विकासको विरोधले अशान्त छ ताप्लेजुङ


विराटनगर । यतिबेला ताप्लेजुङ अशान्त छ । कारण हो, पूर्वको प्रशिद्ध तीर्थस्थल पाथीभरामा माताको दर्शन गर्न धर्मावलम्बीलाई सहज रुपमा पुर्‍याउन बन्दै गरेको केबलकारको विरोध ।

पाथि भरिँदा बन्ने चुली जस्तो देखिने पहाडको शिखरमा बिराजमान छन्, पाथिभरा माता । यो जटिल भुगोलको टुप्पोमा पुग्न जोकोहीलाई सम्भव छैन । ठमठम हिँड्न सक्नेबाहेकका व्यक्ति त्यहाँसम्म पुग्न आँट गर्दैनन् । ठाडो उकालो यात्रा तय गर्न नकस्ने वृद्ध, अशक्त र बालबालिका पुग्न सक्दैनन् । ‘पाथिभरा जान्छु’ भनेपछि भाकल गरेको मानिन्छ, पूर्वमा त्यसैले पाथिभरा आकाशको फल झैं हुन्छ धेरैका लागि ।

पाथिभरालाई किराँत समुदायलाई मुकुम्लुङ भन्छन् । जसको अर्थ हुन्छ, शक्तिको पत्थर । मुकुम्लुङलाई किराँत समुदायले इष्टदेवता युमा माङका रूपमा पुजा गर्छन् । पाथिभराको शिखरमा युमा माङको एक अवतार मानिने महागुरू फाल्गुनन्दको शालिकसमेत राखिएको छ ।

यसर्थ, पाथिभरा (मुकुम्लुङ)को महत्त्व हिन्दुदेखि किराँत समुदायमा छ । बौद्ध धर्मावलम्वीहरूको पनि आस्थाको केन्द्र हुन् पाथिभरा । तसर्थ जोकोही जान चाहन्छन् । तर, सम्भव भने सबैलाई हुँदैन ।

अहिले पाथिभराको टाकुरामा केबलबार बन्दैछ । तल्लो स्टेसनमा काम सुरू भएको छ । एकातिर धार्मिक महत्त्व फैलाउन र सबैको पहुँच पुर्‍याउन आवश्यक छ केबलकार । अर्कातिर विकास निर्माणको काम हो केबलकार जस्तो यातायात पूर्वाधार निर्माण ।

केबलकारले ताप्लेजुङमा पर्यटकको संख्या वृद्धिदेखि निर्माण सामाग्रीको खपत, रोजगारी सिर्जना, प्रचारप्रशार लगायत अनगिन्ति अवसरको ढोका खोल्नेछ । ताप्लेजुङले विकासको मानेमा जुर्मुराउने अवसर पाउनेछ । ताप्लेजुङ पुग्न पाँचथर, इलाम, झापा, तेह्रथुम, सुनसरी, धनकुटा आदि जिल्ला हुँदै सडकमार्गमार्फत् जान सकिने भएकाले ती जिल्लाका नागरिक आयस्तर र जीविकोपार्जनमा पनि योगदान पुर्‍याउनेछ, केबलकारले ।

यतिमात्र होइन, निर्माणको बेला निर्माण सामाग्री खपत र पछि पर्यटन प्रबर्द्धनमार्फत् समग्र देशकै अर्थतन्त्रमा टेवा पुर्‍याउनेछ केबलकारले ।

यस्ता अनेकौं अवसरको ढोका खोल्ने केबलकारलाई रोक्न एउटा पक्ष अहिले आन्दोलनरत छ । यही अवरोधको नाममा अहिले ताप्लेजुङ र पुरै पूर्व अशान्त बनेको हो ।

संघीय, प्रदेश र स्थानीय सरकार पाथीभरा माताको दर्शन गर्न जो कोहीलाई सहज रुपमा पु¥याउन केबलकार निर्माण आवश्यक रहेको निष्कर्षमा छन् । तर खगेन्द्र फेम्बुको नेतृत्वमा गठित नो केबलकार मुक्कुमलुङ संघर्ष समितिले पाथीभरा माता केबलकार कम्पनीले केबलकार निर्माण प्रक्रिया अगाडि बढाए देखि नै अवरोध गर्दै आएको छ ।

यसैक्रममा गत शनिबार सुरक्षाकर्मी र संघर्ष समिति बीच झडप समेत भयो । झडपमा संघर्ष समितिका ५ र सुरक्षाकर्मी तर्फ १३ जना घाइते भए । त्यसलगत्तै संघर्ष समितिले मेची राजमार्ग र तमोर कोरिडोर बन्द गरेको छ । यो कार्यको पिडा सर्वसाधारणले भोग्नु परेको छ ।

ताप्लेजुङको यो अशान्तिलाई विकासका पक्षधर र विकास विरोधीबीचको द्वन्द्वका रुपमा लिइएको छ ।

उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष नारायण थापा भन्छन, ‘पाथीभरा माताको मन्दिरसम्म जो कोही सहज रुपमा पुग्न र त्यस क्षेत्रमा केबलकारको व्यवस्था गरेर धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न तीनै तहका सरकार प्रतिबद्ध छन । तर संघर्ष समिति पाथीभरा मुक्कुमलुङ लिम्बु समुदायको मुन्धुमीस्थल भएकाले केबलकार निर्माण गरेर त्यसको अस्तित्व मेटन नहुने भन्दै त्यसलाई यथावत अवस्थामा राख्नु पर्ने अडान राख्दै आएको छ ।’

‘लिम्बु समुदायको धार्मिक अस्तित्वको पनि संरक्षण हुनुपर्छ र केबलकार पनि निर्माण गरिनु पर्छ,’ थापा भन्छन्, ‘विकासका काम रोक्नु हुँदैन ।’ निर्माण पक्षले धार्मिक अस्तित्वमाथि खलल पुग्न नदिने प्रतिवद्धताका साथ निर्माण कार्य सुरू गरेको छ । शिखरको करिब ८०० मिटर तल केबलकारको माथिल्लो स्टेसन बन्ने योजना रहेकाले पनि केबलकार निर्माणले धार्मिक र सांस्कृतिक पाटोमा कुनै क्षती पुग्ने छैन ।

पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकार सिंगो ताप्लेजुङको विकासको आधार बन्ने थापाको बुझाई छ ।

पाथीभरा माताको मन्दिर ताप्लेजुङको फुङलिङ नगरपालिका, फक्ताङलुङ र सिरिजंगा गाउँपालिकाको संगम स्थलमा रहेको ३७९४ मिटर उचाईमा छ । यो मन्दिर पुग्न ताप्लेजुङको फुङलिङ बजारवाट सुकेटार, काफलेपाटी, ठुलोफेदी हुँदै जानु पर्छ ।
ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि सुकेटारसम्म पक्की सडकको छ । त्यहाँबाट करिब १० किलोमिटर कच्ची सडक यात्रा तय गरे पछि काफलेपाटी पुगिन्छ । काफ्लेपाटीलाई तल्लो फेदी पनि भनिन्छ । काफलेपाटीबाट ठाडो उकालो बाटो तय गरेर पाथिभरा पुग्न सकिन्छ । बीचमा माथिल्लो फेदी पर्दछ । जहाँ बास बस्न सकिन्छ । माथिल्लो फेदीबाट बिहान सबेरै उठेर उकालो लागे उज्यालो हुँदा पाथिभरा पुग्न सकिन्छ ।

काफलेपाटीबाट पाथिभराको शिखरमा पुग्न स्थानीयलाई डेढदेखि २ घण्टा र सामान्य व्यक्तिलाई ५–६ घण्टा लाग्छ । हिँड्न नसक्ने तथा अशक्तका लागि भरियाको पनि सुविधा छ । प्रतिव्यक्ति कम्तीमा ८ देखि १० हजार रुपैयाँ खर्चमा मन्दिर पुगेर फर्कन सकिन्छ ।

भौगोलिक रुपले कठीन स्थानमा रहेको पाथीभरा मन्दिर पुगेर माताको दर्शन गर्न तसर्थ गोजीमा रकम नहुने र शारिरिक रुपमा अशक्तका लागि असम्भव झैं छ सोहीकारण फुङलिङ–१० को काफलेपाटीबाट पाथिभरा मन्दिरसम्म केबलकारको व्यवस्था भए पाथीभरा माताको दर्शन सबैलाई सहज बन्ने पक्का छ ।

पाथीभरा मन्दिरलाई लक्षित गरेर फुङलिङ–१० काफ्लेपाटीदखि २०० मिटर उत्तरबाट मन्दिर छेउसम्म २.७५ किलोमिटर केबलकारको व्यवस्था गर्ने संघीय सरकारको योजना छ । त्यसका लागि संघीय सरकार, फुङलिङ नगरपालिका सहित सिरिजंगा र फक्ताङलुङ गाउँपालिकाको स्वीकृतीमा सबै प्रक्रिया पुरा गरेर नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको कम्पनी पाथीभरा (मुकुम्लुङ) केबलकार प्रालिले निर्माण प्रक्रिया अगाडी बढाएको छ । केबलकार निर्माणको लागत ३ अर्ब रूपैयाँ छ ।

केबलकारको दुवै तल्लो र माथिल्लो स्टेशन फुङलिङ क्षेत्रमा पर्छ । पहिलो स्टेशन निर्माणको जिम्मा पाएको हिमालयन कन्ट्रक्सनले गत मंगलवार काफलेपाटी नजिक जमिन सम्याउन काम सुरु गरेको थियो ।

सोहीक्रममा संघर्ष समिति र सुरक्षाकर्मीबीच झडप भयो । सुरक्षाकर्मी बसिरहेको स्थानमा आन्दोलनरत पक्षले ढुंगामुढा गर्दा तनावको स्थिति बनेको थियो । झडपमा दर्जन बढी सुरक्षाकर्मी र केही प्रदर्शनकारी घाइते भए ।

विकास र धार्मिक अस्तित्वको तनाबमा अशान्त बनेको ताप्लेजुङलाई समान्य अवस्थामा फर्काउन र न्यूनतम सहमति गरेर केवलकार निर्माण कार्यलाई अगाडि बढाउन स्थानीय राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले अपिल गरेका छन् ।

एमाले सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथिभरामा केबलकार निर्माण रोक्न नहुने बताएका छन् । उनले यो समस्याको समाधान वार्ता र छलफलबाट गरिनु पर्ने औंल्याएका छन् ।

‘भौगोलिक रुपमा विकट ठाउँमा रहेको पाथीभरासम्म वृद्धवृद्धा, बालबालिका तथा शारिरिक रुपमा अशक्त सहज रुपमा पुग्न केवलकार उपयुक्त विकल्प हुनेमा विकल्प नभएको उल्लेख गर्दै भट्टराईले केबलकारले ताप्लेजुङको समृद्धिमा योगदान पुग्ने बताए । उनी भन्छन्, ‘केबलकार बन्नु पर्छ भन्ने ताप्लेजुङ वासीको साझा मुद्दा हो ।’

केबलकार सञ्चालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर नपार्ने उल्लेख गर्दै पवित्र कान्छी धाम भन्दा केबलकार करिव २ सय मिटर दुरीमा पर्ने र पाथीभराको मुल मन्दिर भन्दा करिव ८ सय मिटर बाहिर केबलकारको स्टेशन निर्माण हुनेहुँदा कुनैपनि धर्म सस्कृति र आस्था कमजोर नहुने तथा प्रकृतिको विनाश पनि नहुने उनको दाबी छ ।

केबलकार पक्षले ताप्लेजुङका ७० वर्षमाथिका जेष्ठ नागरिक र १० वर्ष मुनिका वालवालिका तथा अपाङगकालागि निःशूल्क सेवा दिनुपर्ने, प्रभावित क्षेत्रका नागरिकलाई सुलभ सेयरको व्यवस्था गर्नुपर्ने, रोजगारीको क्षेत्रमा ताप्लेजुङ वासीलाई पहिलो प्राथामिकता दिनु पर्ने र केबलकारको शुल्कमा ताप्लेजुङ वासीलाई ५० प्रतिशतसम्म सहुलियत दिनुपर्ने तर्क भट्टराईको छ ।

नेपाली कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङले पाथीभरामा केबलकार निमार्णकालागि न्यूनतम सहमति आवश्यक रहेको बताए । सौन्दर्य, प्रकृति र शक्तिको क्षयीकरण नहुने प्रतिवद्धता सहित केबलकार निमार्ण गरिनु पर्ने उनको भनाई छ । ‘सहअस्तित्व र सद्भाव स्थापित गरेर केबलकार निर्माण गरिनु पर्छ,’ तुम्याहाङले भने, ‘आन्दोलनको प्रस्थान बिन्दु पत्ता लगाएर त्यसभित्र न्यूनतम सहमति सहित समस्याको दिगो समाधान हुने वातावरण बनाएर केबलकार निर्माण गरिनु पर्छ ।’
उनका अनुसार जिल्लामा हुन लागेका कुनैपनि विकास रोकिनु हुँदैन । पाथीभरामा केबलकार निर्माण हुनु भनेको सिंगो ताप्लेजुङको समृद्धि भएको उल्लेख गर्दै तुम्याहाङले भने, ‘विकासको यो योजनालाई कार्यान्वयन गर्न र सफल पार्न सहकार्य र सद्भावको जरुरी छ ।’

फुङलिङ नगरपालिका मेयर अमिर मादेनले पाथीभरामा कुनैपनि हालतमा केबलकार निर्माण भएरै छाडने बताए । पहिचानवादीका नाममा केही व्यक्तिले इतिहास र किम्बदन्ती नै नबुझी पाथीभरालाई मुक्कुमलुङ भन्दै केबलकार निमार्ण नै अवरुद्ध गरेर नक्शलवादीको रुप देखाएको उनको आरोप छ ।

‘पहिचानवादीका कोही नेताहरुले सुरुमा केबलकारवालासँग ५ करोड रुपैयाँ मागे । त्यो पाएनन् । अहिले त्यही केबलकार निर्माण हुन नदिन पहिचानवादको नारा लगाएर अवरोध गरेका छन्,’ मादेनले भने, ‘उनीहरुले धर्मको नाममा विकास अवरुद्ध गरेर राज्यलाई चुनौती दिँदा राज्य टुलुटुलु हेरेर बस्ने कुरा हुँदैन ।’

उनीहरुको बन्दले स्थानीयको जनजीवन प्रभावित रहेको भन्दै मादेनले विकास निर्माणमा अवरोध पुर्‍याउने र सर्वसाधारणको जनजीवन अस्तव्यस्त पारेर पाथिभरा आफ्नो कब्जामा राख्ने सपना नदेख्न सुझाव पनि दिए ।

आन्दोलनरत नो केबलकार समूहलाई कोशी प्रदेश सरकारले वार्तामा बोलाउँदा पनि वार्तामा आएको छैन । कोशी प्रदेश सरकारले आर्थिक मामिला तथा योजनामन्त्री रामवहादुर मगरको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।