ग्राउन्ड जिरो

पाथीभरामा केबलकार बनेपछि व्यापार बढ्ने आशाले उत्साहित छन् ताप्लेजुङका व्यवसायी (भिडियो)



ताप्लेजुङ । पाथीभरामा केबलकारको विषयले अहिले देशै हल्लाइरहेको छ । पहिचानको मुद्दा बोकेका सीमित व्यक्तिले पाथीभरामा केबलकार बन्नु हुँदैन भनेर आन्दोलन गरिरहेका छन् ।

सामाजिक सन्जालमा ‘नो केबलकार’ अभियान नै चलाइएको छ । सामाजिक सञ्जाल हेर्दा पाथीभरामा केबलकार बन्नु हुँदैन भन्ने हरुको संख्या ठूलो देखिन्छ ।

तर, वास्तविकता फरक छ ।

काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केबलकार बन्न थालेपछि व्यवसाय बढ्ने आशामा स्थानीय व्यवसायीहरु उत्साहित छन् ।

क्लिकमान्डुको टोली स्थलगत रिर्पोटिङका क्रममा ताप्लेजुङ पुग्दा स्थानीय व्यवसायीले आफूहरु उत्साहित बनेको प्रतिक्रिया दिए । उनीहरुले पाथीभरासम्म केबलकार बन्दा व्यवसाय बढ्ने भन्दै आफ्नै गाउँ-ठाउँमा आएको विकास निर्माणको अबसरलाई गुमाउनु नहुने प्रतिक्रिया दिए ।

‘स्थानीय व्यवसायीलाई केबलकार बनेपछि आउने पर्यटकको संख्या वृद्विले पक्कै पनिअहिलेभन्दा राम्रो हुने व्यापार-व्यवसाय हुने अपेक्षा छ,’ स्थानीयहरु भन्छन्- ‘केबलकार बनेपछि ठूला होटलमा बस्ने, खर्च धेरै गर्न सक्नेसँगै कम खर्चमै सेवा लिन चाहने आगन्तुक पनि बढ्ने हुँदा हामीलाई फाइदा हुन्छ ।’

ताप्लेजुङमा निर्माण हुँदै गरेको केबलकारको विषयमा पहिचानबादीहरुले विरोध गरिरहेका भए पनि स्थानीयाबासीहरु भने विकास निर्माण रोक्न नहुने, ताप्लेजुङको विकासको ढोका खोल्नपर्ने र केबलकार बन्दैमा स्थानीयको धार्मिक सांस्कृतिक महत्व नमेटिने बताउँछन् ।

हाल काफ्लेपाटीबाट पैदलयात्रा गर्दै जानुपर्ने पाथीभरा मन्दिरको दूरी करिब जम्मा ५ किलोमिटर मात्रै हो । उकालो यात्रा गर्दै ३७९४ मिटरको डाँडो चढ्नुपर्ने भएकोले यो दूरी पार गर्न स्थानीयलाई २ घण्टामात्रै लाग्छ भने जिल्ला बाहिरबाट आउने दर्शनार्थीलाई भने यात्रा गर्ने क्षमता अनुसार करिब ५ घण्टासम्म लाग्ने गरेको छ ।

धार्मिक आस्थाको केन्द्रमा पुग्न उकालो यात्रा तय गरेर उचाईमा पुग्न बृद्धबृद्धा, अशक्त, केटाकेटीसहितलाई गाह्रो हुने भएकोले यात्राको क्रमममा भेटिएका युवावर्गलेपनि केबलकारको आवश्यकता भने औंल्याए । पाथीभराको उकालो चढ्दै गर्दा क्लिकमान्डुको टिमले जिज्ञासा राखेका दुई दर्शन तीर्थयात्रीले केबलकार विकल्प हुनुपर्ने तर्कसमेत गरे ।

तीर्थयात्रीसँगै ताप्लेजुङमा निर्माणाधीन केबलकार आवश्यक हो कि हैन भन्ने विषयमा क्लिकमान्डुको एक टोलीले स्थलगत भ्रमणका क्रममा स्थानीय व्यवसायीसँग कुराकानी गरेको छ । काफ्लेपाटीमा भेटिएका व्यवसायीको प्रतिकृया समेटेर तयार पारेको यो भिडियो कन्टेन्टमा व्यवसायीले आ-आफ्नै ढंगले तर्क दिएका छन् ।

काफ्लेपाटीका स्थानीय व्यवसायी जगत कार्कीले सो क्षेत्रमा २२ वर्षदेखि होटल व्यवसाय गर्दै आएका छन् । उनी भन्छन्, ‘सिजनमा हुने भिडभाडलाई नियन्त्रण गर्न हम्मे पर्ने गरेको छ भने अफ सिजनमा भक्तजन ठप्प पनि हुन्छन् । केबलकार बनेपछि अफ सिजनमा पनि पर्यटक आकर्षित हुनेछन् ।’

ताप्लेजुङमात्रै नभएर इलाम र पाँचथरसम्मको पर्यटन विकास हुने अनुमान यस क्षेत्रका व्यवसायीको छ । पाथीभरा जाने पर्यटक अधिकांश एकरातका लागि मात्रै पुग्छन् भने अब केबलकार बनेपछि एकरातकै लागि आउने भएकोले आउने पाहुना बढ्ने र उनीहरुबाट हुने खर्च पनि बढ्ने कार्कीको बुझाइ छ ।

काफ्लेपाटीकै होटल व्यवसायी कुमारी पौडेल सिजनको समयमा २४सै घण्टा सेवा दिन तयार यहाँ व्यवसायीलाई भ्याइनभ्याई हुने र होटलको क्षमता पनि बढीमा १०० जनासम्मलाई मात्रै भएकाले बताउँछिन् । उनका अनुसार पछिल्लो समय अफ सिजनमा पनि पर्यटक आगमन बढ्न थालेकोले केबलबार बन्दैमा र विकास निर्माणले होटल क्षेत्रको व्यवसाय कम नहुने तर्क गर्छिन् ।

पाँचथर थापा होटलका सञ्चालक खेमराज थापापनि पछिल्लो समय अफ सिजनमा पनि बढ्दै गएको पर्यटकका कारण यहाँका व्यवसायीलाई उत्साह दिँदै गएको बताउँछन् । उनी भन्छन्, ‘पहिले भन्दा अहिले अफ सिजनमा पनि पर्यटक बढ्न थालेको भएपनि पछिल्लो समय भने नो केबलकार समूहका कारण भक्तजनको आगमन घटेको छ ।’

नका अनुसार कोही केबलकार बनाउन दिने र कोही नदिने पक्षमा देखिएको विवादको कारण भोलि के हुन्छ भन्ने अहिले भन्न सकिँदैन । उनी भन्छन्, ‘आफूहरु नो केबलकार वा एस केबलकार भन्नेमा छैनौं । जे हुन्छ राम्रो हुनुपर्यो हामीलाई केही छैन ।’

काफ्लेपाटीकै एभरेष्ट होटल एण्ड लजका सञ्चालक दाबा नुर्वु भोटे पनि होटलमा दिन सकिने सेवा सुविधा दिइरहेको हुँदा यस क्षेत्रका सबै होटलमा एउटै सेवा सुविधा र रेट पनि एउटै भएकोले जति धेरै पर्यटक आएपनि आआफ्नो क्षमता अनुसार कमाइ हुने बताउँछन् । उनले क्षमता जति धेरै भयो उति राम्रो हो तर यस क्षेत्रमा हुने विकास निर्माण वा केवलकारले पर्यटक बढाउने भएकोले यसको विरोध गर्नुको कुनै अर्थ नभएको बताए।