरलाई लक्षित गरेर फुङलिङ ११ काफ्लेपाटीदेखि करिब एक किलोमिटर पूर्वदक्षिण डडेलेबाट ३ अर्बको लागतमा मन्दिर छेउसम्म २.७५ किलोमिटर केबलकार निर्माण गर्न नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको पाथीभरा मुक्कुमलुङ केबलकार प्रालिले अनुमति पाएको छ । पाथीभरा माताको मन्दिर क्षेत्र फुङलिङ नगरपालिका सहित सिरिजंगा र फक्ताङलुङ गाउँपालिकाको ३७९४ मिटर अग्लो संगम क्षेत्रमा पर्छ ।

आन्दोलनपक्ष र सुरक्षाकर्मी बीचको झडपपछि ताप्लेजुङ अशान्त बन्दै आएको छ । झडप लगत्तै आन्दोलनरत पक्षले मेची करिडोर अनिश्चितकालीन बन्द गरेका थिए । सातासम्म चौबिस घण्टे बन्द गर्दा ताप्लेजुङवासी औषधी उपचारदेखि दैनिक उपभोग्य वस्तुबाट बञ्चित रहे । बन्दको बाछिटाले छिमेकी जिल्ला पाँचथर र इलामवासी पनि प्रभावित बनेका छन् ।

त्यसबीचमा संघीय सरकारले आन्दोलनकारीलाई वार्तामा बोलाएको थियो । सरकारले पक्राउ परेका आन्दोलनकारीलाई रिहा पनि गर्यो। आन्दोलनरत पक्षले अनिश्चितकालीन बन्द स्थगन गरेर सरकारसँग तेस्रो चरणसम्म वार्ता गर्यो । वार्ताबाट सहमति नजुटेपछि आन्दोलनरतपक्ष यसबेला चरणबद्ध आन्दोलनमा छ ।

कोशी प्रदेश नामाकरण खारेजी आन्दोलन तुहिएपछि पहिचानवादीहरुले पाथीभराको केबलकार खारेजी आन्दोलनलाई आफ्नो प्रतिष्ठाको रुपमा लिएका छन् । प्रदेश सरकारले गएको २०७९ फागुन १७ तत्कालीन १ नं. प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचानवादीहरु आन्दोलनमा उत्रिएका थिए ।

त्यसपछि प्रदेश सरकार र आन्दोलनरत पक्षबीच ३ पटक वार्ता भयो । तिनै चरणको वार्ताले कुनै निकास ननिकालेपछि पहिचानवादीको आन्दोलन स्वतः तुहिएको थियो ।

पहिचानवादीका मोरङका एक नेताले क्लिमान्डुसँग भने, ‘कोशी प्रदेश नामाकरण खारेजीको आन्दोलन आफैं तुहियो अब पहिचानवादीको प्रतिष्ठा पाथिभरी केबलकार खारेजी आन्दोलनमा जोडिएको छ । यो आन्दोलन पनि तुहियो भने पहिचानवादीको प्रतिष्ठामा आँच आउने पक्का छ ।’

ताप्लेजुङमा नो केबलकार र केबलकार खारेजी आन्दोलन जारी रहँदा आन्दोलनमा स्थानीयको न्यून सहभागिता छ । खास गरेर पाथीभरा मन्दिर पैदल जाँदा बीचमा पर्ने माथिल्लो फेदीका होटल व्यवसायी र उनीहरु प्रायोजितहरु मात्र आन्दोलनमा सक्रिय छन् ।

टुरिस्ट आन्दोलनकारीको भरमा पहिचानवादी

केबलकार विरोधी आन्दोलनमा टुरिष्ट आन्दोलनकारी बढी छन् । वालुडाँडामा पाल टाँगेर बस्ने र मोथिल्लो फेदीका होटलले प्रायोजन गरेका आन्दोलनकारीहरु तथा सुरक्षाकर्मीसँगको झडपमा घाइते हुने सबै ताप्लेजुङ बाहिरका छन ।

जिल्लास्थित सुरक्षा स्रोत भन्छ, ‘खासगरी योद्धा भनेर नावालक युवाहरुलाई हौसाइएको देखिन्छ ।’ उनका अनुसार केबलकार विरोधी आन्दोलनका लागि पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, झापा, मोरङ, सुनसरी लगायतका जिल्लाबाट लिम्बुवान र पहिचानवादी पर्यटक आन्दोलनकारी ताप्लेजुङ पुगेको पाइएको छ ।

फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले पाथीभरामा केबलकार निर्माणकार्यलाई अवरोध पुर्या‍एर आन्दोलनरत पक्षले सिंगो जिल्लाको विकास र समृद्धिको आधार नै बन्द गर्ने प्रयत्न गरेको आरोप लगाए ।

‘हिँजो केबलकार निर्माण गरिनु पर्छ भन्दै जसले अनुमति दिन हस्ताक्षर गरे आज उनीहरुनै केबलकार खारेजीको माग गर्दै ढुङगामुढा गर्दै छन्,’ मादेनले क्लिकमान्डुसँग भने, ‘उनीहरुको भुमिका हिँजो अनुमति दिन माइनुटमा हस्ताक्षर गर्ने नगरपालिकाका पूर्वजनप्रतिनिधिहरुका लागि लज्जाको विषय बनेको छ ।’

जसले विरोध गरेपनि पाथीभरामा केबलकार निर्माण भएरै छाड्ने मादेनको अडान छ । उनले भने, ‘पहिचानवादीका नाममा केही व्याक्तिले इतिहास र किंवदन्ती नै नबुझी पाथीभरालाई मुक्कुमलुङ भन्दै केबलकार निर्माण कार्य रोकेर रोकिँदैन ।’ जात र धर्मको नाममा विकास अवरुद्ध गरेर सिंगो ताप्लेजुङको विकासको आधारमै प्रहार नगर्न आन्दोलनरत पक्षलाई मादेनको आग्रह छ ।