सहकारी ठगेर ३३ ठाँउमा घर जग्गा जोडेका बागलुङका मेयर देवकुमार नेपाली भारतबाट पक्राउ



काठमाडौं । एक हजार ५४३ बचतकर्ताको करिब डेढ अर्ब लिएर फरार ईमेज बचत तथा ऋण सहकारीका अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली भारतबाट पक्राउ परेका छन् ।

सरकारले इन्टरपोल मार्फत रेड नोटिस जारी गरेको थियो । नेपालीलाई दिल्लीमा फेला पारिएको स्रोतले जनाएको छ ।

उनी विरुद्ध २०८० माघ १२ गते रेड कर्नर नोटिस जारी गरिएको थियो । नेपाली २०८० जेठ पहिलो सातादेखि फरार रहेका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिमा नेपालीले लिखित निवेदन पेस गर्दै आफ्नो जायजेथा बेचेर सहकारी बचतकर्ताको रकम तिर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

नेपालीले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति ३ अर्बको रहेको भन्दै उक्त सम्पत्ति बेचेर सहकारीका बचतकर्ताको रकम फिर्ताको व्यवस्था मिलाइदिन माग गरेका थिए ।

उनले इमेज बचत तथा ऋण सहकारी संस्थाकोसमस्या समाधान गर्न संसदीय छानबिन समितिलाई पत्र पठाएका हुन् ।

उनले हुलाकमार्फत समितिलाई पठाएको पत्रमा आफू आबद्ध भएको सहकारी बचतकर्ताको १ अर्ब ८० करोड रुपैयाँ हाराहारी फिर्ता गर्न बाँकी रहेको र बैंकमा धितो राखि लिएको रकम ३१ करोड रुपैयाँ रहेको उनले उल्लेख छ ।

‘काठमाडौं महानगरपालिका सुकेधारा, पोखरा महानगरपालिका सृजनाचोक, पृथ्वीचोक, बागलुङ नगरपालिका महेन्द्र सालिक चोक, ढोरपाटन नगरपालिका बुर्तिबाङ दरबारचोक, तल्लो बजार, पुलचोकमा म र मेरी श्रीमती छेला नेपालीको नाममा रहेको घरजग्गाको मूल्याङ्कन गर्दा ३ अर्ब रुपैयाँ बढीको मूल्याङ्कन हुन आउँछ । कुन(कुन कित्ता बैंकमा घितोका रुपमा राखिएको छ भन्ने विवरण निवेदनमै संलग्न छ । बैंकमा धितोका रुपमा राखिएका कित्ताहरु पनि बैंकबाट लिएको ऋणभन्दा दशौं गुणा बढी मूल्यका छन् । जसका लागि स्वतन्त्र मूल्याङ्कन गर्नसमेत यसै निवेदनमार्फत समितिसमक्ष आह्वान गर्न चाहन्छु । अतः संघर्ष समितिको भर पर्दा एकातिर मेरो घरजग्गा सम्पत्ति हडप्न दलालहरु लगाउने, अर्कोतिर सर्वसाधारण बचतकर्तालाई गुमराहमा राखेर पीडित बनाउने काम भइरहेको छ’ नेपालीले पत्रमा उल्लेख गरेका छन् ।

उनले सहकारी संघर्ष समितिसँग पटक पटक ६ महिनाभित्र बचतकर्ताको बचत रकम फिर्ता गर्छु भनेर सार्वजनिक प्रतिवद्धता जनाए पनि बचतकर्तालाई गुमराहमा राख्दै संघर्ष समितिले बदमासी गरेको उनको आरोप छ ।

घर भाडा, होटलको आम्दाबीबाट आउने रकम बुझ्ने सम्पूर्ण जिम्मेवारी समितिका सदस्यलाई दिएको उनले पत्रमा उल्लेख गरेका छन् ।

सहकारी ठगेर काठमाडौंसहित देशका विभिन्न ३३ स्थानमा जग्गा रहेको पाइएको छ ।

मेयरसमेत रहेका अध्यक्ष नेपालीकोनाममा बागलुङमा २७, काठमाडौं ४ र कास्कीको २५ ठाँउमा जग्गा रहेको पाइएको सरकारी वकिल कार्यालय बागलुङले दायर गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

नेपालीको नाममा बागलुङ जिल्ला कालिका–२ मा कित्ता नम्बर ४५७ को ४ आना ३ पैसा ३ दाम, ४५८ को ४ आना २ पैसा १ दाम, कित्ता नम्बर ४५९ को ३ आना ३ पैसा, कित्ता नम्बर ८८७ मा ३ आना २ पैसा २ दाम जग्गा रहेको छ । यी सबै जग्गा २०८० जेठ २६ गते रोक्का भइसकेको छ ।

यस्तै बागलुङ जिल्लाको तत्कालीन बुर्तिबाङ गाविस–१ मा कित्ता नम्बर २४८१ को २ आना, सोही स्थानको कित्ता नम्बर २७४४ को ३ दाम, कित्ता नम्बर २७४५ को १ आना १ पैसा २ दाम, कित्ता नम्बर २४८२ मा १ पैसा २ दाम, कित्ता नम्बर २७४६ मा १ रोपनी ४ आना १ पैसा १ दाम, कित्ता नम्बर २४४४ को २ आना, कित्ता नम्बर ३६५७ को १ पैसा ३ आना २ दाम जग्गा रहेको छ । यस्तै बागलुङ जिल्लाको तत्कालीन बुर्तिबाङ गाविस–१ मा कित्ता नम्बर २४४१ को ३ आना २ दाम, कित्ता नम्बर २७३३ को १ आना ३ दाम, कित्ता नम्बर २७३४ को २ आना २ पैसा २ दाम, कित्ता नम्बर २१०३ को १ आना ३ पैसा, कित्ता नम्बर ३७९० को २ पैसा २ दाम, कित्ता नम्बर ३९०४ को ११ आना २ पैसा, कित्ता नम्बर ४१३४ को ५ आना, कित्ता नम्बर २४४० को १ आना, कित्ता नम्बर १८१४ को ६ आना र कित्ता नम्बर १४५८ को १ रोपनी ३ पैसा २ दाम जग्गा रहेको छ ।

यस्तै बागलुङ जिल्लाको तत्कालिन बुर्तिबाङ गाविस–१ मा कित्ता नम्बर ३५४ को १४ आना २ पैसा २ दाम, कित्ता नम्बर १०९७ को ३ रोपनी ३ आना १ पैसा, कित्ता नम्बर ४१५३ को ५ आना र सोही स्थानको कित्ता ४१९६ को ३ आना २ दाम जग्गा रहेको छ ।

नेपालीको नाममा काठमाडौं महानगरपालिका डिल्लिबजारमा कित्ता नम्बर ४४२ मा ९६९.७० बर्गमिटर, सोही स्थानमा कित्ता नम्बर ४२१ मा ४७.६९ बर्ग मिटर, कित्ता नम्बर ४८१ मा १११.४४ बर्ग मिटर, कित्ता नम्बर ४८६ को ३१.७९ बर्ग मिटर जग्गा रहेको छ । १ आनामा ३१.७९ बर्गमिटर जग्गा हुन्छ ।

यस्तै कास्की जिल्ला पोखरा उपमहानगरपालिका–९ मा कित्ता नम्बर ७८ मा ११९ बर्गमिटर, पोखरा उपमहानगरपालिका–८ मा कित्ता नम्बर ४२ मा २४९.३० बर्ग मिटर जग्गा रहेको पाइएको छ ।

यस्तै नेपालीको नाममा सांग्रिला डेभलपमेन्ट बैंकको पोखरा शाखामा ४० हजार १९३ रुपैयाँ र प्रभु बैंकको बुर्तिबाङ शाखामा २ हजार २७ रुपैयाँ र नेपाल एसबिआई बैंकको बागलुङ शाखामा ६ हजार १५६ रुपैयाँ पैसा रहेको पाइएको छ ।

ठगी मुद्दा दर्ता

संस्थाका संचालकसहित विरुद्ध ठगी मुद्दा दर्ता भएको छ । सहकारी संस्थाका १ हजार ५४३ जना बचतकर्ताको जाहेरीमा सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत बागलुङमा २०८० असार २५ गते ठगी मुद्दा दर्ता भएको हो ।

कार्यालयले संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित ११ जनाविरुद्ध १ अर्ब ३० करोड ७६ लाख ९८ हजार ६६८ रुपैयाँ र आठदेखि १० वर्ष कैद सजाय माग गर्दै ठगी मुद्दा दर्ता गरेको जनाएको छ ।


क्लिकमान्डु