१ अर्ब ३० करोड र १० वर्ष कैद माग गर्दै मेयर देवकुमारसहित इमेज सहकारीका ११ जनाविरुद्ध मुद्दा



काठमाडौं । बागलुङमा मुख्य कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका संचालकसहित विरुद्ध ठगी मुद्दा दर्ता भएको छ।

सहकारी संस्थाका १ हजार ५४३ जना बचतकर्ताको जाहेरीमा सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत बागलुङमा असार २५ गते ठगी मुद्दा दर्ता भएको हो ।

कार्यालयले संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित ११ जनाविरुद्ध १ अर्ब ३० करोड ७६ लाख ९८ हजार ६६८ रुपैयाँ र आठदेखि १० वर्ष कैद सजाय माग गर्दै ठगी मुद्दा दर्ता गरेको जनाएको छ ।

सरकारी वकिलको कार्यालयका अनुसार ढोरपाटन नगरपालिकाका मेयर तथा संस्थाका अध्यक्ष नेपालीसहित देवबहादुर दर्जी भन्ने देवकुमार नेपाली, उपाध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झकबहादुर शाही, मुख्य कार्यालयका प्रबन्धक शक्ति किसान, मुख्य कार्यालयका लेखा प्रमुख लालमती रोका, गलकोट सेवा केन्द्रका प्रबन्धक अनिल नेपाली, बुर्तिबाङ सेवा केन्द्रका लेखा प्रमुख अनिता बुढा मगर विरुद्ध मुद्दा दर्ता भएको छ ।

भण्डारी, रोका, किसान पक्राउ परिसकेका छन् । देव कुमार नेपाली, डोर बहादुर परियार, सुनिल नेपाली, लक्ष्मी सेन सुनार, रुपा विक, झग बहादुर शाही, अनिल नेपाली र अनिता बुढा मगर फरार रहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु