ईमेज सहकारीका फरार अध्यक्षको नाममा काठमाडौंसहित ३३ ठाउँमा जग्गा, कहाँ कति ?



काठमाडौं । एक हजार ५४३ बचतकर्ताको करिब डेढ अर्ब लिएर फरार ईमेज बचत तथा ऋण सहकारीका अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली भनिने देवबहादुर दर्जीको नाममा काठमाडौंसहित देशका विभिन्न ३३ स्थानमा जग्गा रहेको पाइएको छ ।

बचतकर्ता ठगेर फरार रहेका मेयरसमेत रहेका अध्यक्ष नेपालीकोनाममा बागलुङमा २७, काठमाडौं ४ र कास्कीको २५ ठाँउमा जग्गा रहेको पाइएको सरकारी वकिल कार्यालय बागलुङले दायर गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ । बाङलुगमा रहेका जग्गा भने कारोबार रोक्का भइसकेको छ ।

नेपालीको नाममा बागलुङ जिल्ला कालिका–२ मा कित्ता नम्बर ४५७ को ४ आना ३ पैसा ३ दाम, ४५८ को ४ आना २ पैसा १ दाम, कित्ता नम्बर ४५९ को ३ आना ३ पैसा, कित्ता नम्बर ८८७ मा ३ आना २ पैसा २ दाम जग्गा रहेको छ । यी सबै जग्गा २०८० जेठ २६ गते रोक्का भइसकेको छ ।

यस्तै बागलुङ जिल्लाको तत्कालीन बुर्तिबाङ गाविस–१ मा कित्ता नम्बर २४८१ को २ आना, सोही स्थानको कित्ता नम्बर २७४४ को ३ दाम, कित्ता नम्बर २७४५ को १ आना १ पैसा २ दाम, कित्ता नम्बर २४८२ मा १ पैसा २ दाम, कित्ता नम्बर २७४६ मा १ रोपनी ४ आना १ पैसा १ दाम, कित्ता नम्बर २४४४ को २ आना, कित्ता नम्बर ३६५७ को १ पैसा ३ आना २ दाम जग्गा रहेको छ । यस्तै बागलुङ जिल्लाको तत्कालीन बुर्तिबाङ गाविस–१ मा कित्ता नम्बर २४४१ को ३ आना २ दाम, कित्ता नम्बर २७३३ को १ आना ३ दाम, कित्ता नम्बर २७३४ को २ आना २ पैसा २ दाम, कित्ता नम्बर २१०३ को १ आना ३ पैसा, कित्ता नम्बर ३७९० को २ पैसा २ दाम, कित्ता नम्बर ३९०४ को ११ आना २ पैसा, कित्ता नम्बर ४१३४ को ५ आना, कित्ता नम्बर २४४० को १ आना, कित्ता नम्बर १८१४ को ६ आना र कित्ता नम्बर १४५८ को १ रोपनी ३ पैसा २ दाम जग्गा रहेको छ ।

यस्तै बागलुङ जिल्लाको तत्कालिन बुर्तिबाङ गाविस–१ मा कित्ता नम्बर ३५४ को १४ आना २ पैसा २ दाम, कित्ता नम्बर १०९७ को ३ रोपनी ३ आना १ पैसा, कित्ता नम्बर ४१५३ को ५ आना र सोही स्थानको कित्ता ४१९६ को ३ आना २ दाम जग्गा रहेको छ ।

नेपालीको नाममा काठमाडौं महानगरपालिका डिल्लिबजारमा कित्ता नम्बर ४४२ मा ९६९.७० बर्गमिटर, सोही स्थानमा कित्ता नम्बर ४२१ मा ४७.६९ बर्ग मिटर, कित्ता नम्बर ४८१ मा १११.४४ बर्ग मिटर, कित्ता नम्बर ४८६ को ३१.७९ बर्ग मिटर जग्गा रहेको छ । १ आनामा ३१.७९ बर्गमिटर जग्गा हुन्छ ।

यस्तै कास्की जिल्ला पोखरा उपमहानगरपालिका–९ मा कित्ता नम्बर ७८ मा ११९ बर्गमिटर, पोखरा उपमहानगरपालिका–८ मा कित्ता नम्बर ४२ मा २४९.३० बर्ग मिटर जग्गा रहेको पाइएको छ ।

यस्तै नेपालीको नाममा सांग्रिला डेभलपमेन्ट बैंकको पोखरा शाखामा ४० हजार १९३ रुपैयाँ र प्रभु बैंकको बुर्तिबाङ शाखामा २ हजार २७ रुपैयाँ र नेपाल एसबिआई बैंकको बागलुङ शाखामा ६ हजार १५६ रुपैयाँ पैसा रहेको पाइएको छ ।

ठगी मुद्दा दर्ता

संस्थाका संचालकसहित विरुद्ध ठगी मुद्दा दर्ता भएको छ । सहकारी संस्थाका १ हजार ५४३ जना बचतकर्ताको जाहेरीमा सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत बागलुङमा असार २५ गते ठगी मुद्दा दर्ता भएको हो ।

कार्यालयले संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित ११ जनाविरुद्ध १ अर्ब ३० करोड ७६ लाख ९८ हजार ६६८ रुपैयाँ र आठदेखि १० वर्ष कैद सजाय माग गर्दै ठगी मुद्दा दर्ता गरेको जनाएको छ ।


सोभित थपलिया